काठमाडौँ । तपाईँसँग एन्ड्रोइड फोन छ भने अवश्य पनि गुगल अर्थात् जीमेल अकाउन्ट प्रयोग गर्नुहुन्छ । गुगल अकाउन्ट प्ले स्टोरका एपहरूका साथै ड्राइभ, म्याप र फोटो जस्ता गुगलका अन्य सेवाहरूमा पहुँच पाउने प्रवेशद्वार नै हो ।
यी सेवाहरूमा संवेदनशील डेटा रहने भएकाले आफ्नो अकाउन्टलाई ह्याकरहरूबाट सुरक्षित राख्न एकदमै जरुरी छ । इन्टरनेट रमाइलो, उपयोगी र सहज मात्र होइन, खतरनाक ठाउँ पनि हो । तपाईँका अनलाइन अकाउन्टहरू ह्याक भएमा अकल्पनीय खतराको सामना गर्नुपर्ने हुन सक्छ । यस्तोमा तपाईँले आफ्नो अकाउन्ट सुरक्षित राख्न केही सरल र प्रभावकारी उपायहरू अपनाउन सक्नुहुन्छ ।
आज हामी तपाईँलाई केही यस्ता महत्वपूर्ण सुरक्षा सुझावहरू दिँदै छौँ, जसको सहयोगमा तपाईँ आफ्नो गुगल अकाउन्ट सुरक्षित राख्न सक्नु हुनेछ ।
१. बलियो पासवर्ड प्रयोग गर्नुहोस् अनि पासवर्ड म्यानेजरको मद्दत लिनुहोस्
बलियो पासवर्ड प्रयोग गर्नु भनेको अरू कसैलाई तपाईँको अकाउन्ट ह्याक गर्न गाह्रो बनाउने पहिलो कदम हो । यदि ह्याकरले तपाईँको अकाउन्टमा पहुँच प्राप्त गर्न ब्रुट फोर्स अट्याक (brute force attack) प्रयोग गरेमा लामो र जटिल पासवर्ड तोड्न अनेकौँ प्रयास गर्नुपर्ने हुन सक्छ ।
अङ्ग्रेजी साना तथा ठुला अक्षर, अङ्क र चिन्हहरूको मिसाएर पासवर्ड प्रयोग गर्नुहोस् । आफ्नो नाम, जन्म मिति, मोबाइल नम्बर वा घरपालुवा जनावरको नाम जस्ता सजिलै अनुमान लगाउन सकिने विवरणहरू यसमा प्रयोग नगर्नुहोस् ।
हरेक अकाउन्टका लागि छुट्टाछुट्टै युनिक पासवर्ड प्रयोग गर्नुहोस् । यसरी, एउटा अकाउन्ट ह्याक भएमा तपाईँका सबै अकाउन्टहरू जोखिममा पर्नबाट बच्ने छन् ।
यदि तपाईँलाई प्रत्येक अकाउन्टका लागि लामो तथा युनिक पासवर्ड सेट गर्न र सम्झन गाह्रो लाग्छ भने पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् । त्यसका लागि बिटवार्डेन, वनपासवर्ड, नोर्डपास, लास्टपास जस्ता विभिन्न पासवर्ड म्यानेजर एप उपलब्ध छन् ।
२. टु-फ्याक्टर अथेन्टिकेसन (2FA) इनेबल गर्नुहोस्
लामो पासवर्ड राख्नु मात्रैले सम्भावित ह्याकरलाई रोक्न पर्याप्त हुँदैन । कसैलाई तपाईँको अकाउन्टमा जबरजस्ती प्रवेश गर्नबाट रोक्न सुरक्षाको अतिरिक्त तह थप्नुपर्ने हुन्छ । गुगल अकाउन्टको सुरक्षाको सन्दर्भमा टुफ्याक्टर अथेन्टिकेसनका विभिन्न विकल्पहरू छन् । जसमा लगइन गर्नु अघि तपाईँको फोन नम्बरमा पठाइने वन-टाइम पासवर्ड (ओटीपी), तपाईँले रोजेको अथेन्टिकेटर (प्रमाणीकरण) एपबाट लिन मिल्ने टाइम-सेन्सेटिभ कोड वा डिभाइसमा राखिने हार्डवेयर की रहेका छन् । यदि तपाईँसँग एन्ड्रोइड फोन छ भने गुगलले तपाईँलाई फोनमा साइन-इनको प्रयासलाई स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने सुविधा पनि दिन्छ । त्यसलाई तपाईँ गुगलको सेक्युरिटी पेजमा गएर वा यहाँ क्लिक गरेर एक्टिभेट गर्न सक्नु हुन्छ ।
३. अपरिचित कनेक्टेड डिभाइस भए हटाउनुहोस्
तपाईँले आफ्नो गुगल अकाउन्टमा साइन इन गरेका उपकरणहरूको लग राखिएको हुन्छ । तपाईँले यो लग प्रयोग गरेर अब प्रयोग नगर्ने उपकरणहरू पहिचान गर्न र तिनीहरूबाट साइन आउट गर्न सक्नुहुन्छ । यो सुविधा विशेष गरी तपाईँ डिभाइसहरू (मोबाइल, ट्याब्लेट, ल्यापटप वा कम्प्युटर) परिवर्तन गर्दा वा पुस्तकालय तथा होटेल जस्ता सार्वजनिक स्थानहरूमा रहेका कम्प्युटर प्रयोग गर्दा उपयोग गर्न सक्नु हुन्छ ।
