काठमाडौँ । कर्णाली स्टार्टअप फन्ड र बिजिनेस इन्क्युवेसन सेन्टर स्थापना हुने भएको छ । आइतबार चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत कर्णाली प्रदेशको बजेट मार्फत यस्तो कार्यक्रम अघि सारिएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाहले प्रदेशमा नवीन सोच भएका युवालाई लक्षित गरी नयाँ उद्यम विकासको वातावरण निर्माण गर्न यस किसिमको कार्यक्रम ल्याइएको बताए ।
यस्ता उद्योगबाट उत्पादित वस्तु तथा सेवाको गुणस्तर कायम गरी बजारीकरणका लागि सहयोग र सहजीकरणमा समेत प्रदेश सरकारले नै सघाउने उनको भनाई थियो । यसका लागि दुई करोड रुपैयाँ बजेट छुट्याइएको छ । निजी क्षेत्रका रोजगारदाताको सहकार्यमा बजार मागमा आधारित उद्यमशीलता एवम् सीप विकास तालिम कार्यक्रम समेत सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश छ ।
यस्ता तालिमबाट उत्पादित जनशक्तिलाई प्रदेशभित्रै रोजगारीको वातावरण सृजना गरिनेछ । यो कार्यक्रमका लागि ३ करोड ७३ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै प्रदेश सरकारले लगानीकर्ताहरूलाई प्रदेशमा रहेका लगानीका सम्भाव्य क्षेत्रबारे जानकारी प्रदान गरी लगानी निर्णय गर्न सघाउ पुर्याउन कर्णाली प्रदेश लगानी पोर्टल समेत विकास गर्नेछ ।
साथै प्रदेशमा लगानी योग्य परियोजना विकास तथा अन्य आवश्यक पूर्व तयारी सहित आगामी आर्थिक वर्ष कर्णाली लगानी सम्मेलनको आयोजना गरिनेछ ।