काठमाडौँ । गुगलले क्रोम ब्राउजरका लागि डेस्कटप प्लेटफर्ममा नयाँ अपडेट सार्वजनिक गरेको छ । ब्राउजरको सुरक्षा कमजोरीका कारण विन्डोज, म्याक र लिनक्समा क्रोम प्रयोग गर्ने प्रयोगकर्ता ह्याकिङको उच्च जोखिममा रहेको घटना बाहिर आएपछि कम्पनीले त्यसलाई समाधान गर्ने अपडेट जारी गरेको हो ।
क्रोमलाई विन्डोज र म्याकका लागि भर्सन १३६.०.७१०३.११३/.११४ मा र लिनक्सका लागि १३६.०.७१०३.११३ मा उपलब्ध गराइएको नयाँ अपडेटले ब्राउजरमा देखिएको सुरक्षा कमजोरी समाधान गर्ने कम्पनीको भनाइ छ । गुगलका अनुसार यो नयाँ भर्सन केही प्रयोगकर्तामाझ उपलब्ध भइसकेको छ भने विश्वव्यापी रूपमा विस्तार हुने क्रम जारी छ ।
यो अपडेटले मुख्य रूपमा चार ओटा सुरक्षा कमजोरीलाई समाधान गरेको कम्पनीले उल्लेख गरेको छ । त्यसमध्ये एउटा हो ‘जिरो-डे’ जोखिम । यो उच्च जोखिमको सुरक्षा कमजोरी क्रोमको लोडर कम्पोनेन्टमा नीति जति हुनुपर्ने थियो त्यति लागु नहुँदा देखा परेको हो । यसले गर्दा कुनै व्यक्तिले विशेष तरिकाले तयार पारिएको एचटीएमएल पेजबाट अन्य वेबसाइटको गोप्य डेटा चोर्न सक्ने जोखिम थियो । गुगलका अनुसार यो ‘जेरो-डे’ कमजोरी (CVE-2025-4664) को दुरुपयोग अहिले व्यापक रूपमा मौलाइरहेको छ । त्यसैलाई समाधान गर्न प्रयोगकर्तालाई तुरुन्त क्रोम अपडेट गर्न कम्पनीले आग्रह गरेको छ ।
अर्थात् क्रोमको यही कमजोरीका कारण ह्याकरले तपाईंलाई झुक्याएर खतरनाक वेबसाइटमा प्रवेश गराउने जोखिम थियो । त्यस्ता वेबसाइटमा प्रवेश गर्दा संवेदनशील डेटा चोरिने वा सिस्टम नै क्रयाश हुने सम्भावना थियो ।
साइबर सुरक्षा अनुसन्धानकर्ता स्लोन्सर (@slonser_)ले पहिलो पटक ५ मे २०२५ मा यो सुरक्षा कमजोरी फेला पारी सार्वजनिक गरेका थिए । यस कमजोरीको कारण अनधिकृत कोड चलाउन वा क्रोमको स्यान्डबक्स सुरक्षा प्रणालीबाट बाहिर निस्कन सकिने खतरा छ ।
यसैलाई मध्यनजर गर्दै भारत सरकारले पनि गुगल क्रोम प्रयोग गर्ने नागरिकलाई तुरुन्त अपडेट गर्न सुझाव दिएको थियो । त्यहाँको साइबर सुरक्षा एजेन्सी सर्ट-इन (CERT-In) ले अलर्ट जारी गर्दै सबै प्रयोगकर्तालाई ह्याकिङको जोखिमबाट सुरक्षित रहन तुरुन्तै आफ्नो ब्राउजर अपडेट गर्न आग्रह गरेको थियो ।
विन्डोज वा म्याक डेस्कटप/ल्यापटपमा गुगल क्रोम अपडेट गर्न पहिले क्रोम ब्राउजर खोल्नुहोस् । त्यसपछि विन्डोको माथिल्लो दायाँ कुनामा रहेको तीन ठाडो थोप्लाहरूमा क्लिक गर्नुहोस् । ड्रपडाउन मेनुबाट ‘हेल्प’ (Help) को अप्सनमा जानुहोस् र ‘अबाउट गुगल क्रोम’ (About Google Chrome) छान्नुहोस् ।
क्रोमले स्वचालित रूपमा अपडेट जाँच्न थाल्छ र उपलब्ध भएमा नयाँ अपडेट इन्स्टल गर्छ । अपडेट पूरा भएपछि ब्राउजर रिस्टार्ट गरेर प्रयोग गर्नुहोस् ।