प्रविधिमा लामो समय कलम चलाउँदा मलाई लागेको थियो, लेखनसँगै त्यसलाई व्यवहारमा प्रयोग गर्न पाए जीवन कति सहज हुँदो होला । जापानको यात्रामा मैले त्यसको प्रत्यक्ष अनुभव गर्न पाएँ । लाग्छ, जहाँ हरेक कदममा प्रविधि छ । जापान भनेपछि नै प्रविधिको देश भन्ने लाग्छ । यो देशमा प्रविधि केवल उपकरण होइन, यो त दैनिक जीवनको अभिन्न हिस्सा हो । सडकमा रोबोटहरू, घरमा स्मार्ट उपकरणहरू र यातायातमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगले जापानलाई समृद्ध बनाएको छ । मैले यात्रामा देखेँ – प्रविधिले जापानी जीवनलाई कति सहज र कुशल बनाएको छ । यो ब्लगमा म जापानमा प्रविधिको दैनिक प्रयोग, मेरा अनुभव र यसको भविष्यबारे विस्तृत रूपमा चर्चा गर्नेछु । जसले तपाईँहरूलाई जापानको प्रविधि प्रेमी जीवनशैली बुझ्न मद्दत गर्न सक्छ ।
जापानमा प्रविधि प्रयोगको इतिहास लामो छ । दोस्रो विश्व युद्धपछि जापानले प्रविधिमा लगानी गरेर आर्थिक चमत्कार गर्यो । सन् १९५० को दशकमा जापानले ट्रान्जिस्टर रेडियो र टेलिभिजनबाट सुरु गरेको यो यात्रा आज रोबोटिक्स, एआई र क्वान्टम कम्प्युटिङसम्म पुगेको छ । मेरो घरमा सन् २०५० को दशकमा आएको पानासोनिक रेडियो, जापानमा बनेको थियो । जो बुबाले लाइसेन्ससहित किनेर ल्याउनु भएको थियो ।
सन् १९५० मा पानासोनिक (तत्कालीन मात्सुशिता) ले ट्रान्जिस्टर रेडियो उत्पादन सुरु गर्यो, जसले जापानलाई इलेक्ट्रोनिक्सको हब बनायो । त्यसपछि १९६० मा टेलिभिजन र घरेलु उपकरणहरू, १९७० मा भिडिओ गेम (चेस), १९८० मा रोबोट (असिमो), १९९० मा मोबाइल फोन, २००० मा स्मार्ट होम, २०२५ मा एआई (एआई) स्वचालित सिस्टमले जापानलाई प्रविधिको शिखरमा पुर्याएको छ । सन् २०२५ मा जापानको ९३ प्रतिशत जनसङ्ख्या इन्टरनेट प्रयोग गर्छ, जसले डिजिटल जीवनशैलीलाई बढावा दिएको छ। जापानको बुढ्यौली जनसङ्ख्या र श्रम अभावले प्रविधिलाई अति आवश्यक बनाएको छ, जसले रोबोट र एआईलाई दैनिक जीवनमा एकीकृत गरेको छ ।
दैनिक जीवनमा प्रविधिको प्रयोग जापानमा सर्वत्र छ । सुरु गरौँ यातायातबाट । जापानको रेल प्रणाली विश्वकै उत्कृष्ट हो, जसमा शिन्कानसेन (बुलेट ट्रेन) ३२० किलोमिटर प्रति घण्टा गतिमा दौड्छ । मेरो यात्रामा मैले हाइपरडिया एप प्रयोग गरेर रुट योजना बनाएँ, जसले समय बचायो । तर, अझ रोचक – मैले ओडावारासम्म यात्रा गर्दा ट्रेनमा चालक थिएनन् । स्टेसनमा स्वचालित रूपमा रोकिन्थ्यो, मानिस चढेपछि