काठमाडौँ । नेपालमा मोबाइल डेटाको खपत कम भइरहेको समयमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल डेटा बचत गर्ने उपायहरू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो फेसबुक पेजमार्फत् प्रयोगकर्तालाई मोबाइल डेटा बचत गर्ने उपाय सुझाएको हो । नीजि कम्पनी एनसेल लगायत विश्व बजारमा दूरसञ्चार कम्पनी मोबाइल डेटाको खपत बढाउनका लागि विभिन्न डेटा योजनाहरू सार्वजनिक गरिरहँदा नेपाल टेलिकमले भने विभिन्न उपायसहित मोबाइल डेटा कम गर्न आग्रह गरेको हो ।
यी हुन् टेलिकमले सुझाएका उपायहरू:
१. वाईफाई उपलब्ध हुँदा सोको प्रयोग गर्ने
एनटी-एफटीटीएच उपलब्ध भएको ठाउँमा मोबाइल डेटा बन्द गरेर वाईफाई स्विच गर्नुहोस्
२. डेटा सेभर मोड अन गर्ने
स्मार्टफोनमा उपलब्ध डेटा सेभर मोड अन गर्दा पृष्ठभूमिमा चल्ने एपहरूको डेटा प्रयोग कम हुन्छ । यसको लागि मोबाइलको सेटिङमा गएर नेटवर्क एन्ड इन्टरनेट अप्सनमा ट्याप गरी डेटा सेभरको टोगलको आईकनलाई अन गर्नुहोस्
३. अटो अपडेट बन्द गर्ने
मोबाइल एपहरू आफैं अपडेट हुँदा डाटा धेरै खर्च हुने भएकाले सेटिङमा गई ‘Over Wi-Fi only’ राख्न सुझाव दिइएको छ।
४. उच्च गुणस्तरको स्ट्रिमिङ नियन्त्रण गर्ने
युट्युब जस्ता प्लेटफर्ममा भिडियो हेर्दा गुणस्तर कम गरेर हेर्न सल्लाह दिइएको छ जसले डाटा खपत कम गर्छ।
५. ब्याकग्राउन्ड डेटा चल्ने एपहरू नियन्त्रण गर्ने
अनावश्यक एपहरू ब्याकग्राउन्डमा नचल्ने गरी सेटिङमा गई नियन्त्रण गर्न सकिन्छ।
६. समय–समयमा डेटा प्रयोग अनुगमन गर्ने
एनटी एप वा *१४५५*५५# डायल गरेर आफ्नो डेटा बाँकी अवस्थाबारे जानकारी लिँदा अनावश्यक डेटा खपत रोकिन्छ।