close

अध्ययन-अनुसन्धानमा सहयोगी गुगलको एआई टुल नोटबुकएलएममा थपियो भिडिओ ओभरभ्यु, अब बुझ्न झनै सजिलो

टेकपाना टेकपाना

साउन १४, २०८२ १७:१३

अध्ययन-अनुसन्धानमा सहयोगी गुगलको एआई टुल नोटबुकएलएममा थपियो भिडिओ ओभरभ्यु, अब बुझ्न झनै सजिलो

काठमाडौँ । गुगलले आफ्नो एआई-आधारित नोट र रिसर्च असिस्टेन्ट प्लेटफर्म नोटबुकएलएममा 'भिडिओ ओभरभ्यु' नामक नयाँ फिचर ल्याउने घोषणा गरेको छ । प्रयोगकर्ताहरूलाई जटिल मल्टिमिडिया सामग्रीहरू जस्तै नोट, पीडीएफ र तस्विरहरूलाई सजिलै बुझ्न सकिने भिजुअल प्रस्तुतीकरणमा बदल्न सघाउन यो फिचर ल्याइएको हो ।

गत मे महिनामा गुगल आई/ओ मा भिडिओ ओभरभ्यु फिचरलाई पहिलो पटक प्रस्तुत गरिएको थियो । यसले प्रयोगकर्ताहरूलाई कन्टेन्ट बुझ्नका लागि अडिओ ओभरभ्युको भिजुअल विकल्पको रूपमा काम गर्नेछ ।

यसअघि अडियो ओभरभ्युले डकुमेन्टहरूबाट पोडकास्ट तयार पारेर अडियोमा आधारित सहायता प्रदान गर्दै आएको थियो । भिडिओ ओभरभ्युले नयाँ भिजुअल सिर्जना गर्छ र अपलोड गरिएका डकुमेन्टहरूबाट तस्विर, रेखाचित्र, उद्धरण र अङ्क प्रयोग गरी कन्टेन्टको व्याख्या गर्छ ।

गुगलका अनुसार यो फिचर डेटाको व्याख्या गर्न, प्रक्रियाहरूको देखाउन र अमूर्त अवधारणाहरू बुझाउनका लागि उपयोगी हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो भिडिओ ओभरभ्युलाई कस्टमाइज गर्न पनि सक्नेछन् । प्रयोगकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने विषय निर्धारण गर्न, आफ्नो सिकाइको लक्ष्य तय गर्न र टार्गेट अडियन्स (लक्षित दर्शक) निर्दिष्ट गर्न सक्छन् ।

उदाहरणका लागि, "मलाई यस विषयमा केही पनि थाहा छैन; मलाई कागजातका रेखाचित्रहरू बुझ्न मद्दत गर्नुहोस्," वा "म पहिले देखि नै X मा जानकार छु र मेरो टोली Y मा काम गर्छ; Z मा ध्यान केन्द्रित गर्नुहोस्," जस्ता प्रश्नहरू सोध्न सकिन्छ ।

गुगलले नोटबुकएलएमको स्टुडियो प्यानलमा पनि अपडेटको घोषणा गरेको छ । यससँगै प्रयोगकर्ताहरूले अब एउटै नोटबुकमा एउटै प्रकारका धेरै स्टुडियो आउटपुट तयार पार्न र स्टोर गर्न सक्नेछन् ।

स्टुडियो प्यानलको माथि अब चार ओटा टाइलहरू देखिनेछन्, जसले अडियो ओभरभ्यु, भिओयो ओभरभ्यु, माइन्ड म्याप र रिपोर्ट एकै क्लिकमा सिर्जना गर्न मद्दत गर्नेछ ।

यसका अतिरिक्त प्रयोगकर्ताहरूले अब स्टुडियो प्यानल भित्र मल्टिटास्क पनि गर्न सक्छन् । उदाहरणका लागि तपाईँले अडियो ओभरभ्यु सुन्दै माइन्ड म्याप अन्वेषण गर्न वा स्टडी गाइड रिभ्यु गर्न सक्नु हुनेछ ।

भिडिओ ओभरभ्यु सबै अङ्ग्रेजी बोल्ने प्रयोगकर्ताहरूका लागि रोलआउट भइरहेको छ । गुगलले चाँडै नै थप भाषाहरूका लागि पनि सपोर्ट उपलब्ध गराउने बताएको छ । यदि तपाईँ अङ्ग्रेजी आउटपुटमा भिडिओ ओभरभ्यु फिचर प्रयोग गर्न चाहनु हुन्छ भने सेटिङमा गएर भाषा परिवर्तन गर्न सक्नु हुनेछ । 

पछिल्लो अध्यावधिक: साउन १४, २०८२ १७:१३