काठमाडौँ । एसईईको नतिजा आएको पनि एक महिना पुग्नै लागिसकेको छ । अहिले क्याम्पसहरूमा धमाधम भर्ना अभियान चलिरहेको छ । कतिपय कलेजमा त कक्षा ११ को पढाइ पनि सुरु भइसक्यो । पहिले नै यो विषय पढ्छु भनेर सोचिसकेका विद्यार्थीहरू भर्ना भइरहेका छन् । तर तपाईँ सीटीईभीटी वा प्लस टुमध्ये कुन कोर्स अध्ययन गर्ने भनेर सोच्दै हुनुहुन्छ भने तपाईँको लागि यो सामग्री उपयुक्त हुन सक्छ:
नेपालमा एसईईपछि सामान्य र प्राविधिक गरी दुई धारका विषयमा अध्ययन गर्ने विकल्प छन् । जसमा राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत प्लस टुमा कक्षा ११ र १२ पढ्न सकिन्छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट प्रि-डिप्लोमा तथा डिप्लोमासम्मको पढाइ गर्न पाइन्छ ।
बोर्डले एसईईसँगै कक्षा ११ र १२ को परीक्षा लिँदै आएको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम अनुसार निजी तथा सामुदायिक स्कुल तथा कलेजमा प्लस टुको पढाइ हुन्छ । एसईई र +२ पछिको प्रमाणपत्र बोर्डले नै उपलब्ध गराउँछ ।
अर्कोतर्फ राष्ट्रलाई आवश्यक पर्ने प्राविधिक तथा सीपयुक्त जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले एसईई पास गरेका विद्यार्थीहरूलाई प्रि-डिप्लोमा, डिप्लोमा र छोटो अवधिका विभिन्न कोर्सहरू पढाउँछ ।
प्लस टुमा पढाई हुने विषयहरू
बोर्डले कक्षा ११ र १२ मा साधारण, परम्परागत, प्राविधिक तथा व्यावसायिक गरेर तीन किसिमका कोर्सहरू उपलब्ध गराउँछ । सामान्य तर्फ विज्ञान, व्यवस्थापन, कानुन, मानवशास्त्र संकाय अन्तर्गतका विभिन्न विषयहरू छानेर पढ्न सकिन्छ । जहाँ विद्यार्थीलाई अङ्ग्रेजी, नेपाली, सामाजिक/गणित अनिवार्य गरिएको छ ।
परम्परागत तर्फ संस्कृत र बौद्ध शिक्षा पढ्न पाइन्छ भने प्राविधिक तथा व्यावसायिक तर्फ पशु विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ वा प्लान्ट साइन्स पढ्न सकिन्छ । यदि प्लस टुका सम्पूर्ण कोर्सको बारेमा थप जान्न चाहनुहुन्छ भने पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा गएर वा सिधै यहाँ क्लिक गर्न सक्नु हुनेछ ।
सीटीईभीटीमा पढाइ हुने कोर्सहरू
सीटीईभीटीमा प्राविधिक र स्वास्थ्य सम्बन्धी तीन तहमा अध्यापन गराइन्छ । जसमा छोटो अवधि, प्रि-डिप्लोमा र डिप्लोमा गरेर तीन तहका कक्षा सञ्चालन गरिन्छ ।
शर्ट टर्म तालिम: यो निश्चित अवधिका लागि व्यक्तिलाई सीपयुक्त बनाउन दिइने तालिम हो । यो तालिम सामान्य लेखपढ गर्न जान्ने व्यक्तिहरूले पनि लिन सक्छन् । यस कोर्सलाई सीटीईभीटीका शैक्षिक निकाय तथा सीटीईभीटीबाट अनुमति प्राप्त तालिम केन्द्रबाट लिन सकिन्छ । हाल सीटीईभीटीले २८० ओटा ‘शर्ट टर्म’ तालिम उपलब्ध गराउँदै आएको छ । यस अन्तर्गतका तालिम बारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।
प्रि-डिप्लोमाः प्रि-डिप्लोमा कोर्स कक्षा १० सम्म पढेका तर एसईईमा उत्तीर्ण नभएका विद्यार्थीका लागि उपलब्ध गराइन्छ । यी कक्षाहरू अधिकांश १८ महिनाका हुन्छन् । जहाँ ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक कुराहरू सिकाइन्छ । प्रि-डिप्लोमा अन्तर्गत कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ, होटेल म्यानेजमेन्ट लगायतका कार्यक्रमहरू रहेका छन् । सीटीईभीटीको प्रि-डिप्लोमा कोर्सको बारेमा पूरा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । सीटीईभीटीको प्रि-डिप्लोमा कोर्सको मान्यता एसईई बराबरको हुने गरेको छ । प्रि-डिप्लोमा पास भएका विद्यार्थी नेपाल सरकारको प्राविधिक तर्फको खरिदार जागिरका लागि योग्य बन्छन् । उनीहरूले डिप्लोमा वा +२ बाट थप अध्ययन गर्न सक्छन् ।
डिप्लोमा: डिप्लोमा कोर्स अन्तर्गत सीटीईभीटीले कृषि (पशु विज्ञान, वनस्पति विज्ञान), वन, इन्जिनियरिङ, हस्पिटालिटी र व्यवस्थापन/मानविकी अन्तर्गत रहेर विभिन्न कोर्सहरू अध्यापन गराउँछ । प्रायजसो यी कोर्सहरू तीन वर्षे छन् । सीटीईभीटीमा डिप्लोमा पूरा गर्नु भनेको +२ सरहको मान्यता प्राप्त गर्नु हो । डिप्लोमा अन्तर्गत कस्ता कस्ता कोर्सहरू छन्, बुझ्न यहाँ क्लिक गर्न सक्नु हुनेछ ।
कहाँ पढाइ हुन्छ ?
