प्रिन्टरको समस्या समाधान भएसँगै सुरु भयो अत्यावश्यक ड्राइभिङ लाइसेन्स छपाइको काम
जेठ २, २०८२ १७:२२
काठमाडौँ । यातायात व्यवस्था विभागको प्रिन्टिङ प्रणालीमा आएको समस्या समाधान भएसँगै अत्यावश्यक सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइको काम पुनः सुरु भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै २५ वैशाखदेखि रोकिएको छपाइको काम सुरु भएको जानकारी दिएको हो ।
अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेनाका सदस्य, नेपाल प्रहरी तथा गैरआवासीय नेपाली नागरिकबाट प्राप्त भएका स्वीकृत निवेदनका लागि विभागले अत्यावश्यक लाइसेन्स छाप्दै आएको छ ।
छापिएका सवारी चालक अनुमति पत्रको विवरण विभागको वेबसाइट र फेसबुक पेजमा राखिने विभागले जानकारी दिएको छ । आवेदकले आफ्नो सवारी चालक अनुमतिपत्र छापिएको यकिन गरी ३ जेठ २०८२ देखि विभागबाट अत्यावश्यक सवारी चालक अनुमतिपत्र सङ्कलन गर्न सक्ने विभागले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २, २०८२ १७:२२
