काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई एटीएम कारोबार सम्बन्धी समस्या भएमा तत्काल सहायता प्रदान गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
मंगलबार एक सूचना जारी गर्दै आफ्नो एटीएम रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर लगायतका विवरण राख्न निर्देशन दिएको हो । उक्त विवरण राख्दा सबैले बुझ्न सक्ने गरि अङ्ग्रेजी र नेपाली भाषामा नै उपलब्ध गराउन समेत भनेको छ ।
यस्ता विवरण राखेमा ग्राहकहरूले एटीएम सम्बन्धी कारोबारमा केही समस्या भएमा तत्कालै सम्पर्क गरेर आफ्ना जानकारी राख्न सक्नेछन् । यसले समस्या समाधानको प्रक्रियामा जान पनि छिटो र सहज हुने बताइएको छ ।
यस्तै, एटीएममा केही प्राविधिक समस्या आएर सञ्चालन हुन नसकेमा बैङ्क तथा वित्तीय संस्थाले यसको जानकारी तत्कालै एटीएम भएका स्थानसम्म पुर्याउनु पर्ने प्रावधान रहेको राष्ट्र बैङ्कले जनाएको छ ।