काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले विश्वका चर्चित एडल्ट साइट पोर्नहब, एक्स भिडिओज, एक्सएनएक्सएक्स र स्ट्रिपच्याटमाथि औपचारिक अनुसन्धान थालेको छ । विश्वमै सबैभन्दा बढी भिजिट हुने यी प्लेटफर्मले सङ्घको डिजिटल सर्भिस एक्ट (डीएसए) का प्रावधानको पालना नगरेको आरोपमा छानबिन सुरु गरिएको हो ।
अनुसन्धानको मुख्य उद्देश्य बालबालिकालाई अनलाइनमा एडल्ट सामग्रीको पहुँचबाट जोगाउनु रहेको बताइएको छ । साइबरस्पेसमा बाल संरक्षण मापदण्डका सम्बन्धमा यी प्लेटफर्मले एडल्ट सामग्रीलाई नियमन नगरेको देखिएको छ । रोयटर्सका अनुसार बालबालिकाले यी प्लेटफर्ममा सजिलै उमेर प्रमाणीकरण टुल (एज भेरिफिकेसन टुल) लाई बाइपास गरेर एडल्ट कन्टेन्टमा पहुँच पाउन सक्छन् । यी प्लेटफर्मले उमेर प्रमाणीकरण गर्ने टुललाई प्रभावकारी तरिकाले प्रयोग गर्न नसकेकाले बालबालिकाले एडल्ट सामग्री खपत गरिरहेका छन् । यसले बालबालिकाको समग्र वृद्धि विकासमा नकारात्मक असर पुर्याउने जोखिम रहेको भन्दै यी प्लेटफर्मलाई थप जवाफदेही बनाउन अनुसन्धान थालिएको हो ।
पोर्नहबको मातृ कम्पनी तथा साइप्रसस्थित समूह आयलो फ्रिसाइट्स लिमिटेडले रोयटर्सलाई आफ्ना साइट ‘बाल संरक्षणको वकालत गर्ने साइटहरूको सङ्घ’ (Association of Sites Advocating Child Protection) को मापदण्ड पालना गरिएको दाबी गरेको छ । साथै कम्पनीले आफ्ना प्लेटफर्मले कानुनी उमेर पुगेकाहरूका लागि मात्रै साइटमा एक्सेस दिने गरेको जनाएको छ ।
यदि यस्ता वेबसाइटले डिजिटल सर्भिस एक्ट उल्लङ्घन गरेको पाइएमा युरोपेली आयोगले कम्पनीको विश्वव्यापी वार्षिक राजस्वको ६ प्रतिशतसम्म जरिबाना लगाउन सक्नेछ । यो रकम यी कम्पनीहरूका लागि करोडौँ युरोमा हुन सक्ने बताइएको छ । यस बाहेक सङ्घले सञ्चालनमा केही परिवर्तन गर्न, अस्थायी रूपमा प्लेटफर्ममा प्रतिबन्ध लगाउन र सार्वजनिक रूपमा यी वेबसाइटको नाम र कमजोरीहरू उजागर गर्न सक्नेछ ।