close

‘डिप-टेक’मा यसरी अग्रसर बन्दैछ जापान

टेकपाना टेकपाना

कात्तिक ११, २०७९ १६:५६

‘डिप-टेक’मा यसरी अग्रसर बन्दैछ जापान

काठमाडौं । कल्पना गर्नुहोस् त यदि तपाईँले सूर्यको प्रकाशबाट मात्र नभएर कोठाभित्रको कृत्रिम प्रकाशबाट समेत ऊर्जा उत्पन्न गर्न सक्ने अति नै पातलो सोलारको पाता आफ्नो झ्यालमा लगाउन सक्नु भयो भने कस्तो होला ?

जापानको स्टार्टअप कम्पनी एनेकोट टेक्नोलोजीे निकै आशाजनक रूपमा हेरिएको सोलार सेलको अर्को पुस्ताको पेरोभस्काइट नामक यो प्रविधि  विकास गर्ने प्रयासमा छ । क्योटोमा रहेको फर्मले यो प्राविधिक उत्पादन तयार भएपछि त्यसले समान आकारको नियमित सोलार प्यानलले जत्तिकै ऊर्जा तयार पार्ने आशा गरेको छ । 

“हामी यसलाई अबको तीनदेखि चार वर्षमा बजारमा ल्याउन सकिने आशामा छौँ,” कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नाओया कोटाले भनेका छन्, “तर यिनिहरूलाई घर बाहिर प्रयोग गर्नका लागि जुनसुकै मौसममा टिक्नसक्ने बनाउनु छ, त्यसैले केही बढी समय लिनेछ ।”

यस किसिमका स्टार्टअपलाई ‘डिप टेक’ भन्ने गरिएको छ । यस्ता साना फर्महरूले ‘हाई-टेक’ इन्जिनियरिङको नवप्रवर्तनलाई वैज्ञानिक खोजसँग गाँसिरहेका छन् । यसले रूपान्तरणकारी उत्पादनको विकास तर्फ डोर्‍याउने आशा गरिएको छ । 

तर यस क्षेत्रमा एउटा सफल उत्पादन सार्वजनिक गर्न समय लाग्ने गरेको छ । जसको प्रतिफल स्वरूप निजी भेन्चर क्यापिटलले यस किसिमका उद्यमशीलतामा लगानी गर्न थप सावधानी अपनाउने गरेका छन् ।

हो, यस्तोमा क्योटो विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले त यो एसियामा अन्य विश्वविद्यालयभन्दा धेरैभन्दा धेरै विश्वप्रसिद्ध नोबल पुरस्कार विजेता उत्पादन गर्ने कार्यका लागि परिचित छ (कूल ११ मा) ।

विश्वविद्यालयले दुई ओटा भेन्चर क्यापिटल फण्डमार्फत विद्यार्थी र अनुसन्धानकर्ताले सुरु गरेका स्टार्टअपमा लगानी समेत गर्दै आएको छ । एनेकोट टेक्नोलोजी त्यसको एउटा लाभग्राही हो, जसले कूल ५० करोड येन (करिब ४५ करोड रुपैयाँ) जुटाएको छ । 

यो लगानी विश्वविद्यालयले आन्टरप्रेनरशिप (उद्यमशीलता) लाई प्रोत्साहन गर्न जापान सरकारबाट सन् २०१४ मा प्राप्त गरेको ३० करोड अमेरिकी डलर मध्येबाट आएको हो । 

"क्योटो विश्वविद्यालय रिजेनेरेटिभ मेडिसिन (पुनर्जीवन सम्बन्धी चिकित्सा), स्टिम सेल साइन्स, स्टिम सेल साइन्स र क्लिन टेक इनर्जी जस्ता एकदमै कठिन विज्ञानका क्षेत्रमा बलियो मानिन्छ," विश्वविद्यालयमा नवप्रवर्तनका लागि समाज-शिक्षा सहकार्य कार्यालयका प्रमुख कोजी मुरोता भन्छन् ।

"तर यी 'डिप-टेक' कम्पनीहरूलाई व्यवसायिकरण गर्न लामो समय र ठूलो रकम आवश्यक पर्दछ ।" मुरोता अगाडि थप्दै भन्छन् कि एउटा मौलिक भेन्चर क्यापिटलको लगानी अवधि सम्भवतः आठदेखि १० वर्षको हुने गर्छ, तर 'डिप-टेक'का लागि त्यो पर्याप्त लामो अवधि होइन, त्यसैले विश्वविद्यालयको स्किमले २० वर्षसम्मको सहायता उपलब्ध गराउँछ ।

क्योटो विश्वविद्यालयले सात वर्ष अघि आफ्नो नवप्रवर्तन विभाग र लगानी कोष सुरु गरेदेखि यसका विद्यार्थीहरूले सिर्जना गरेका स्टार्टअपको सङ्ख्या दोब्बरभन्दा बढीले वृद्धि भएर २४२ पुगेको छ । 

यसरी जापान सरकारबाट समान किसिमको लगानी कोष  प्राप्त गर्ने दोस्रो एकमात्र विश्वविद्यालय टोकियो युनिभर्सिटी हो । तर क्योटो विश्वविद्यालयको वृद्धिदर भने निकै उच्च छ ।

विश्वविद्यालयले आन्टरप्रेनरलाई सहायता उपलब्ध गराउन थाल्नुभन्दा अघि देखि नै क्योटो सहर स्टार्टअप तयार पार्ने कार्यका लागि परिचित थियो । जसमा निन्टेन्डो समेत पर्छ ।

