close

एलन मस्कलाई साम अल्टम्यानको प्रस्तावः हामी दुबै गलत थियौं, अब साथी बनौँ

टेकपाना टेकपाना

बैशाख २९, २०८२ ११:११

एलन मस्कलाई साम अल्टम्यानको प्रस्तावः हामी दुबै गलत थियौं, अब साथी बनौँ

काठमाडौँ । ओपनएआईका सीईओ साम अल्टम्यानले टेस्लाका प्रमुख एलन मस्कलाई मेलमिलापको हात बढाएका छन् । मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गरेका पुराना पोस्ट सार्वजनिक गरेपछि अल्टम्यानले यस्तो कदम चालेका हुन् । 

अल्टम्यानले उनीहरुको विवादभन्दा मानव स्तरको आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स (एजीआई) धेरै महत्त्वपूर्ण भएको बताएका छन् ।

यही मे महिनाको १० तारिखमा मस्कले अल्टम्यानको लगभग एक दशक पुरानो पोस्टमा प्रतिक्रिया दिएका थिए । सो पोस्टमा अल्टम्यानले आफूले डोनाल्ड ट्रम्पलाई कहिल्यै भोट नहाल्ने दाबी गरेका थिए । वाई कम्बिनेटरका सह-संस्थापक पल ग्राहमको १८ अक्टोबर २०१६ मा एक पोस्टमा लेखेका थिए, “ट्रम्पलाई पराजित गर्नका लागि साम आल्टम्यानले जति योगदान दिएका छन्, त्यति थोरैले मात्र दिएका छन् ।”

अल्टम्यानले जवाफ दिए, “धन्यवाद, पल ।”​

मस्कले यही पुरानो कुराकानी पुनः शेयर गरेपछि अल्टम्यानले द गार्डियनको एउटा आर्टिकल पोस्ट गरे । उक्त आर्टिकलमा मस्कले भनेका थिए, “म त्यो मान्छे (डोनाल्ड ट्रम्प) लाई घृणा गर्दिनँ । तर ट्रम्पले आफ्नो टोपी झुन्ड्याएर सूर्यास्तमा डुब्नुपर्ने समय आएको छ ।”

अल्टम्यानले आर्टिकलको लिङ्क शेयर गर्दै लेखेका छन्, “हामी दुबै गलत थियौं । वा कम्तीमा म निश्चित रूपमा गलत थिएँ । तर त्यो २०१६ को कुरा थियो र यो २०२२ को ।” 

उनले सोही थ्रेडमा थपे, “जे होस्, अर्को हप्ता भेटौँला, साथी बनौँ । एजीआई यति महत्त्वपूर्ण छ कि हाम्रो सानो झगडालाई बाटोमा आउन दिनु हुँदैन ।”

राष्ट्रपति ट्रम्पका निकट सहयोगी मस्कले सरकारी खर्च कटौती गर्न ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ (डज) चलाइरहेका छन् । राष्ट्रपति चुनावमा रिपब्लिकन नेताका लागि उनको प्रचार अभियानले नतिजा बदल्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । यसैबिच अल्टम्यानले पनि अमेरिकामा एआई पूर्वाधार निर्माणका लागि ५०० अर्ब डलरको ‘प्रोजेक्ट स्टारगेट’मा योगदान गरेर आफ्नो राजनीतिक अडानमा उल्लेखनीय परिवर्तन देखाएका छन् ।

मस्क अल्टम्यानको नेतृत्वमा ओपनएआईले लिइरहेको दिशाप्रति आलोचक रहँदै आएका छन् । सन् २०१५ मा एक्सका मालिक (मस्क) सह-संस्थापक रहेको ओपनएआई एक गैरनाफामुखी संस्थाको रूपमा स्थापित भएको थियो । तर अल्टम्यानले कम्पनीलाई नाफामुखी बनाउन खोजेका थिए । महिनौँको अनिश्चिततापछि ओपनएआईले यसै हप्ताको सुरुमा गैर नाफामुखी संस्थाले कम्पनीको नियन्त्रण कायम राख्ने घोषणा गरेको थियो ।

एजीआई (आर्टिफिसियल जेनेरल इन्टेलिजेन्स) एउटा यस्तो काल्पनिक मेसिन हो जसमा मानव जस्तै विभिन्न क्षेत्रमा ज्ञान बुझ्ने, सिक्ने र लागु गर्ने क्षमता हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८२ ११:१४