भारतीय फुटबल टिमको कोचमा जाभीको नामबाट १ विद्यार्थीले पठाए नक्कली ईमेल, महासंघले पत्यायो
साउन १२, २०८२ २१:१८
काठमाडौँ । एक १९ वर्षीय विद्यार्थीले अनलाइनबाटै अखिल भारतीय फुटबल महासंघ (AIFF) लाई झुक्याएका छन् । बार्सिलोनाका पूर्व खेलाडी लेजेन्ड जाभी हर्नान्डेजको नाममा भारतीय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पदका लागि नक्कली आवेदन दिएर प्रयाङ्क गरेका हुन् ।
सामाजिक सञ्जालबाट सुरु भएको यो सानो ठट्टा अन्तर्राष्ट्रिय फुटबल समाचार र मिमको विषय बनेको छ । एउटा नक्कली ईमेल छुट्याउन नसक्दा महासंघ नै अप्ठ्यारोमा परेको छ । महासंघले आफ्नो इन्स्टाग्राममा ४ जुलाईमा ‘हामीलाई कर्मचारी चाहियो ! सिनियर पुरुष राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक’ भन्दै विज्ञापन पोस्ट गरेको थियो ।
केही दिनअघि एक राष्ट्रिय दैनिकले भारतीय फुटबल टोलीका निर्देशक तथा पूर्व गोलकिपर सुब्रत पलको भनाइ उद्धृत गर्दै जाभी हर्नान्डेजले आवेदन दिएको र उनले निकै चासो देखाएको समाचार प्रकाशित गर्यो । पललाई उद्धृत गर्दै भनिएको थियो, “जाभीको नाम त्यहाँ भएको सत्य हो । आवेदन महासंघलाई इमेल गरिएको थियो ।” सोही समाचारमा महासंघको प्राविधिक समितिले ‘उच्च आर्थिक लागतका कारण जाभीलाई अन्तिम सूचीमा नराखेको’ पनि उल्लेख थियो ।
यो खबर बाहिरिएपछि फुटबल जगतमा हलचल मच्चियो । प्रसिद्ध इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोले लेखे, “जाभीले भारतीय राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए । तर महासंघले आर्थिक सर्तहरू पूरा गर्न नसक्ने भएकाले यो अवसर गुमायो ।” यसपछि इन्टरनेटमा मिमको बाढी नै आयो ।
तर अहिले भीआईटी वेल्लोरमा अध्ययनरत १९ वर्षीय विद्यार्थीले यो सबै आफूले गरेको प्र्याङ्क भएको दाबी गरेका छन् । उनले ‘टेलिग्राफ अनलाइन’लाई बताएअनुसार उनले सबैभन्दा पहिले ‘[email protected]’ नामक नक्कली इमेल आईडी बनाएका थिए । त्यसपछि च्याटजीपीटीलाई ‘जाभी हर्नान्डेजले भारतीय फुटबल टोलीलाई प्रशिक्षण दिन चाहेको व्यहोराको इमेल लेख’ भनेर प्रम्प्ट दिए ।
It wasn’t Xavi who applied to coach India. It was a 19-year-old who used a fake email ID. I spoke to him and he showed me a screen recording from his Sent folder. Yes, this might’ve been the email AIFF thought came from Xavi.
— Naman Suri (@Namansuri03) July 25, 2025
Indian football deserves better.#IndianFootball #Xavi pic.twitter.com/MVJu6w4l1L
उनले च्याटजीपीटीले दिएको जवाफलाई कपि-पेस्ट गरेर ४ र ५ जुलाईमा दुई पटक महासंघलाई ईमेल पठाएको बताए । “मैले च्याटजीपीटीको जवाफ कपि-पेस्ट गरेर मेल पठाएँ । मैले कुनै सीभी वा अन्य कागजात पठाएको थिइनँ तर मलाई लाग्छ उनीहरूले इमेल हेरे,” ति विद्यार्थीले भने ।
अन्ततः महासंघले आवेदनको सत्यता पुष्टि गर्न नसकेको स्वीकार गर्यो । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले भन्यो, “महासंघले स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओला र जाभी हर्नान्डेजको आवेदनसहितको इमेल प्राप्त गरेको थियो । आवेदनको सत्यता पुष्टि गर्न सकिएन र पछि यी इमेल वास्तविक नभएको पत्ता लागेको छ ।” वेल्लोरका विद्यार्थीले भने आफूले ग्वार्डिओलाको नाममा इमेल नपठाएको बताएका छन् ।
हाल फिफाको विश्व वरीयतामा १३३ औं स्थानमा रहेको भारतीय फुटबल टोली २ जुलाईदेखि प्रशिक्षकविहीन छ ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ २१:१८