ढोका बन्द भएर ट्रेन आफैँ अगाडि बढ्थ्यो । यो देख्दा मलाई लाग्यो, यो त ‘साइन्स फिक्सन’ हो ! जापानमा स्वचालित ट्रेनहरू (जस्तै यामानोटे लाइनका केही भाग) एआईले नियन्त्रण गर्छ, जसले दुर्घटना रोक्छ । टोकियोबाट टाकासाकी जाँदा, एक्जिट मसिनले मेरो पास्मो कार्डबाट स्वचालित रूपमा पैसा काट्यो – जुन स्टपमा झरे पनि हिसाब गर्थ्यो । यो प्रणालीले समय बचाउँछ र धोका दिँदैन । सडकमा स्वचालित कारहरू र इलेक्ट्रिक स्कुटरहरू छन् । तिनले प्रदूषण कम गर्नुका साथै जनशक्ति अभावमा समेत सहजता थप्छन् ।
पसलमा किनमेल गर्दा प्रविधिको प्रयोग चकित पार्ने किसिमको छ । जापानका धेरै पसलहरूमा सेल्फ-चेकआउट सिस्टम छ, जसमा ग्राहकहरूले आफैँ बारकोड स्क्यान गरेर पैसा तिर्छन् । सिन्जुकुको एक सुपरमार्केटमा मैले यो प्रयोग गरेँ – सामान स्क्यान गरेँ, क्यूआर कोडबाट पैसा तिरेँ र बाहिर निस्केँ । कुनै क्याशियरको पर्खाइ हुँदैन । यो देख्दा मलाई लाग्यो, यो त नेपालको किराना पसलको ‘फ्युचर’ संस्करण हो ! सन् २०२५ मा जापानमा ७० प्रतिशत खुद्रा पसलहरूमा सेल्फ-चेकआउट छ, जसले श्रम अभावलाई सम्बोधन गर्छ । अमेजन गो जस्ता स्टोरहरूमा क्याशियर बिना किनमेल हुन्छ – क्यामेरा र सेन्सरले ट्य्राक गर्छन् । सिबुयामा म यस्तै स्टोरमा गएँ, जसमा सामान लिएर बाहिर निस्केँ र पैसा स्वचालित रूपमा काटियो । कमेडी यो थियो – मैले सामान लिएर पैसा नतिरि निस्केजस्तो लाग्यो, तर एपले ‘धन्यवाद’ भनेर मेसेज पठायो ! रुक्मणी श्रेष्ठसँग सिनोकुबोमा नेपाली रेस्टुराँ जाँदा, क्यूआर मेनुबाट अर्डर गरेँ, जसले समय बँचायो ।
पार्किङमा प्रविधिको प्रयोग अझ स्मार्ट छ । जापानमा पार्किङ स्थलमा कसैले रुँगेर बस्नु पर्दैन – सबै मसिनले गर्छ । सडकमा पार्किङ गर्दा सेन्सरले समय गणना गर्छ र पैसा स्वचालित रूपमा काट्छ । टाकासाकीको एक पार्किङमा मित्र बीरबहादुर घलेले कार पार्क गरेपछि मसिनले समय गणना सुरु गर्यो र निकाल्दा क्यूआर कोड स्क्यान गरेर पैसा तिर्नुभयो । जापानमा ८० प्रतिशत पार्किङ सिस्टम स्वचालित छन्, जसले ट्राफिक जाम कम गर्छ । गुनमामा प्रिफेक्चरल भवन अवलोकन गर्न जाँदा पार्किङका कर्मचारीले कार त्यहीँ बाटामै छाड्न भने, त्यसपछि मसिनले उक्त कार कहाँ पुर्यायो, हामीलाई पत्तै भएन । पछि कम्प्युटरमा कार पार्क भएको तल्ला देखायो, मसिनले नै कार सही ठाउँमा ल्याइ दियो ।
