close

बालेन-सुमना सहित नयाँ पार्टी खोल्न लागेको हल्लापछि साम्पाङले भने- झुटो हो, बैठक नै बसेको छैन

टेकपाना टेकपाना

जेठ ३०, २०८२ ६:४७

बालेन-सुमना सहित नयाँ पार्टी खोल्न लागेको हल्लापछि साम्पाङले भने- झुटो हो, बैठक नै बसेको छैन

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोल्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित २० जनाको सहमति भएको भन्दै फैलिएको खबर असत्य भएको बताएका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक स्टाटस लेख्दै मेयर साम्पाङले उक्त खबर पूर्ण रूपमा असत्य रहेको र त्यस्तो कुनै पनि बैठक नभएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा अमेरिकामा बस्दै आएका कलाकार भगवान् भण्डारीको फेसबुक पोस्टलाई आधार मान्दै हर्क, बालेन र सुमना श्रेष्ठलगायतका व्यक्तिहरूबीच नयाँ पार्टी गठनका लागि भर्चुअल बैठक बसेको र सहमति जुटेको खबर भाइरल भएको थियो । उक्त हल्लाले राजनीतिक वृत्त र आम सर्वसाधारणमाझ तरङ्ग पैदा गरेपछि मेयर साम्पाङले त्यसको औपचारिक रूपमा खण्डन गरेका हुन् ।

साम्पाङले लेखेका छन्, “हर्क बालेन सहित नयाँ पार्टी खोल्न २० जनाको सहमति भएको भन्ने असत्य खबरले बजार पिटेको रैछ ! त्यस्तो कुनै Virtual meeting नबसेको सबैलाई जानकारी गराउँदछु !”

यसअघि कलाकार भण्डारीले आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै हर्क साम्पाङ, बालेन शाह र अन्य १८ जना युवाबिच करिब ६५ मिनेट लामो भर्चुअल बैठक बसेको र राजनीतिलाई नयाँ शिराबाट उठाउने विषयमा गम्भीर छलफल भएको दाबी गरेका थिए ।

उक्त पोस्टमा भण्डारीले हर्क साम्पाङको अडान केही जिद्दीपूर्ण रहेको तर बालेन शाह पूर्ण सहमत भएको र सुमना श्रेष्ठलाई संयोजक बनाउने विषयमा समेत लगभग सहमति जुटेको उल्लेख गरेका थिए ।

हाल भगवान् भण्डारीको फेसबुक प्रोफाइलमा उक्त पोस्ट देखिँदैन ।

हेर्नुहोस् भाइरल स्क्रिनशट

मेयर साम्पाङले आगामी २०८४ को निर्वाचनअघि नयाँ दल गठन गर्नसक्ने सङ्केत दिँदै आएको र मेयर बालेन शाहको राजनीतिक भविष्यबारे पनि निरन्तर चर्चा भइरहेको पृष्ठभूमिमा यो हल्ला तीव्र गतिमा फैलिएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ ७:४९