काठमाडौँ । ३ जुन २०२५ मा शशांक घिमिरे नामका एक्स (पहिलेको ट्वीटर) प्रयोगकर्ताले एक भिडिओ शेयर गरे । सो भिडिओमा उनले प्रहरीले ‘राष्ट्रवादी जनता’लाई प्रहार गर्न ढुङ्गा सङ्कलन गरिरहेको दाबी गरेका थिए । त्यसैलाई पछ्याउँदै फेसबुकमा पनि केही प्रयोगकर्ताले सोही दाबीसहित पोस्ट राखे । तर टेकपानाले गरेको तथ्य-जाँचमा उक्त दाबी भ्रामक पाइएको छ । प्रहरीले ढुङ्गा-इँटा सङ्कलन गर्दै गाडीमा राखिरहेको भिडिओ वास्तविक भएपनि सामाजिक सञ्जालमा दाबी गरिए जस्तो प्रदर्शनकारीलाई आक्रमण गर्न नभई प्रदर्शनस्थलको सुरक्षाका लागि सङ्कलन गरिएको हो ।
दाबी
एक्समा शशांक घिमिरे (@omnamosivaye)ले ३ जुन, २०२५ अपरान्ह ५ः३३ बजे एउटा भिडिओ पोस्ट गरे । भिडिओको क्याप्सनमा उनले लेखेका थिए, “प्रहरी मेरो साथि त राष्ट्रियता बोक्ने हैन झोलेको कुरा सुन्ने अनि देश को राष्ट्रबादी जनता लाइ ढुंगा हान्ने दाउ मा ढुंगा टिप्न बेस्त छन् हेर्नुस देश बिकाश येसरी हुदै छ ll”
भिडिओको स्रोतका रूपमा उनले सामाजिक सञ्जाल राखेका छन् । भिडिओमा माथि ‘मिथिला टिभी’को लोगो/वाटरमार्क देखिन्छ । त्यहाँ ड्युटीमा खटिएका प्रहरी ढुङ्गा-इँटा सङ्कलन गरेर भ्यानमा राखिरहेका देखिन्छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ९६ लाइक, २९ रिपोस्ट र ११ कमेन्ट आएको छ भने १५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
सामाजिक सञ्जालमा यस्तो दाबी सहितको पोस्ट आएपछि टेकपाना फ्याक्टचेक डेस्कले तथ्यजाँच सुरु गर्यो । त्यसमा यही पोस्ट अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले राखे/नराखेको फेला पार्न फेसबुकमा ‘सिफल प्रहरी’ किवर्ड राखेर हेर्यौं । त्यस क्रममा ‘पर्शु सुवेदी’ नामका फेसबुक प्रयोगकर्ताले ‘राजावादी आन्दोलनमा ने .क .पा. प्रहरी लाइ हतियारले भएन अरे ... ढुङे हतियार बटुल्दै छन सिफल चौरमा …’ क्याप्सनसहित सोही भिडिओ राखेको फेला पर्यो । उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म १२० रियाक्सन, १८ कमेन्ट र ८१०० बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
यही आशयसहित ‘तिलक बास्तोला’ नामका फेसबुक प्रयोगकर्ताले ‘राजावादी आन्दोलनमा ने .क .पा. प्रहरी लाइ हतियारले भएन अरे ... ढुङे हतियार बटुल्दै छन सिफल चौरमा धन्यवाद K P Sharma Oli का झोले सेनालाइ’ क्याप्सन राख्दै भिडिओ शेयर गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
त्यही भिडिओबाट क्रिफ्रेम निकालरे गुगलमा रिभर्स इमेज सर्च गर्दा ‘ग्लोबल नागरिक’ नामक मिडियाले ‘राजावादी प्रदर्शनअघि सिफल चौरमा सुरक्षा तयारी, प्रहरीद्वारा इँटा र ढुंगा हटाइयो’ शीर्षकको समचार फेला पर्यो । उक्त समाचारमा उच्च सङ्ख्यामा राजावादी समर्थक आउने आँकलनपछि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले इँटा र ढुङ्गा हटाइएको उल्लेख छ । यही सञ्चारमाध्यमले प्रहरीले इँटा र ढुङ्गा सङ्कलन गरिरहेको ठाउँको फरक एङ्गलको भिडिओ सार्वजनिक गरेको छ । प्रहरीले ढुङ्गा-इँटा सङ्कलन गरिरहेको भिडिओको पृष्ठभूमिमा प्रदर्शनकारी राष्ट्रिय झण्डा बोकेर बसिरहेका देखिन्छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले आन्दोलनका लागि सिफलसहित अन्य ठाउँ तोकेपछि त्यसलाई सुरक्षित बनाउन ढुङ्गा-इँटा हटाइएको हो ।