कक्षा ११ र १२ को पढाइ हुने कलेजहरू राष्ट्रिय परीक्षा बोर्ड मातहतमा रहेर सञ्चालन हुने गरेका छन् । जहाँ कलेज आफैँले कुन कक्षामा कति विद्यार्थी कोटा राख्ने भनेर निर्धारण गर्छन् । यस्तै शुल्क कति लिने भनेर पनि शैक्षिक संस्थाकै निर्णय हुन्छ । छात्रवृत्ति भने ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५’ अनुसार उपलब्ध हुन्छ । उक्त ऐनमा निजी तथा शैक्षिक गुठीबाट सञ्चालित शैक्षिक संस्थाले कक्षा १२ सम्म विद्यार्थी सङ्ख्याको आधारमा १० देखि १५ प्रतिशत कोटा छात्रवृत्तिका लागि छुट्याउनु पर्ने व्यवस्था छ ।
यता सीटीईभीटीका आफ्नै आङ्गिक क्याम्पस ६७ ओटा छन् । यस्तै साझेदारी शिक्षालय भनेर सीटीईभीटीले गैरनाफामुखी शैक्षिक संस्था तथा स्थानीय तहसँग मिलेर समेत आफ्ना कक्षाहरू सञ्चालन गर्छ । यस्तै सामुदायिक शैक्षिक संस्था र निजी शैक्षिक संस्थाहरूमा पनि सीटीईभीटीका कक्षा सञ्चालन हुन्छन् । यी शैक्षिक संस्थाका लागि विषयअनुसार कोटा छुट्याउने काम पनि सीटीईभीटीले नै गर्छ ।
त्यस बाहेक शैक्षिक संस्थाले लिनुपर्ने शुल्क पनि सीटीईभीटीले नै तोक्ने गरेको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारी बताउँछन् । उनले भने, “सीटीईभीटीका आङ्गिक क्याम्पसमा सबैभन्दा सस्तो शुल्क पर्छ । साझेदारी शिक्षालय अलि महँगो र निजी क्याम्पसहरू सबैभन्दा बढी महँगा हुन्छन् ।” तर अधिकतम शुल्कको सिमाना सीटीईभीटीले नै निर्धारण गर्छ । यी कक्षाहरू लिँदा विद्यार्थीले पहिलो वर्ष शुल्कको ४०%, दोस्रो र तेस्रो वर्ष ३०/३०% तिर्छन् ।
कति विद्यार्थी पढ्छन् ?