घरेलु जीवनमा प्रविधिको भूमिका अझ रमाइलो छ। जापानका घरहरू स्मार्ट छन् – स्मार्ट ट्वाइलेटहरूले पानीको तापक्रम नियन्त्रण गर्छन् । मेरो होटेलमा यो ट्वाइलेट देख्दा मलाई लाग्यो, यो त नेपालको साधारण ट्वाइलेटभन्दा ‘रोबोट’ हो ! रोबोटहरू घरेलु सहायक बनेका छन् – पेपर रोबोटले बच्चाहरूसँग खेल्छन्, रोबोट भ्याकुम क्लिनरले सफाइ गर्छ । जापानमा रोबोटहरू स्वास्थ्य र खुद्रा क्षेत्रमा एकीकृत भएका छन् । स्मार्ट होम सिस्टमले बत्ती, तापक्रम र सुरक्षा नियन्त्रण गर्छन् । क्योटोको एक होटेलमा मैले भ्वाइस कमान्डले बत्ती बन्द गरेँ, जसले मलाई बच्चा बनायो ।
खानेकुरा र किनमेलमा प्रविधिको प्रयोग चकित पार्ने छ । रेस्टुरेन्टमा रोबोटहरूले खाना सर्भ गर्छन् । सिन्जुकुको एक गास्तो रेस्टुरेन्टमा ट्याबबाट अर्डर गरेँ, रोबोटले खाना ल्याइ दियो – तर ‘धन्यवाद’ भनेन ! यो देख्दा मलाई हाँसो उठ्यो – रोबोटलाई टिप्स दिने चलन छैन ! क्यूआर कोडहरूले दैनिक जीवन परिवर्तन गरेका छन् – क्यूआर कोडहरूबाट किनमेल, यातायात, र खाना अर्डर हुन्छ । सडकमा भेन्डिङ मेसिनहरूबाट चिसो कफीदेखि ताजा फलफूल पाइन्छ, जसले २४ घण्टे सुविधा दिन्छन् । टाकासाकीमा बीरबहादुर घले जीसँग मसिनबाट चिसो कफी किनेँ, उहाँले कोक किन्नुभयो ।
स्वास्थ्य र शिक्षामा प्रविधिको प्रयोग गहिरो छ । जापानको बुढ्यौली जनसङ्ख्याले रोबोटहरूको माग बढाएको छ – रोबोटहरू बिरामीको हेरचाह गर्छन्, एआईले चिकित्सा निदान गर्छ । शुष्मा तामाङ दम्पतीको नाबालक छोरा सेइजी घलेलाई जँचाउन जाँदा मैले अस्पतालमा रोबोट सहायक देखेँ, जसले औषधि वितरण गरिरहेको थियो । शिक्षामा भीआर र एआई ट्युटरहरू छन्, जसले विद्यार्थीहरूलाई व्यक्तिगत शिक्षा दिन्छ । टोकियोको एक सङ्ग्रहालयमा भीआर टुर गरे, जसले इतिहास सबै बताइ दियो ।
अहिलेको जापान प्रविधिमय छ। डिजिटल ट्रान्सफर्मेसनले श्रम अभावलाई सम्बोधन गर्छ, एआई तथा रोबोटिक्सले अर्थ व्यवस्था बढाउँछ । क्यूआर कोडहरूले दैनिक कार्यहरू छिटो बनाउँछन् । र, डिजिटल मार्केटिङ नयाँ उचाइमा छ । तर, चुनौतीहरू छन् – साइबर सुरक्षा र गोपनीयता । ९३ प्रतिशत जनसङ्ख्या इन्टरनेट प्रयोग गर्ने हुनाले, साइबर आक्रमणको जोखिम छ । मेरो अनुभवमा, जापानको प्रविधिले जीवन सजिलो बनाउँछ, तर मानवीय अपनत्वले यसलाई विशेष बनाउँछ । यसरी हेर्दा जापानमा प्रविधिको प्रयोग दैनिक जीवनको आधार हो । तर, नेपालमा यस्तो कहिले सम्भव होला ?
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १३:३८