यद्यपि अहिले आएर त्यो कम्प्युटर गेमको दिग्गज कम्पनी बनेको भए पनि सन् १९८९ मा जब यो सार्वजनिक भयो, उसले तासहरू बनाउने काम गर्दथ्यो । क्योटोमा जन्मिएको अर्को सफल प्रविधिको दिग्गज कम्पनी हो, क्योसेरा, काजुओ इनामोरीले सन् १९५९ मा स्थापना गरेको यो कम्पनी जापानको प्रख्यात नेतृत्वदायी व्यवसायमा पर्दछ ।

यो सहरको पछिल्लो सफल व्यवसायिक कथा भनेको माइक्रोचिप उत्पादक तथा 'डिप-टेक' पच्छ्याइरहेको स्टार्टअप हो फ्लस्फिया ।​ विश्वविद्यालयबाटै सहायता प्राप्त यो स्टार्टअपले विशेषगरी ऊर्जा किफायती कार्यमा प्रयोग हुने सेमिकन्डक्टर बनाउँछ ।

जसले विद्युतीय कार जस्ता उत्पादनको आयु लम्ब्याउने कार्य गर्दछ । "क्योटोको मौलिकता भनेकै सानो भए पनि विविधतायुक्त बन्नु हो," क्योटो विश्वविद्यालयबाट ग्राजुएट तथा फ्लस्फियाका प्रमुख तोशिमि हितोरा भन्छन् ।

"यसको मुटुमा विश्वविद्यालय छ र सानो समुदायमा रहेका थुप्रै अनुसन्धानकर्ताहरू लगायत व्यवसाय सुरु गर्न चाहने जो कसैले आवश्यक सूचना प्राप्त गर्न सक्नुहुन्छ ।"

"तर क्योटोमा रहेका सबै कम्पनीका संस्थापकहरूले समेत भन्छन् कि टोकियोमा अवस्थित कम्पनी भन्दा विपरीत, यहाँ [क्योटोमा] उनीहरूसँग पर्याप्त ग्राहक छैनन्, त्यसैले उनीहरूले सुरुवाती समयदेखि नै विश्वव्यापी रूपमा नै सोच्नुपर्ने हुन्छ ।"

हितोरा अगाडि थप्छन्, "हामीले फ्लस्फिया सुरु गरेको १० वर्षभन्दा बढी भइसकेको छ किन भने 'डिप-टेक'ले समय लिन्छ र मलाई लाग्छ कि यो कुरा क्योटोका मानिसहरूले पनि बुझेका छन् ।"

लगभग ३० वर्ष अघि जापान सेमेकन्डक्टर उद्योगमा अग्रणी थियो, तर आजको समयमा ऊसँग १० प्रतिशतभन्दा थोरै मात्र बजार हिस्सा बाँकी छ । फ्लस्फियालाई सेमिकन्डक्टर उद्योगको उच्च प्रतिस्पर्धी विश्वबजारमा दक्षिण कोरियाको सामसङ र ताइवानको टीएसएमसीले जस्तै उल्लेखनीय उपस्थिति जनाउन  चुनौतिपूर्ण हुनेछ ।

यस्तोमा चीन र अमेरिकाले समेत यो बजारमा आफ्नो पाइला गाड्ने प्रयास गरिरहेका छन् । अमेरिकामा घरेलु चिप उत्पादन र अनुसन्धानका लागि सहायता प्याकेजको रूपमा हाउस अफ रिप्रेजेन्टेटिभको सहयोगमा ह्वाइट हाउसले गत जुलाइमै २८० अर्ब अमेरिकी डलरको प्रतिवद्धता सहितको ऐन पारित गरिसकेको छ ।

यसबाट आपूर्तिका लागि अन्य राष्ट्रहरूमाथिको निर्भरता कम हुने अमेरिकी चाहना छ । तर फ्लस्फिया समेतका जापानिज उत्पादकहरू आफैमा सशक्त रहेको हितोराको विश्वास छ ।

"आधारभूत अनुसन्धान गर्ने कार्यमा जापान राम्रो छ र नयाँ सरसामग्रीको साथमा काम गरिरहेका छौँ । त्यसैले हामीसँग ठूलो सम्भावना छ भन्ने लाग्छ," उनी भन्छन् ।

उनी अगाडि थप्छन् कि फ्लस्फियाले हालै अधिकांश ताइवानका मुख्य चिप उत्पादकहरूसँग गठबन्धन कायम गरेको छ । "विश्वव्यापी रूपमा सेमिकन्डक्टरको आवश्यकता पर्छ, त्यसैले केही सरकारले आफ्नो घरेलु बजारको आपूर्ति सुनिश्चित गर्न हस्तक्षेप गरिरहेका हुन सक्छन् । तर सेमिकन्डक्टर उत्पादन गर्न निकै लामो समय लाग्ने गर्दछ," हितोरा भन्छन् ।

"ठूलो सङ्ख्यामा त्यसको उत्पादन गर्न हामीलाई थुप्रै सरोकारवालाहरू र विभिन्न देशमा अनेकौँ व्यवसायहरू आवश्यक पर्दछन् । त्यसैले मलाई लाग्छ कि अन्य कम्पनीहरूसँगको गठबन्धन महत्त्वपूर्ण छ ।"

जसै जापानले सेमिकन्डक्टर क्षेत्रमा आफ्नो पकड बनाउने भूमिका खेलिरहेको छ,  फ्लस्फिया जस्ता फर्महरूसँगको क्योटो विश्वविद्यालयको धैर्यतापूर्वकको लामो संघर्षले देशको सफलता प्राप्त गर्ने आशा बढाएको छ । - बीबीसीबाट

 

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०७९ १६:५६