“सिफल चौरमा मङ्गलबार आन्दोलन सुरु हुनुअघि प्रहरीले त्यहाँबाट ढुङ्गा-इँटा हटाएको भिडिओबारे सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको रहेछ,” प्रहरी उपरीक्षक बोहराले भने, “त्यो ठाउँमा पहिलेदेखि नै निर्माण सामग्री (ढुङ्गा-इँटा) थिए । पानी परेकाले ती सामग्री थप असरल्ल थिए ।”
आन्दोलनका लागि तोकिएको स्थान प्रदर्शनकारी (जसमा बुढापाका व्यक्तिहरू पनि सहभागी हुने भएकाले) का लागि सुरक्षित र उपयुक्त बनाउनु प्रहरीको दायित्व भएकाले हटाइएको उनको भनाइ छ । “त्यहाँ भएका ढुंगालाई कसैले प्रदर्शनकारीहरू विरुद्ध नै प्रयोग गर्नसक्ने वा अन्य अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई रोक्न र समग्रमा उक्त ठाउँलाई प्रदर्शनका लागि उचित छ कि छैन भनेर आकलन गरी सुरक्षित बनाउन ती सामग्री हटाइएको हो,” उनले थपे ।
कुनै पनि मूलधारका सञ्चारमाध्यमले प्रहरीले ढुङ्गा-इँटा सङ्कलन गरिरहेको विषयमा समाचार लेखेका छैनन् । फिल्ड रिपोर्ट गरेर भिडिओ राखेका सञ्चारमाध्यमले भने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले ढुङ्गा-इँटा सङ्कलन गरेको उल्लेख गरेका छन् । यी विभिन्न तथ्यबाट प्रहरीले ‘राजावादी’ (आन्दोलनमा सहभागी व्यक्ति)लाई प्रहार गर्ने उद्देश्यले ढुङ्गा-इँटा सङ्कलन गरेको भन्ने दाबी भ्रामक पुष्टि हुन्छ ।
दाबी
राजावादी (आन्दोलनमा सहभागी)बाट डराएर उनीहरूलाई आक्रमण गर्न प्रहरीले हतियारका रूपमा ढुङ्गा-इँटा सङ्कलन गर्यो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेजस्तो प्रहरीले आन्दोलनमा सहभागी सर्वसाधारण वा कुनै व्यवस्थाप्रतिका पक्षधरलाई आक्रमण गर्न ढुङ्गा सङ्कलन गरेको होइन । प्रदर्शनका क्रममा मुठभेट वा अप्रिय घटना नहोस् भन्ने मनसायले प्रहरीले चौरमा छरिएर रहेका ढुङ्गा-इँटा सङ्कलन गरी व्यवस्थापन गरेको हो ।
निष्कर्ष
शशांक घिमिरे नामका एक्स प्रयोगकर्ता, पर्शु सुवेदी, तिलक बास्तोला लगायतका फेसबुक प्रयोगकर्ता मङ्गलबार काठमाडौँको सिफल चौरमा राजावादी प्रदर्शन हुनुअगावै प्रहरीले प्रदर्शनमा सहभागी हुनेलाई आक्रमण गर्न ढुङ्गामुढा संकलन गरेको दाबी गर्दै पोस्ट राखेका छन् । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँच, प्रदर्शनको प्रत्यक्ष प्रसारण र फिल्ड रिपोर्ट गरिरहेका सञ्चारमाध्यमको समाचार, प्रहरीको भनाइ र भाइरल भइरहेको भिडिओको आधिकारिक स्रोतबाट प्रहरीले प्रदर्शनस्थललाई थप सुरक्षित बनाउन ढुङ्गा-इँटा हटाएको पुष्टि हुन्छ ।