यसका लागि आफ्नो गुगल अकाउन्टको Security section मा रहेको Your Devices सेक्सनमा जानुहोस् (त्यसका लागि यहाँ क्लिक गर्न पनि सक्नु हुन्छ)। त्यहाँ रहेका डिभाइसहरूको सूची समीक्षा गर्नुहोस् र प्रयोग नगरेका वा तपाईँले नचिनेका डिभाइसहरूलाई छानेर साइन आउट गर्नुहोस् । यो प्रक्रिया केही हप्ता वा महिनामा दोहोर्याउने बानी बसाल्नु होस् ।
४. प्रयोग नगरिएका थर्ड-पार्टी एपहरूको पर्मिसन रद्द गर्नुहोस्
तपाईँले कुनै समय आफ्नो गुगल अकाउन्टमा लिङ्क गरेकामध्ये केही एपहरू अहिले आएर बन्द भएका हुन सक्छन् वा मालवेयरमा परिणत भएका हुन सक्छन् । एपको सुरक्षा कम्प्रोमाइज भएको पनि हुन सक्छ । जसले गर्दा तपाईँको अकाउन्टका क्रेडेन्सियल ह्याक हुन सक्छ ।
आफूले सक्रिय रूपमा प्रयोग नगर्ने एपहरूमा रहेको यस्तो पहुँच रद्द गर्नुहोस् । यसका लागि आफ्नो गुगल अकाउन्टको सेक्युरिटी खण्डमा गएर Your connections to third-party apps and services चयन गर्नुहोस् । अब त्यहाँ उपलब्ध सूचीको समीक्षा गर्नुहोस् । प्रयोग नगरिएका एपमा गएर Delete all connections मा क्लिक गर्नुहोस् ।
५. पब्लिक तथा फ्रि वाई-फाई चलाउँदा भीपीएन प्रयोग गर्नुहोस्
सार्वजनिक वाई-फाई नेटवर्कहरू प्रयोग गर्नु खतरनाक साबित हुन सक्छ । किनकि नेटवर्कमा रहेका अन्य प्रयोगकर्ताहरूले तपाईँको कम्प्युटर वा मोबाइल ह्याक गर्न र तपाईँको गुगल अकाउन्टमा पहुँच प्राप्त गर्न सक्छन् ।
यस्ता सम्भावित खतराबाट बच्न फ्रि वाई-फाई वा पब्लिक नेटवर्क प्रयोग गर्दा भीपीएन प्रयोग गर्नुहोस् । भीपीएनले तपाईँको डेटालाई इन्क्रिप्ट गर्छ र इन्टरनेट ट्राफिकका लागि सुरक्षित टनेल तयार पार्छ । यसले ह्याकरहरूलाई तपाईँको डेटा पढ्न असम्भव बनाउँछ । यसले जासुसी रोक्न र तपाईँको आईपी एड्रेस लुकाएर ह्याकरहरूलाई तपाईँको स्थान ट्र्याक गर्नबाट पनि रोक्छ ।
६. अपरिचित व्यक्तिबाट आएका लिंकमा क्लिक नगर्नुहोस्
आफ्नो अकाउन्ट सुरक्षित राख्नुका साथै इन्टरनेटमा तपाईँले गर्ने कामहरूप्रति पनि सचेत रहनुहोस् । अज्ञात वेबसाइट भिजिट गर्दा वा अपरिचित व्यक्तिबाट आएका लिंकमा क्लिक गर्दा तपाईँको गुगल अकाउन्ट जोखिममा पर्न सक्छ ।
यदि तपाईँले आफ्नो गुगल अकाउन्टमा लगइन गर्नको लागि लिंक प्राप्त गर्नुभयो र त्यो गुगल वा अन्य कुनै व्यवसायबाट आएको दाबी गरिएको छ भने ईमेल पठाउने डोमेन राम्रोसँग हेरेर भेरिफाई गर्नुहोस् । यदि त्यो अपरिचित डोमेन हो भन्ने लागेमा लिङ्कमा क्लिक नगर्नुहोस् । साथै, यस्तो ईमेल पठाउने व्यक्तिको बारेमा रिपोर्ट गर्नुहोस् ताकि गुगलले उक्त ईमेल आईडीलाई फिशिङका लागि फ्ल्याग गर्न सकोस् ।
ब्राउजरको एड्रेस बारमा आधिकारिक वेबसाइटको एड्रेस टाइप गरेर मात्र गुगल अकाउन्टमा साइन इन गर्नुहोस् । स्मार्टफोन प्रयोग गर्दै हुनुहुन्छ भने उपलब्ध भएसम्म ब्राउजरबाट सम्बन्धित वेबसाइटमा जानुको साटो सम्बन्धित एप प्रयोग गर्नुहोस् ।
धेरैजसो प्रयोगकर्ताहरू आफ्नो डेटा भण्डारण गर्नका लागि गुगलका सेवाहरूमा निर्भर भइरहेका हुन्छन्। तस्विर, भिडिओ, ईमेल वा कामसँग सम्बन्धित फाइल जे भए पनि तिनीहरूलाई ह्याकर तथा आक्रमणकारीहरूबाट सुरक्षित राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ । माथिका उपायहरू अपनाउँदा तपाईँलाई आफ्नो गुगल अकाउन्ट सम्भावित आक्रमणहरूबाट सुरक्षित राख्न मद्दत गर्नेछन् ।