काठमाडौँ । अब इन्जिनियरहरूले १५ लाख रुपैयाँसम्म बिना धितो ऋण पाउने भएका छन् । इन्जिनियरहरूको छाता सङ्गठन नेपाल इन्जिनियर एसोसिएसन (एनईए) ले आफ्ना सदस्यहरूले १५ लाख रुपैयाँसम्म बिना धितो ऋण लिन पाउने गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैँक (एनआईएमबी) सँग सम्झौता गरेको हो ।
सदस्य इन्जिनियरहरूको हक हितका लागि बिहिबार (२२ जेठ) उक्त सम्झौता गरिएको एसोसिएसनका सचिव इन्जिनियर माधव अधिकारीले जानकारी दिए । सम्झौता अनुसारको सुविधा एसोसियसनका सदस्य तथा निरन्तर नवीकरण गरेका सदस्यहरूले पाउनेछन् । सदस्यहरूले बैँकमा शून्य रकममा खाता खोलेर कारोबार सुरु गर्नुपर्ने उनले बताए । खाता खोल्नासाथ कम्तीमा २५ हजार रुपैयाँ रहेको क्रेडिट कार्ड समेत उपलब्ध हुने गरी सम्झौता भएको छ ।
सदस्यहरूले एनआईएमबीको नेपालका जुनसुकै शाखाबाट सम्झौता अनुसारको सुविधा लिन सक्नेछन् । यसका लागि प्रदेशमा रहेको सङ्गठनबाट पनि सिफारिस प्रदान गरिने उनले बताए ।
अधिकारीका अनुसार सम्झौताबाट एसोसिएसनका सदस्य इन्जिनियरहरू र आर्किटेक्टहरूलाई १० लाख रुपैयाँको दुर्घटना र स्थायी अशक्तता बीमा समेत उपलब्ध गराइनेछ । साथै १५ लाख रुपैयाँसम्मको धितो-रहित ऋण समेत प्रदान गरिनेछ ।
उनले भने, “बिना धितो ऋण भएपनि परिवारका सदस्यबाट एक जना जमानी भने बस्नुपर्ने हुन्छ ।” यस्तै, स्टार्टअप कर्जाका लागि दुई करोडसम्म सहुलियत ब्याजदरमा ऋण दिने विषय समेत सम्झौतामा उल्लेख छ । ऋण लिँदा पहिलो एक वर्षका लागि ७.९९% निश्चित ब्याजदर वा बैँकको न्यूनतम आधार ब्याजदरमा वार्षिक १% थपिने दरमध्ये एक विकल्प रोज्न सकिने उनले जानकारी दिए ।