काठमाडौँ । एप्पलले आफ्ना आईफोन र म्याकबुकका लागि भारतमा बिक्रीपछिको मर्मत सेवाको जिम्मा टाटा समूहलाई सुम्पेको छ । यो महत्त्वपूर्ण कदमले भारतको द्रुत गतिमा बढिरहेको स्मार्टफोन बजारमा एप्पलको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
रोयटर्सका अनुसार, एप्पलले मर्मत कार्यको जिम्मेवारी ताइवान-आधारित विस्ट्रोनको भारतीय इकाई, आईसीटी सर्भिस म्यानेजमेन्ट सोलुसन्सबाट टाटालाई हस्तान्तरण गरेको हो । यो मर्मत कार्य टाटाको कर्नाटकस्थित आईफोन एसेम्बली क्याम्पसमा गरिनेछ । यद्यपि यस विषयमा एप्पल, विस्ट्रोन र टाटाले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका नदिएको द इकोनोमिक्स टाइम्सले लेखेको छ ।
टाटाले दक्षिण भारतका तीन ओटा केन्द्रहरूमा आईफोन एसेम्बल गर्दै आएको छ, जसमध्ये एउटाले केही आईफोन कम्पोनेन्टहरू पनि उत्पादन गर्छ । टाटा इलेक्ट्रोनिक्ससँग पेगाट्रोनको तमिलनाडुस्थित एसेम्बली लाइनमा ६०% स्वामित्व पनि रहेको छ । यो विस्तारले एप्पलको आपूर्ति शृङ्खलामा टाटाको भूमिकालाई अझ गहिरो बनाएको छ ।
एप्पलले चीनमा केन्द्रित उत्पादन मोडेलबाट हट्ने रणनीति अपनाएको छ । टाटा यस प्रक्रियामा एप्पलको एक प्रमुख साझेदारको रूपमा उदाएको छ । एप्पलका सीईओ टिम कुकले संयुक्त राज्य अमेरिकामा बेचिने अधिकांश आईफोनहरू भारतका कारखानाहरूमा बन्ने बताइसकेका छन् ।
भारत विश्वको दोस्रो ठुलो मोबाइल फोन उत्पादक बनेको छ । अप्रिलदेखि अक्टोबर २०२४ सम्ममा भारतमा आईफोन उत्पादनको एफओबी (फ्रेट अन बोर्ड) मूल्य १० अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३७% बढी हो । यी मध्ये ७०% उत्पादन निर्यात गरिएको थियो । एप्पलले २०२७ देखि २०२८ सम्ममा भारतको आईफोन उत्पादनमा विश्वव्यापी हिस्साको २५% पुर्याउने योजना बनाएको छ ।
भारतको स्मार्टफोन बजारमा आईफोनको बिक्री आकाशिनुका कारण मर्मत बजारमा पनि महत्वपूर्ण वृद्धि हुने अनुमान गरिएको छ । काउन्टरपोइन्ट रिसर्चको अनुमान अनुसार, सन् २०२३ मा भारतमा लगभग १ करोड १० लाख आईफोन बिक्री भएका थिए । जुन एप्पलको ७% बजार हिस्सा हो, जुन २०२० मा केवल १% मात्र थियो ।
साइबरमिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामले यस विकासले टाटामा एप्पलको बढ्दो विश्वासलाई सङ्केत गर्छ । भविष्यमा एप्पलले संयुक्त राज्य अमेरिकामा जस्तै भारतमा पनि सिधै मर्मत गरिएका (रिफर्बिस्ड) डिभाइसहरू बेच्ने बाटो खुल्न सक्ने बताएका छन् ।
यस्तो हुनेछ मर्मत प्रक्रिया
भारतभर रहेका एप्पलका आधिकारिक सेवा केन्द्रहरूले सामान्य मर्मतको काम गर्नेछन्, तर अधिक जटिल समस्याहरूको लागि भने फोन र ल्यापटपहरू अब टाटाको सर्भिस सेन्टरमा पठाइनेछ । हाल भारतमा आईफोन १६ प्रो र प्रो म्याक्स जस्ता हाई-इन्डका एप्पल मोडेल उत्पादन भइरहेका छन् । यद्यपि, चिपसेट, क्यामेरा सेन्सर, डिस्प्ले र अन्य आन्तरिक पाटपुर्जा जस्ता महत्त्वपूर्ण कम्पोनेन्टहरू भने अझै पनि चीन, अमेरिका वा दक्षिण कोरियाबाट ल्याउने गरिन्छ ।
एप्पलले भारतमा कम्पोनेन्ट र प्राविधिक सहयोग आधार विस्तार गर्न ४० भारतीय कम्पनीहरूसँग कुराकानी गरिरहेको बताइएको छ । यसमा मुरगाप्पा समूह र टाइटनसँग क्यामेरा मोड्युलका लागि, र डिक्सन टेक्नोलोजीसँग एसेम्बली लाइन विस्तारका लागि छलफलहरू भइरहेको छ । एप्पलले हाल भारतीय उत्पादकहरूबाट सिधै महत्त्वपूर्ण कम्पोनेन्टहरू (जस्तै क्यामेरा सेन्सर, डिस्प्ले र मेमोरी चिप्स) आउटसोर्स गर्न चाहेको छैन, तर आफ्ना विश्वव्यापी उत्पादन साझेदारहरूलाई भारतमै सो कार्य गर्न जोड दिइरहेको छ ।