काठमाडौँ । च्याट गर्दा होस् वा कुनै लिखित सामग्री तयार पार्न, पोस्ट लेख्न आदि कामका लागि बेलाबेला मोबाइलमा टाइपिङ गरिरहनु पर्छ । यसका लागि विभिन्न किबोर्ड एपहरू उपलब्ध छन् ।
गुगलको किबोर्ड एप जीबोर्डमा आएको पछिल्लो अपडेटसँगै अब मोबाइलमा टाइपिङ गर्न औँला चलाइरहनु पर्ने बाध्यता पनि हटेको छ । आज हामी तपाईँलाई बोलेकै भरमा आफूले चाहेको भाषामा मोबाइलमा टाइपिङ गर्ने तरिका बताउँदै छौँ ।
सबैभन्दा पहिला आफ्नो मोबाइलमा टाइपिङ गर्ने कुनै ठाउँमा जानुहोस् (मेसेज, डक्स, नोट आदि) । किबोर्ड एपको रूपमा जिबोर्ड इनेबल गर्नुहोस् । अब किबोर्डको दायाँतर्फ बिच भागमा देखिएको माइक्रोफोनमा ट्याप गरेर चाहेको कुरा बोल्नुहोस्, जुन माथि आफैँ अक्षरमा टाइपिङ हुन थाल्छ । किबोर्डले कुन भाषामा टाइपिङ गरिरहेको छ भन्ने कुरा माइक्रोफोनको आइकनसँगै सङ्केतको रूपमा देखिन्छ ।
यसमा तपाईँले जुन भाषा सेट गर्नु भएको छ, सोही भाषामा टाइपिङ हुन्छ । यदि नेपाली वा अन्य कुनै भाषामा टाइपिङ गर्न चाहनु हुन्छ भने तलतर्फ फर्केको तिर आइकनमा थिच्नु होस् अथवा किबोर्डको मेनु आइकनमा थिचेर वा तल English/नेपाली लेखिएको स्पेस बटनमा थिचेर ल्याङ्वेज सेटिङमा प्रवेश गर्नु होस् ।
अब प्लस (+) सिम्बोलसँगै रहेको Add keyboard लेखिएको भागमा दबाउनु होस् र आफूले टाइपिङ गर्न चाहेको भाषा रोज्नुहोस् र Done गर्नुहोस् ।
बोलेरै टाइपिङ गर्दा तपाईँलाई किबोर्डका अक्षरहरू हेरिरहनु पर्दैन । त्यसलाई हटाएर टाइपिङ गर्ने स्थान फराकिलो बनाउन माइक्रोफोन आइकन सँगै रहेको तलतर्फ फर्केको तीर आइकनमा दबाउनु होस् ।
त्यहाँ तल पुछारमा बारभित्र सुरुमा GB देखिन्छ, त्यसमा थिच्नु भयो भने किबोर्डमा थप गरिएका भाषासहित इमोजी, ट्रान्सलेट, क्लिपबोर्ड जस्ता विकल्प खुल्छन् ।
अझै धेरै खाली ठाउँ चाहिन्छ भने भर्टिकल टूलबारमा स्विच गर्न पनि सक्नु हुन्छ । त्यससँगैको किबोर्डको आइकनमा दबाउँदा औँलाले टाइपिङ गर्ने किबोर्ड माथि आउँछ ।