काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओले आफ्नो सेवामा भाडा वृद्धि नगरिएको स्पष्ट पारेको छ । सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड शेयरिङ कम्पनीहरूले भाडा बढाएको समाचार आएपछि पठाओले सोमबार एक सूचना जारी गर्दै यस्तो खण्डन गरेको हो ।
कम्पनीले आफूले नियमित शुल्कमा नै राइड सेवा उपलब्ध गराइरहेको दाबी गरेको छ । पठाओले जारी गरेको सूचनामा भनिएको छ, “आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड शेयरिङले भाडा वृद्धि गरेको समाचार आइरहेका छन्, जसमा पठाओको नाम समेत जोडिएको छ । हामीले नियमित शुल्क मात्रै लिएका छौँ । त्यसैले पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन ।”
यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर थप राइडका लागि प्रोत्साहन गरिरहेको पठाओले जनाएको छ ।
साथै कम्पनीले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई विशेष अनुरोध गरेको छ । “अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि पनि आउने गरेकै छ,” सूचनामा भनिएको छ, “अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बीमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन हामी अनुरोध गर्दछौं ।”
पठाओले कुनै समस्या परेमा वा गुनासो तथा उजुरी गर्नका लागि २४सै घण्टा सञ्चालनमा रहने कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ ।