close

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

टेकपाना टेकपाना

असार १६, २०८२ १८:५५

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय (साइबर) अपराधसम्बन्धी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले पाठकले आफ्नो युट्युब च्यानलमार्फत एक व्यक्तिको चरित्रहत्या गरेको र घृणा फैलाएको आरोप लगाउँदै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत सजायको माग दाबीसहित अभियोग पत्र दर्ता गरेको हो ।

पाठकले सञ्चालन गरेको ‘टफ टक विथ दिलभूषण पाठक’ (TOUGH talk With Dil Bhusan Pathak) नामक युट्युब च्यानलमा ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा एक भिडियो प्रकाशन गरेका थिए । उक्त भिडियोमा पाठकले पूर्वप्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाका छोरा जयवीर सिंह देउवाको फोटो राखेका थिए । 

पीडित परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/०८२) ले आफ्नो चरित्रहत्या भएको, घृणा र द्वेष फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानले उक्त युट्युब च्यानलका सञ्चालक/प्रस्तोता दिलभूषण पाठक नै भएको र उनले भिडियोमार्फत पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको निष्कर्ष निकालेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजायको माग गरेको छ । उक्त दफामा कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।

अभियोग पत्रमा प्रेस काउन्सिल नेपालले पाठकको उक्त युट्युब च्यानललाई आधिकारिक सञ्चारमाध्यमका रूपमा सूचीकृत नगरेको जानकारी दिएको पनि जनाइएको छ ।

मुद्दामा प्रमाणका रूपमा भिडिओसहितको डीभीडी, स्क्रिनसट र साक्षीको बयानलाई आधार मानिएको छ । अभियोग पत्रमा पाठकलाई ‘फरार’ देखाई अदालतबाट पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ । यो मुद्दा सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले १६ असारमा अदालतमा दर्ता गराएका हुन् ।

सम्बन्धित समाचारः

युट्युब भिडिओको विषयमा पत्रकार दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

सञ्चारकर्मी दिलभूषण पाठकलाई साइबर ब्युरोले भन्यो- अनुसन्धानका लागि यथाशीघ्र उपस्थित हुनुहोस्

दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सञ्चारकर्मी पाठक उच्च अदालत पुगे

युट्युब भिडिओलाई लिएर पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५७