काठमाडौँ । हाम्रो पात्रोले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने अस्ट्रासी (AUSTRAC) अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ । यससँगै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्ने भएको हो ।
हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैँक खातामा तत्काल पठाउन सकिन्छ । यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने बताइएको छ ।
अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गरेको हो । अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको अवसरमा हाम्रो पात्रोले सीमित अवधिका लागि विशेष अफर समेत ल्याएको छ । यस अफर अन्तर्गत अस्ट्रेलियाबाट रेमिट्यान्स पठाउने शुरुवाति ५,००० प्रयोगकर्ताहरूले अस्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अस्ट्रेलियन डलर बराबर १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन् ।
यो दर हालसम्मको अस्ट्रेलिया - नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिएको छ । जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्याउँछ ।
हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमका अनुसार यो सेवाले विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दर र सुरक्षित माध्यमबाट रकम नेपाल पठाउने सुनिश्चितता दिन्छ । हाम्रो पात्रो रेमिटबाट एक पटक केवाईसी भेरिभाइड भएर आफ्नो बैँकको विवरणहरू भरेपछि केही क्लिकमै पैसा पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप या remit.hamropatro.com/aus मा पनि जान सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ ११:२१
