काठमाडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले किस्ताबन्दी योजना सार्वजनिक गरेको छ । कम्पनीले मासिक किस्तामा स्मार्टफोन उपलब्ध गराउने ‘इन्स्ट्यान्ट फाइनान्स योजना’ ल्याएको हो ।
यो योजनाअन्तर्गत ग्राहकले आफ्नो नागरिकता देखाएर झन्झटरहित रूपमा रियलमी स्मार्टफोन किन्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि रियलमीले गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजसँग सहकार्य गरेको छ ।
योजना अनुसार ३३ हजार ९९९ रुपैयाँ पर्ने नार्जो ७० प्रो स्मार्टफोन अब १३ हजार ५९९ रुपैयाँ डाउनपेमेन्ट र एक हजार ६९९ रुपैयाँ मासिक किस्तामा खरिद गर्न सकिनेछ ।
त्यस्तै, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको रियलमी सी७५ स्मार्टफोन २६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ, जसको डाउनपेमेन्ट १० हजार ७९९ रुपैयाँ र मासिक किस्ता एक हजार ३४९ रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको सी७५ मोडल २९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यसको डाउनपेमेन्ट ११ हजार ९९९ रुपैयाँ र मासिक किस्ता एक हजार ४९९ रुपैयाँ तोकिएको छ ।
युवा, विद्यार्थी र पहिलो पटक स्मार्टफोन खरिद गर्न चाहनेका लागि लक्षित गर्दै यो योजना ल्याएको कम्पनीले जनाएको छ । इच्छुकले रियलमीका आधिकारिक रिटेल स्टोरबाट किस्ता सुविधा लिन सक्नेछन् ।