गत जेठमा भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार विद्यार्थीहरूले परीक्षा दिएका छन् । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिकतर्फ एक लाख १५ हजार ६१७ विद्यार्थी थिए । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार हरेक वर्ष बोर्डमा चार लाख जति नियमित अध्ययन गर्ने विद्यार्थी र एक लाख पुनः परीक्षा दिने विद्यार्थी हुन्छन् ।
यता सीटीईभीटीमा भने निश्चित कोटा निर्धारण गरिएको हुन्छ । गत वर्ष डिप्लोमा अन्तर्गत ५३ हजार ७५९ कोटा निर्धारण गरिएकोमा २५ हजार २४९ विद्यार्थी भर्ना भएका थिए । यस्तै प्रि-डिप्लोमा अन्तर्गत २४ हजार ५९३ कोटामा ७ हजार ३०० जना विद्यार्थीले भर्ना लिएका थिए ।
पाठ्यक्रम परिमार्जन
+२ मा हाल अध्यापन भइरहेका पाठ्यक्रमहरू विसं २०७६ मा तयार पारिएका हुन् । तर त्यसको कार्यान्वयन भने विषयअनुसार फरक फरक वर्षमा भएको अध्यक्ष शर्माले बताए । अब पुनः पाठ्यक्रम परिमार्जनको काम थाल्ने बेला आएको सुनाउँदै उनले भने, “अब स्थानीय तहहरूबाट नै पाठ्यक्रमको सुझाव सङ्कलन गर्ने बेला भएको छ ।”
यता सीटीईभीटीले पाँच वर्षमा कम्तीमा एक पटक वा समयअनुसार सोभन्दा धेरै पटक समेत पाठ्यक्रम परिमार्जन गर्दै आएको अधिकारीले बताए ।
तीन हजार ८५५ कोटामा सीटीईभीटीमा छात्रवृत्ति
यस शैक्षिक सत्रका लागि सीटीईभीटीले नि:शुल्क अध्यापन गराउने एवं अध्ययनदेखि पोसाक, यातायात खर्च र मासिक भत्ता समेत दिने विशेष किसिमको छात्रवृत्ति गरेर दुई किसिमको छात्रवृत्तिमा आवेदन खुलाएको छ । पहिलो किसिमको छात्रवृत्ति अन्तर्गत सीटीईभीटीले डिप्लोमामा २ हजार १६५ र प्रि-डिप्लोमा अन्तर्गत एक हजार २१५ कोटामा गरेर तीन हजार ३७५ कोटामा छात्रवृत्ति खुलाएको थियो । यसको लागि आवेदनको मिति २० साउनसम्म छ ।
यस्तै दोस्रो किसिमको छात्रवृत्ति अन्तर्गत कुल ४८० कोटामा सीटीईभीटीले आवेदन खुलाएको छ । सरकारको पछिल्लो बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ ओटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राहरूबाट १२० कोटा सङ्ख्यामा निःशुल्क छात्रवृत्ति खुलाएको हो । जसअन्तर्गत प्रि-डिप्लोमा तहमा १४ र डिप्लोमा/प्रमाणपत्र तहका विभिन्न कार्यक्रमहरूमा १०६ कोटा तोकिएको छ । यस्तै दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्राहरूबाट डिप्लोमा तहमा ३२४ र प्रि-डिप्लोमा तहमा ३६ जना गरी ३६० ओटा कोटामा छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
विशेष छात्रवृत्तिको लागि ११ साउनदेखि २९ साउनसम्म सीटीईभीटीको वेबसाइटमार्फत अनलाइन आवेदन दिने मिति तोकिएको छ । यस किसिमको आवेदन दिँदा कुनैपनि शुल्क लाग्दैन । यस किसिमको छात्रवृत्तिमा छनोट भएका व्यक्तिहरूले निर्वाह भत्ता वापत मासिक ३ हजार ५०० रुपैयाँ, यातायात खर्च बापत प्रति वर्ष १५ सय रुपैयाँ र पोसाक खर्च बापत हरेक वर्ष दुई हजार ५०० रुपैयाँ तथा प्रशिक्षण अवधिभर निःशुल्क छात्रावासको सुविधा पनि पाउँछन् । यस वर्षदेखि सीटीईभीटीले छात्रवृत्तिको लागि छुट्टै प्रवेश परीक्षा नलिइ एसईईको ग्रेड अनुसार विद्यार्थी छनोट गर्दैछ ।
सीटीईभीटी पढ्ने कि प्लस-टु ?
विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय पढ्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । उनी भन्छन्, “पहिला जस्तो राम्रो जीपीए आउँदैमा साइन्स र इन्जिनियरिङ पढ्नुपर्छ भन्ने समय अहिले छैन । इन्फरमेसन टेक्नोलोजी (आईटी) र कानुन विषयमा पनि राम्रो भविष्य छ ।” आफूले के पढ्ने भनेर ठुलाबडा र परिवारसँग सल्लाह लिनुपर्ने, तर निर्णय भने आफ्नो रुचि अनुसारको हुनुपर्ने उनको सुझाव छ ।
१० कक्षासम्म सबै विद्यार्थीले लगभग उस्तै विषय पढ्नुपर्छ । ११ कक्षाबाट आफ्नो करिअर कता लैजाने भनेर रोज्नुपर्छ । पहिल्यै यो विषय पढ्छु भनेर सोचेमा रहेका विद्यार्थीले सोही विषय रोज्न वा आफ्नो एसईईमा जुन विषयमा राम्रो नतिजा आएको छ, त्यही विषयसँग मिल्दो विषयलाई छनोट गर्न उनी सुझाव दिन्छन् ।
उनका अनुसार लामो समयसम्म पढ्ने र मास्टर्स र पीएचडी गर्ने हो भने कक्षा ११ र १२ पढ्नु उपयुक्त हुन्छ । “एकेडेमिक क्षेत्रमा राम्रो गर्छु भन्ने सोच छ भने +२ पढ्नुहोस् ।” तर +२ पढ्ने बित्तिकै कामको अवसर त्यति धेरै हुँदैन । त्यसैले छिट्टै जागिर खानु पर्ने भएमा प्राविधिक धारका विषय रोज्न सकिने उनी बताउँछन् ।
कसैको परिवार र समाज प्रतिको जिम्मेवारीका कारण छिट्टै कमाउनु पर्ने पनि हुन सक्छ । त्यस्तो बेलामा सीटीईभीटीबाट डिप्लोमा पूरा गरेर काम गर्दै थप अध्ययनलाई अघि बढाउन सकिने उनले सुझाए । उनले भने, “टेक्निकल विषय सिकेर छिट्टै जागिर खान्छु वा व्यवसाय गर्छु भन्ने हो भने डिप्लोमा गर्दा ठीक हुन्छ । विस्तारै एकेडेमिक क्षेत्रमा आउन सकिन्छ ।”
आम्दानीलाई प्राथमिकतामा राखेर पछि बाँकी अध्ययनलाई निरन्तरता दिने हो भने सीटीभीटीबाट आफूले चाहेको विषयमा डिप्लोमा गरेर स्नातक गर्न सकिने सूचना अधिकारी एकराज अधिकारी पनि सहमत छन् । उनले भने, “विद्यार्थीहरूले नबुझेर सीटीईभीटीमा डिप्लोमा सँगै +२ पनि पढिरहनु भएको हुन्छ । तर डिप्लोमा पनि +२ सरहकै विषय हो । डिप्लोमाको सर्टिफिकेट लिएर त्यही विषयमा ब्याचलर गर्न सकिन्छ ।” यस्तै, अन्तर्राष्ट्रिय बजारमा पनि प्राविधिक ज्ञानको खोजी भइरहेकाले यी ज्ञान सिक्नुपर्ने उनको धारणा छ ।
दुबै तिर भएका आईटी विषय मध्ये कुन रोज्ने ?
पशु विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ लगायतका विषय भने सीटीईभीटी र एनईबी दुवैतर्फ पढाइन्छन् । यद्यपि सीटीईभीटीमा बढी प्रयोगात्मक कक्षा हुन्छन् ।
यस्ता विषय कहाँ पढ्ने भनेर छनोट गर्दा विद्यार्थीले आफ्नो रुचि अनुसार निर्णय लिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको सुझाव छ । प्राविधिक क्षेत्रमा नै सधैँ काम गर्छु भन्ने लाग्छ भने प्रयोगात्मक ज्ञानसहितको तीन वर्षे डिप्लोमा सकेर पछि स्नातक गर्नु ठिक हुने उनले बताए ।
तर विद्यार्थीले भविष्यमा के बन्ने भनेर तत्काल निर्णय गर्न नसक्ने भएमा +२ मा यी विषय पढ्न उपयुक्त हुने उनले बताए । उनले भने, “हुन त यी कक्षा ९ देखि नै पढाइने विषय हुन् । त्यसैले +२ मा दुई वर्षमात्र पढ्नु पर्छ ।” त्यसैले भविष्यमा अरू विषयमा स्नातक पढ्ने विकल्प राख्न चाहेमा दुई वर्षमा नै पूरा हुने भएकाले +२ का विषय रोज्दा सहज हुने उनले सुनाए ।
पढाइ र सीपलाई सँगसँगै अघि बढाउनु उत्तम
