प्राविधिक शिक्षातर्फ डिप्लोमा/प्रमाणपत्र तहमा भर्ना खुल्यो, १२० जनालाई निःशुल्क छात्रवृत्ति
साउन ९, २०८२ ११:१६
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरूमा भर्नाका लागि आवेदन आह्वान गरेको छ ।
सरकारको पछिल्लो बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ ओटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राहरूबाट प्रि-डिप्लोमा तहमा १४ जना र डिप्लोमा/प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरूमा १०६ जना गरी कुल १२० कोटा सङ्ख्यामा निःशुल्क छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
यही ११ साउनदेखि २९ साउनसम्म सीटीईभीटीको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिनेछ । आवेदन दिँदा कुनै शुल्क लाग्दैन ।
परिषद्ले उपलब्ध गराएको विवरणअनुसार, सातै प्रदेशका लागि कुल १२० कोटा छुट्याइएको छ । जसमा प्रमाणपत्र तह सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, सिभिल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, कृषि र होटल म्यानेजमेन्ट जस्ता कार्यक्रमहरू छन् । प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ३३, मधेश प्रदेशमा २८, बागमतीमा १४, गण्डकीमा १६, लुम्बिनीमा ११, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा १० सिट निर्धारण गरिएको छ ।
स्वास्थ्यतर्फका प्रमुख कार्यक्रमहरू अध्ययन हुने शिक्षण संस्थाहरू पनि तोकिएको छ । जसअनुसार, प्रमाणपत्र तह सामान्य चिकित्सा कार्यक्रमका लागि श्री रत्न कुमार बान्तवा बहुप्राविधिक शिक्षालय (इलाम), श्री दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय (माडी, चितवन), श्री शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय (दाङ), श्री कर्णाली प्राविधिक शिक्षालय (जुम्ला) र श्री सेती प्राविधिक शिक्षालय (दिपायल, डोटी) तोकिएको छ । त्यसैगरी, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीका लागि श्री निर्मल लामा बहुप्राविधिक शिक्षालय (महोत्तरी) छुट्याइएको छ ।
न्यूनतम योग्यता
-
स्वास्थ्यतर्फका कार्यक्रमका लागि: सामान्य चिकित्सा र मेडिकल ल्याब टेक्नोलोजी जस्ता कार्यक्रममा अध्ययन गर्न एसईई परीक्षामा अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषय लिई समग्रमा न्यूनतम २.० जीपीए प्राप्त गरेको हुनुपर्नेछ । इन्जिनियरिङ, कृषि, होटल म्यानेजमेन्ट जस्ता अन्य कार्यक्रमहरूका लागि एसईईमा समग्रमा न्यूनतम १.६ जीपीए प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
-
१८ महिने प्रि-डिप्लोमा कार्यक्रमका लागि भने एसईई परीक्षामा समावेश भई नतिजामा 'नन-ग्रेडेड' (NG) आएका विद्यार्थीहरूले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, अक्षराङ्कन पद्धति लागू हुनुअघि एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूको हकमा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई उत्तीर्ण भएको वा सम्बन्धित प्राविधिक एसएलसी/प्रि-डिप्लोमा तहमा ६८.३३ प्रतिशत अङ्क ल्याएको हुनुपर्ने पुरानै व्यवस्थालाई कायम राखिएको छ ।
थप जानकारीका लागि परिषद्को आधिकारिक वेबसाइट हेर्न सकिने छ ।
पछिल्लो अध्यावधिक: साउन ९, २०८२ १४:२९
