काठमाडौँ । नेपाली पब्जी टिम ‘होरा ई-स्पोर्ट्स’ साउदी अरबमा जारी ई-स्पोर्ट्स विश्वकप अन्तर्गतको पब्जी मोबाइल विश्वकपको ग्रान्ड फाइनलमा प्रवेश गरेको छ । सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
२५ जुलाईदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा (ग्रुप स्टेज) होराले २४ टिममध्ये १३ औं स्थान हासिल गरेको थियो । नियम अनुसार समूह चरणका शीर्ष आठ टिम सोझै ग्रान्ड फाइनलमा छनोट भएका थिए भने ९ देखि २४ औं स्थानमा रहेका १६ टिमले ‘सर्भाइभल स्टेज’मा दोस्रो मौका पाएका थिए ।
सर्भाइभल स्टेजमा होरा ई-स्पोर्ट्सले उत्कृष्ट पुनरागमन गर्दै शीर्ष आठभित्र पर्न सफल भयो । सर्भाइभ स्टेजमा पहिलो हुँदै नेपाली टिम होरा ई-स्पोर्ट्सले २५ हजार डलर (करिब ३४ लाख ५० हजार रुपैयाँ) पुरस्कार पाएको छ ।
अब होराले विश्वका उत्कृष्ट १५ टिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसमा समूह चरणबाट छानिएका ८ र सर्भाइभल स्टेजबाट छानिएका ८ टिम सहभागी हुनेछन् ।
पब्जी विश्वकपको ग्रान्ड फाइनल १ देखि ३ अगस्टसम्म सञ्चालन हुनेछ । त्यही प्रतिस्पर्धामा विश्व विजेताको टुङ्गो लाग्नेछ ।
पछिल्लो अध्यावधिक: साउन १४, २०८२ २१:२
