close

प्रेमिकाले अर्कैसँग बिहे गरेपछि आवेशमा आएर नग्न तस्विर भिनाजुलाई पठाउँदा अर्को बबाल

टेकपाना टेकपाना

जेठ २६, २०८२ १७:३२

प्रेमिकाले अर्कैसँग बिहे गरेपछि आवेशमा आएर नग्न तस्विर भिनाजुलाई पठाउँदा अर्को बबाल

काठमाडौँ । उषा पौडेल (नाम परिवर्तन) र प्रकाश अधिकारीबिच करिब ४ वर्षअघि चिनजान भएको थियो । घर एउटै स्थानमा भएकाले देखभेट भइरहने । विस्तारै उनीहरूबिच प्रेम सम्बन्ध सुरु भयो । प्रेम सम्बन्धमा रहँदा सामाजिक सञ्जालमार्फत भिडिओ कलमा कुराकानी हुन थाल्यो ।

त्यस क्रममा एक अर्कालाई आफ्ना गोप्य अङ्गहरू देखाउने गर्थे । उषाले पठाएका गोप्य अङ्गका तस्विर र भिडिओ प्रकाशले आफ्नो मोबाइलमा सेभ गरी राख्थे । सबै कुरा सामान्य रूपमा चलिरहेको थियो । तर एक्कासि उषाले घरमा अर्कै पुरुषसँग आफ्नो विवाहको कुरा आएको सुनाइन् । यससँगै दुवै जनाबिच खटपट सुरु भयो । बयानका क्रममा प्रकाशले भनेका छन्, "उनले 'म अन्य पुरुषसँग विवाह गर्न सक्दिनँ । हामी यहाँबाट भागेर अन्तै जाऔँ । तपाईँ पोखरामा बस्ने बन्दोबस्त मिलाउनु होस्, यताको सबै व्यवहार मिलाएर घरबाट भागेर हामी पोखरामै बसौँला' भनेकी थिइन् । त्यसै अनुरूप मैँले अनलाइनमार्फत पोखरामा डेरा खोजी जागिर समेत फिक्स गरेको थिएँ ।”

तर, उषाले बहाना बनाएर झुक्याउँदै आलटाल गरी २०८२ वैशाख २३ गते अर्कै पुरुषसँग विवाह गरेको प्रकाशको दाबी छ। यस घटनाले आफूलाई पीडा भएको र रिसको आवेगमा पीडितको गोप्य अङ्गका तस्विर/भिडियोहरू सार्वजनिक गरी दिने धम्की दिएको प्रकाशले स्वीकार गरेका छन् । 

उता प्रकाशसँग छुटकारा पाउन उषाले प्रकाशलाई सामाजिक सञ्जालहरूबाट ब्लक गरी दिइन् । प्रकाश भने यत्तिकै रोकिने वाला थिएनन् । विवाह भएको एक हप्ता पनि बितेको थिएन । प्रकाशले उषाको नाता पर्ने भिनाजुलाई पनि मेसेन्जरमार्फत ती नग्न फोटो र भिडिओ पठाइ दिए । त्यो कुरा ती भिनाजुमार्फत थाहा पाइन् । त्यसपछि भने प्रकाशबाट छुटकारा पाउन साइबर ब्युरोमा पुगिन् । उनको उजुरी परेपछि १ जेठ २०८२ मा ब्युरोले प्रकाशलाई नियन्त्रणमा लियो ।  

प्राविधिक प्रहरी प्रतिवेदन अनुसार बरामद भएको मोबाइल सेटको जाँच गर्दा प्रकाशको फेसबुक प्रोफाइल लगइन अवस्थामा रहेको र उषाका नग्न तथा अश्लील फोटो र भिडिओहरू फेला परेका छन् । 

यस घटनामा प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले विद्युतीय कारोबार ऐनबमोजिम अभियोग पत्र दायर गरेको छ । अदालतमा दायर भएको अभियोग पत्र अनुसार, टोखा नगरपालिका-१ झोरका २९ वर्षीय प्रकाश अधिकारीमाथि उक्त मुद्दा चलाइएको हो ।

अभियोग पत्रमा प्रकाशले उषालाई मानसिक दुःख हानी पुर्‍याई, समाजमा उनको बदनाम बेइज्जत गरी चरित्र हत्या गरेको र सो कार्य विद्युतीय कारोबार ऐनबमोजिमको कसुर भएको पुष्टि भएको उल्लेख छ । यस कसुरमा अभियुक्त प्रकाशलाई ऐनबमोजिम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय र मोबाइल सेट जफत गर्न माग गरिएको छ । साथै, पीडितलाई भएको मानसिक क्षतिपूर्तिका लागि पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क समेत भराई पाउन माग दाबी गरिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ १७:३२