काठमाडौँ । निद्रा नपर्दा होस् या मन बेचैन हुँदा । जब जब मानसिक स्वास्थ्यमा केही समस्या भएको महसुस हुन्छ, त्यसलाई शान्त बनाउन धेरैले ध्यानसँग सम्बन्धित सङ्गीत सुन्ने गर्छन् । तनाव झनै बढ्दै जाँदा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिने प्रचलन पनि बढ्दो छ ।
यही ध्यानप्रतिको आकर्षणलाई महसुस गर्दै सम्मोहनकर्ता गौरव सिटौलाले सन् २०२४ देखि काठमाडौँको हाडीगाउँमा ‘ग्रोथ हब नेपाल’ नामक कम्पनी स्थापना गरे । सो कम्पनीमार्फत उनले डिप्रेसन र एन्जाइटीजस्ता मानसिक समस्यामा परेका व्यक्तिहरूलाई ध्यान अभ्यास गराउन थाले ।
सिटौलाका अनुसार ध्यान सम्बन्धी विभिन्न कोर्सहरू सञ्चालन गरिरहँदा सेवाग्राहीहरूले अनलाइनमा रहेका अधिकांश कोर्सहरू अङ्ग्रेजी भाषामै भएको गुनासो गर्थे । अङ्ग्रेजी कोर्सले अपेक्षित असर नपारेपछि धेरैले नेपाली भाषामै ध्यानको सामग्री माग गरेका थिए ।
उनले भने, “मैले पनि ‘हेड स्पेस’ नामको मेडिटेसन एप प्रयोग गरेको थिएँ । तर नेपाली भाषामा भने ध्यानसम्बन्धी एप नै थिएन । त्यसैले हामीले एप बनाउने निर्णय गर्यौं ।” कम्पनी स्थापना भएको केही समयमै एप निर्माणको योजना बनेको र यही मे महिनामा ‘मेडिटेट नेपाल’ एप सार्वजनिक गरिएको सिटौलाले जानकारी दिए ।
यो एप नेपालकै पहिलो मेडिटेसनसँग सम्बन्धित एप रहेको उनको दाबी छ । उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ । यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सकिन्छ ।
आफ्ना बिरामीले अङ्ग्रेजी भाषाबाट मेडिटेसनका कक्षा लिएपनि नेपाली भाषामा ध्यान गर्दा थप प्रभावकारी महसुस गरेको बताउने गरेको उनले सुनाए । “नेपालीमा ध्यान सुन्दा प्रयोगकर्ताहरू भावुक भएर आँखाबाट समेत आशु खसेको बताउनुहुन्छ,” उनले भने ।
यस एपमा ७०० जनाभन्दा धेरै सक्रिय प्रयोगकर्ता जोडिएको उनले सुनाए ।
एपमा अध्यात्म, मानसिक स्वास्थ्य, सिर्जनशीलता, भावना, सफलता, निद्रा, सम्बन्ध, कृतज्ञता लगायतका विषयमा ध्यानका सामग्रीहरू समावेश गरिएको छ । राम्रो निद्राका लागि सुमधुर संगीतसमेत एपमा उपलब्ध छन् । हाल ५० भन्दा बढी अडियो सामग्रीहरू एपमा सुन्न सकिन्छ ।
प्रयोगकर्ताले ‘मेडिटेट नेपाल’ नि:शुल्क तथा सदस्यता लिएर प्रयोग गर्न सक्छन् । एपमा हाल ६ ओटा ध्यानका भिडिओ नि:शुल्क प्रदान गरिएको छ भने अन्य भिडिओहरू ६ पटकसम्म नि:शुल्क सुन्न सकिने व्यवस्था गरिएको छ ।
त्यसपछि थप सेवा लिनका लागि सदस्यता लिनुपर्ने हुन्छ । प्रिमियम सदस्यता लिने प्रयोगकर्ताका लागि अफलाइन डाउनलोड सुविधा पनि उपलब्ध गराइएको छ । ग्राहकका लागि तीन महिनाको, ६ महिनाको र एक वर्षको सदस्यता प्याकेज उपलब्ध छन् ।
तीन महिनाको सदस्यता शुल्क १,९९९ रुपैयाँ, ६ महिनाको ३,३६९ रुपैयाँ र एक वर्षको लागि ५,३९९ रुपैयाँ तोकिएको छ । यद्यपि, लञ्च अफरअन्तर्गत तीन महिनाको सदस्यता हाल १,१११ रुपैयाँमा उपलब्ध रहेको जानकारी सिटौलाले दिए ।
एपमा हरेक महिना नयाँ ध्यान सामग्री उत्पादन गरेर प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । “एप सार्वजनिक गर्नुअघि हामीले एक वर्ष सामग्री उत्पादनमै बितायौँ । सबै इन-हाउस नै तयार गरेका हौँ । प्रिमियम सदस्यलाई नयाँ सामग्री नियमितरूपमा दिइन्छ,” सिटौलाले भने ।
प्रयोगकर्ताको सुझाव र रुचिअनुसार सामग्री थप्दै जाने तथा सो सम्बन्धमा सर्वेक्षण समेत गर्ने कम्पनीको योजना छ ।
सदस्यता लिने प्रयोगकर्ताका लागि एपको अडियो सामग्री मात्र नभई प्रत्यक्ष ध्यान कक्षा लिने सुविधा पनि उपलब्ध गराउने तयारी भइरहेको उनले जनाए । “अहिले एपमा लाइभ अनलाइन कक्षा लिने सुविधा छैन । जुम वा मिटिङबाट सदस्यता लिने ग्राहकलाई मेडिटेसनका लाइभ अनलाइन कक्षा लिने योजना बनाएका छौँ,” सिटौलाले भने ।