अहिले ‘यो विषय पढ’ भन्ने भन्दा पनि विद्यार्थीले आफूले मन लागेको विषय रोज्ने समय रहेको शिक्षाविद् डा विद्यानाथ कोइराला बताउँछन् । प्राविधिक शिक्षा पढ्दा रोजगारी पाउने दृष्टिकोण रहेको बताउँदै उनले भने, “प्राविधिक शिक्षा पढ्ने बित्तिकै रोजगारी पाउछु भन्ने शत प्रतिशत ग्यारेन्टी पनि छैन । पढ्न नसकेर विद्यार्थीले छाडेको अवस्था पनि छ ।”
पढ्ने र सीप सिक्ने कुरा एकअर्कासँग फरक नभएको डा कोइरालाको तर्क छ । विद्यार्थीले जुन सुकै विषय पढे पनि आफूलाई आत्मनिर्भर बन्न सक्ने सीप भने हुनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, “सीप लिने धेरै तरिका छन् । छोटो अवधिको तालिम लिन सकिन्छ, मोबाइलमा युट्युब, फेसबुक जस्ता प्लेटफर्मबाट सिक्न सकिन्छ ।”
अध्ययनसँगै इन्टर्नशिप गरेर पनि सीप सिक्न विद्यार्थीहरूलाई उनको सुझाव छ । सीप भएका मानिसहरूको सूची बनाएर विद्यालयमा बोलाउने र उनीहरूबाट पनि सीप सिकाउन सकिने उनले सुझाए ।
उनले टपरी बनाउने सीपको उदाहरण दिँदै सीपमा पनि पढाइ जोडिने बताए । कोइरालाले भने, “टपरी बनाउँदा वरिपरिको घेराको डायमिटर कति छ, त्यसको उचाइ कति अग्लो छ, टपरीलाई कति डिग्रीमा ढल्काइएको छ, जस्ता कुराहरू विचार गर्दा गणित पढिरहेका हुन्छन् । टपरीमा सिन्का कति इन्चको लाग्छ वा सिन्का किन भाँचिन्छ भन्ने जस्ता प्रश्नहरूको जवाफ विज्ञानले दिन्छ ।”
त्यसैले विद्यार्थीलाई एउटै कुरालाई फरक फरक दृष्टिकोणबाट सिक्ने कला सिकाउँदै पढाइ र सीप सिकाइ सँगसँगै लैजान प्रेरित गर्नुपर्ने उनले बताए ।
प्लस टु भर्सेस सीटीईभीटी
|
सन्दर्भ |
प्लस टु |
सीटीईभीटी |
|
मूल निकाय |
राष्ट्रिय परीक्षा बोर्ड |
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् |
|
कोर्स |
कक्षा ११ र १२ |
शर्ट टर्म तालिम, प्रि-डिप्लोमा र डिप्लोमा |
|
पढाइ हुने विषय |
विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, आईटी, संस्कृत आदि |
कृषि, इन्जिनियरिङ, स्वास्थ्य, होटल म्यानेजमेन्ट आदि |
|
पाठ्यक्रमको ढाँचा |
सैद्धान्तिक धेरै, प्रयोगात्मक थोरै |
प्रयोगात्मक धेरै, सैद्धान्तिक कम |
|
कोर्स अवधि |
२ वर्ष |
डिप्लोमा: ३ वर्ष प्रि-डिप्लोमा: १८ महिना शर्ट टर्म: ३ देखि १२ महिना |
|
जागिरको सम्भावना |
तत्कालैभन्दा पनि जागिरका लागि स्नातकसम्म कुर्नुपर्ने |
प्राविधिक सीप, तत्काल रोजगारीको सम्भावना बढी |
|
शैक्षिक निरन्तरताको सम्भावना |
स्नातक, मास्टर्स, पीएचडी आदि |
डिप्लोमापछि डिप्लोमा गरेको विषयमा स्नातकमा सिधा भर्ना |
|
छात्रवृत्ति सुविधा |
विद्यार्थी सङ्ख्या अनुसार १० देखि १५ प्रतिशतसम्म |
विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत |
|
कलेज तथा स्कुल |
सरकारी, सामुदायिक र निजी कलेज तथा स्कुलमा |
६७ आङ्गिक क्याम्पस, साझेदारी र निजी शिक्षालयहरू |
|
शुल्क संरचना |
कलेज अनुसार फरक |
सीटीईभीटीले निर्धारण गरे अनुरूप |
|
वार्षिक विद्यार्थी सङ्ख्या |
चार लाख आसपास |
३० हजार बढी |
|
पाठ्यक्रम परिमार्जन |
हालको पाठ्यक्रम २०७६ मा बनाइएको |
५/५ वर्षमा वा आवश्यकता अनुसार परिमार्जन गरिने |
|
कसको लागि उपयुक्त ? |
उच्च शिक्षा चाहने, अनुसन्धान वा शैक्षिक क्षेत्र रोज्ने विद्यार्थीका लागि उपयुक्त |
छिटो रोजगार वा व्यवसाय गर्न चाहने, सीप विकास र प्रविधिमा रुचि भएको विद्यार्थीका लागि उपयुक्त |
पछिल्लो अध्यावधिक: साउन १३, २०८२ १६:५८
