ईभी दुर्घटना न्यूनीकरण गर्न ड्राइभिङ इन्टिच्युटका प्रशिक्षकलाई भीजी मोटर्सको निःशुल्क तालिम
साउन १२, २०८२ ११:५७
काठमाडौँ । भीजी मोटर्सले विद्युतीय सवारी साधन (ईभी) को दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजना गरेको प्रशिक्षक प्रशिक्षण (ट्रेनिङ अफ ट्रेनर्स–टीओटी) तालिम सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा शनिबार, १० साउनका दिन काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा देशभरका विभिन्न ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो ।
उक्त कार्यक्रममा सातै प्रदेशबाट आमन्त्रित ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ । उक्त तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको थियो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरूलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउन सक्षम बनाउनु रहेको थियो ।
तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरूलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका तथा सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी र व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
उक्त तालिममा ईभीको तत्काल उत्पन्न हुने गति (इन्स्ट्यान्ट टर्क) र आकस्मिक तीव्र गति नियन्त्रण, उकालो–ओरालोमा रिजेनेरेटिभ ब्रेकिङको प्रयोग, साइलेन्ट अपरेसन (आवाज नदिई चल्ने क्षमता) का कारण देखिने जोखिम र सजगताका उपाय, स्टेरिङ र ब्रेकिङको संवेदनशीलता सम्हाल्ने व्यावहारिक अभ्यास लगायत ज्ञान दिइएको थियो । यस्तै, ड्याशबोर्डका सङ्केतहरू- एसओसी, पावर मोटर, टर्टल मोड आदि बुझ्ने तरिका पनि सिकाइएको थियो ।
बनेपामा आयोजित तालिम देश विदेशमा अध्ययन गरेका र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो । तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतमले भने, “हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौँ । यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ ।”
गौतमले फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका छन् । उक्त कार्यक्रममा भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए । उनले भने, “हामी यो सीपलाई ड्राइभिङ इन्स्टिच्युटमार्फत यात्रुहरूसम्म पुर्याउन चाहन्छौँ, ताकि व्यावसायिक सवारीको सुरक्षित प्रयोग सुनिश्चित होस् । यस्तो सवारी सही ढङ्गले नचलाइएमा चालक, यात्रु र तिनका परिवारलाई समेत जोखिममा पार्न सक्छ ।”
भीजी मोटर्सले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ईभी सुरक्षालाई आधारभूत शिक्षा प्रणालीमा समावेश गर्न र प्रशिक्षकहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्याउने योजना अगाडि सारेको छ । भीजी मोटर्सले आगामी हप्ताहरूमा स्थानीय चालक प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न प्रशिक्षकहरूसँग समन्वय गरी प्राविधिक सामग्री तथा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
भीजी मोटर्सले नेपाली बजारमा विद्युतीय माइक्रोबस एसआरएम र जोयलङका गाडीहरू बिक्री गर्दै आएको छ, जुन सार्वजनिक रुट तथा विद्यालयहरूमा धेरै प्रयोग हुने गरेका छन् ।
वातावरण अनुकूलता, भन्सार र अन्य करमा सहुलियतका साथै सञ्चालन खर्च धरै कम लाग्ने भएकाले ईभीको प्रयोग बढ्दो छ । तर, ईभी प्रविधिसँग तालमेल गर्न नसक्दा दुर्घटनाको जोखिम पनि बढ्दै गइरहेको छ । ईभी प्रविधि आफैँले दुर्घटना गराउने नभई यो प्रविधिलाई राम्ररी नबुझ्दा दुर्घटनाको सम्भावना धेरै हुने भएकाले तालिम जरुरी हुने कम्पनीको भनाइ छ ।
यही आवश्यकतालाई सम्बोधन गर्न भीजी मोटर्सले तालिम आयोजना गरेको हो । कार्यक्रमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै विगतमा यस क्षेत्रको सीप विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
तालिममा सहभागी प्रशिक्षकहरूलाई बनेपामा एक रातको बसोबास, भोजन, यातायात तथा प्रायोगिक अभ्यास सहितको पूर्ण तालिम प्याकेज प्रदान गरिएको थियो । पहिलो चरणमा तालिम लिएका ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकहरूले दोस्रो चरणमा सार्वजनिक सवारी साधन चलाउने चालकहरूलाई प्रशिक्षण दिनेछन् ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ ११:५७
