काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफ्ना श्रीमान् विरुद्ध सामाजिक सञ्जालमा आइरहेका गालीगलौज प्रति असन्तुष्टि व्यक्त गरेकी छिन् । शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालले नकारात्मकतातिर डोर्याइरहेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।
"त्यो डोर्याइको (सामाजिक सञ्जालको नकारात्मकता) करिब-करिब धेरै भाग त हाम्रो केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन," उनले भनेकी छिन्, "हामी कति नै बाँच्छौँ अब ? हामी भनेको उत्तरार्धतिर पुगिसकेका मान्छे हौँ ।"
आफूहरू हिजो पञ्चायतको दमन त सहँदै आएको उल्लेख गर्दै उनले अहिलेको खुल्ला वातावरणमा सामाजिक सञ्जालमा आउने गालीगलौज सहन सक्ने बताएकी छिन् । "तर, जो जो मान्छेले आज केपी ओलीलाई गिज्याउन पाएँ र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी भइ राख्नु भएको छ नि, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ," शाक्यले अगाडि भनिन्, "उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दरसन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ । हामीलाई त केही हुनेवाला छैन ।"
यस किसिमको नकारात्मक आलोचना सहनु नौलो नभएको उनको भनाई थियो । "उहाँहरूलाई लाग्ला हामीले यस्तो भनेपनि यिनीहरूलाई टेन्सन हुन्छ होला, के के हुन्छ होला भन्ने लाग्छ होला । तर हामीलाई टेन्सन पनि हुन्न । किन भने हामीले कुनै काम बिराएको छैनौँ, कुनै नराम्रो काम गरेका छैनौँ । देशविरुद्धको कुनै काम गरेको छैन भने किन टेन्सन लिने ?," प्रधानमन्त्री पत्नीले भनेकी छन् ।
उनका अनुसार यस किसिमको नकारात्मकताको असर अहिलेका युवा पुस्तालाई नै पर्नेछ । यसरी आफ्नो भविष्य बिग्रिने र सन्तानको भविष्य बिग्रिने कामहरू कम्तीमा अलिकति पढेलेखेका बुद्धिजीवी भन्ने मान्छेहरूले आजैका दिनदेखि छोड्नुपर्ने उनको आग्रह थियो ।
"आज मैले यति बोलेँ, भरेदेखि अहो, बुढा कस्तो छ बुढी पनि उस्तै रैछ कि भनेर मलाई गाली गर्नुसम्मको कमेन्टहरू आउँछन् । थाहा छ मलाई," उनले भनेकी छिन्, "तर, मैले यहाँ नराम्रो केही गरेजस्तो लाग्दैन । मान्छेहरूलाई कति एकोहोरो भएका हुन् ? सही के हो थाहा छैन, गलत के हो पनि थाहा छैन । हाहा र हुहु गर्दै जीवन बिताइ राखेका छन् ।"
यस किसिमको प्रवृत्तिले आफ्नै जीवन बर्बाद पार्ने उल्लेख गर्दै शाक्यले आजका युवाहरूको यो प्रवृत्तिले भोलि हाम्रो देश कस्तो होला भन्दै चिन्ता समेत व्यक्त गरेकी छिन् ।