काठमाडौँ । पछिल्लो समय विभिन्न ठूला प्रविधि कम्पनीहरू गुगलको वेब ब्राउजर क्रोम खरिद गर्ने होडबाजीमा छन् । याहु, ओपनएआई लगायतका कम्पनीहरूले क्रोम खरिद गर्न आफू तयार रहेको जनाउ दिइसकेका छन् । तर किन सबै कम्पनीहरू क्रोम खरिद गर्न खोज्दैछन् त ?
वास्तवमा सर्च इन्जिनमा गुगलको एकाधिकार तोड्नका लागि अमेरिकी सरकारले यो कदम चालेको हो । अमेरिकी न्याय विभाग (Department of Justice) ले गुगल विरुद्ध हालेको मुद्दाले गुगललाई जबरजस्ती क्रोम बिक्री गर्न बाध्य पार्दैछ ।
यदि उक्त निकायले मुद्दा जितेको खण्डमा गुगलले आफ्नो क्रोम बिक्री गर्नुपर्ने हुन्छ । यही कारण पनि क्रोम खरिद गर्ने कम्पनीहरूको लाइन लागेको हो । तर, कुनै पनि बिक्री तत्कालै हुने सम्भावना भने छैन । किनभने यो मुद्दा अझै चलिरहेको छ, फैसला आउन समय लाग्नेछ, र गुगलले फैसला आए पनि अपिल गर्ने घोषणा गरिसकेको छ ।
अपिल प्रक्रिया लामो चल्न सक्छ र सम्भवतः गुगलले क्रोम बेच्नुपर्ने फैसला उल्ट्याउन पनि सक्छ । तर गुगलले क्रोम बेच्नु नै पर्ने अवस्था आयो भने कसले किन्ला त ? अनि उनीहरू किन क्रोम किन्न चाहन्छन् ? यसबारे केही सङ्केत अहिले चलिरहेको मुद्दाको सुनुवाइहरूबाट आउन थालेका छन् ।
किन क्रोम किन्न चाहन्छन् कम्पनीहरू ?
एक ठुलो ब्राउजर हुनु भनेको आफ्नै सर्च इन्जिनलाई प्रवर्द्धन गर्ने उत्तम माध्यम हो । क्रोम जस्तो ठुलो ब्राउजरमा डिफल्ट सर्च इन्जिन सेट गर्दा, लाखौँ-करोडौं प्रयोगकर्ताहरूले यत्तिकै पनि उनीहरूको सेवा प्रयोग गर्नेछन् । क्रोम अहिले करिब दुई तिहाइ बजार हिस्साको साथ विश्वकै सबैभन्दा ठुलो ब्राउजर बनेको छ । जसले गर्दा गुगल सर्च प्रयोगकर्ताहरूको सङ्ख्या धेरै छ । यसको अर्थ कम्पनीहरूले आफ्ना उत्पादनहरू चार अर्बभन्दा बढी मानिसहरूसामु पुर्याउने मौका पाउँछन् । विशेष गरी नयाँ एआई कम्पनीहरूका लागि यस्तो मौका लाभदायक हुनसक्छ ।
क्रोम किन्न इच्छुक कम्पनीहरू को-को छन् ?
ओपन एआई: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले क्रोम किन्ने इच्छा व्यक्त गरेको छ । ओपनएआईले आफ्नै वेब सर्च सेवा पनि विकास गरिरहेको छ । यस्तोमा क्रोम जस्तो प्लेटफर्म खरिद गर्न सके कम्पनीको लागि धेरै प्रयोगकर्तासम्म पुग्ने अवसर हुन्छ । त्यसमाथि गुगलको प्रतिस्पर्धीको रूपमा उभिरहेको कम्पनीको रूपमा क्रोम आफ्नो हात पार्नसके कम्पनीको लागि यो महत्त्वपूर्ण सफलता हुनसक्छ ।
परप्लेक्सिटी: एआईमा आधारित सर्च सेवा उपलब्ध गराउने कम्पनी हो, परप्लेक्सिटी । कम्पनीका प्रमुख व्यवसाय अधिकृतले परप्लेक्सिटीले क्रोम खरिद गर्न चाहेको कुरा बताएका थिए । परप्लेक्सिटीले पनि हाल आफ्नो ब्राउजर तयार गरिरहेको छ । यस्तोमा उसलाई पनि क्रोम खरिद गर्दा धेरै प्रयोगकर्ता माझ पुग्न, आफ्नो सेवा बलियो बनाउन धेरै डेटाहरू सङ्कलन गर्न आदि कामहरूमा सहजता हुनेछ । क्रोम खरिद गर्न पाए कम्पनीले बजारमा ठुलो फड्को मार्न सक्ने सम्भावना देखेका छन् ।
याहु: याहुले पनि अदालतमा क्रोम किन्न चासो देखाएको छ । याहु हाल आफै वेब ब्राउजरको प्रोटोटाइप बनाइरहेको छ । यस्तोमा याहुले क्रोम खरिद गर्न सक्यो भने, चाँडै नै धेरै प्रयोगकर्ता प्राप्त गर्न सक्छ । याहु सर्चका महाप्रबन्धक ब्रायन प्रोभस्टका अनुसार, क्रोम किन्ने लागत अर्बौँ डलर पर्नेछ, तर याहुको मालिक कम्पनी अपोलो ग्लोबल म्यानेजमेन्टको सहयोगमा त्यो सम्भव हुन सक्छ ।
कति हुनसक्छ क्रोमको मूल्य ?
डकडकगोका सीईओ ग्याब्रियल वेनबर्गले क्रोमको मूल्य करिब ५० अर्ब डलरसम्म हुन सक्ने बताएका छन् । त्यसैले, क्रोम किन्नको लागि कम्पनीहरूले अत्यन्त ठुलो लगानी गर्नुपर्ने देखिन्छ ।
तर, यो लगानी लाभदायक छ । क्रोम किन्ने कम्पनीले तुरुन्तै अर्बौँ प्रयोगकर्तासहितको प्लेटफर्म हात पार्नेछ । अहिलेको अवस्थामा, जहाँ गुगल केही हदसम्म कमजोर देखिँदैछ, क्रोम जस्तो महँगो सम्पत्ति गुमाउनु गुगलका लागि ठुलो घाटा हुन सक्छ ।