close

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

टेकपाना टेकपाना

जेठ २७, २०८२ १९:१७

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

काठमाडौँ । पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान सुरु गरेको छ ।

डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।

अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । “यसरी  छुट्याइने रकम राइडरबाट नभइ कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ”, हमालले भनिन्, “पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।”

अभियानबाट संकलन हुने रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिद लगायतमा खर्च हुने बताइएको छ । डा. कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो ।

डा कोइरालाले काठमाडौँसहित सातवटै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने  काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १९:१७