close

भारतको निर्देशनमा मेटाले हटायो 'मुस्लिम' नामको इन्स्टाग्राम पेज

टेकपाना टेकपाना

बैशाख २६, २०८२ ११:५६

भारतको निर्देशनमा मेटाले हटायो 'मुस्लिम' नामको इन्स्टाग्राम पेज

काठमाडौँ । मुस्लिम समुदायसँग जोडिएका समाचार तथा सामग्रीहरू पोस्ट गर्ने 'मुस्लिम' (@Muslim) नामको इन्स्टाग्राम अकाउन्टमा मेटाले प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार भारतीय सरकारको निर्देशनमा मेटाले उक्त अकाउन्ट बुधबारदेखि भारतमा प्रतिबन्ध लगाएको हो । भारत र पाकिस्तानबीचको तनाव बढेसँगै भारतले अनलाइन माध्यमहरूमा सेन्सरसिपको काम सुरु गरेको छ । यही कदमको एक उदाहरण यो पनि हो । 

आफ्नो पेजमा प्रतिबन्ध लागेसँगै पेजका संस्थापक अमिर-अल-खताबेले आफ्नो सामाजिक सञ्जालमार्फत भारतीय सरकारको यो कदमको विरोध गरेका छन् । आफ्नो पेज मुस्लिम समुदायको हितको लागी सुरु गरिएको भन्दै उनले मेटालाई आफ्नो निर्णय फिर्ता लिन पनि माग गरेका छन् । 

उक्त अकाउन्टमा ६.७ मिलियन फलोअर्स छन् । मुस्लिम समुदायका विषयमा विश्वभरका जानकारी उपलब्ध गराउने पेजको रुपमा यो पेज निकै चर्चित छ । यद्यपि हाल भारतीय प्रयोगकर्ताले भने यो पेजमा पहुँच पाइरहेका छैनन् ।  

यसअघि भारतीय सरकारले पाकिस्तानी कलाकारहरूको सामाजिक सञ्जालका अकाउन्ट लगायत युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ ११:५७