काठमाडौँ । माइक्रोसफ्टले आफ्नो बजार मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । शेयर मूल्यमा उल्लेखनीय वृद्धि भएसँगै कम्पनीको बजार मूल्याङ्कन पहिलो पटक ४ ट्रिलियन डलरभन्दा माथि पुगेको हो । एनभिडियापछि माइक्रोसफ्ट यो कोसेढुङ्गो पार गर्ने दोस्रो कम्पनी बनेको छ । बिहीबार सुरुवाति कारोबारमा माइक्रोसफ्टको शेयर ८.५% ले बढेर ५५७.०३ डलरमा पुगेको थियो । जसले कम्पनीको मूल्य ४.१४ ट्रिलियन डलरमा पुर्याएको हो ।
वाशिङ्गटनमा मुख्यालय रहेको माइक्रोसफ्टले अप्रिल २०१९ मा पहिलो पटक १ ट्रिलियन डलरको आँकडा पार गरेको थियो । माइक्रोसफ्टका लागि ३ ट्रिलियन डलरसम्मको यात्रा एनभिडिया र एप्पल जस्ता प्रविधिका अन्य दिग्गज कम्पनीहरूको तुलनामा अलि सुस्त थियो । एआईको अगुवा एनभिडियाले जुलाई ९ मा नै ४ ट्रिलियन डलरको माइलस्टोन चुमेको थियो । एप्पलको पछिल्लो मूल्याङ्कन ३.१२ ट्रिलियन डलर रहेको छ ।
आम्दानी प्रतिवेदन र एआई तथा क्लाउड कम्प्युटिङ व्यवसायमा भएको ठुलो प्रगतिलाई कम्पनीको यो वृद्धिको मुख्य कारण मानिएको छ । कम्पनीको एज्युर क्लाउड कम्प्युटिङ व्यवसायको बिक्रीमा उछाल आएको छ । ओपनएआईमा माइक्रोसफ्टको मल्टी-बिलियन डलरको लगानी 'गेम-चेन्जर' साबित भएको छ ।
यो लगानीले यसको अफिस सुइट र एज्युर सेवाहरूलाई अत्याधुनिक एआईले बलियो बनाएको छ । सन् २०२२ को अन्त्यतिर च्याटजीपीटीले डब्यु गरेदेखि यता मात्रै कम्पनीको शेयर मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
ओपनएआईका मोडेलहरूमा विशेष पहुँचका कारण माइक्रोसफ्ट जेनेरेटिभ एआईको अग्रपङ्क्तिमा छ । जसले यसको एज्युर क्लाउड व्यवसायलाई 'सुपरचार्ज' गरेको छ, जुन अहिले कम्पनीको आम्दानीको मुख्य स्रोत बनेको छ र गुगलको क्लाउड तथा अमेजनको वेब सर्भिसहरूको तुलनामा प्रविधि क्षेत्रमा यसको प्रभुत्वलाई अझ मजबुत बनाएको छ । कम्पनीले कर्मचारी कटौती गरी एआईमा लगानी दोब्बर बनाएका कारण पनि शेयर मूल्यमा थप बढोत्तरी आएको हो ।
पछिल्लो अध्यावधिक: साउन १५, २०८२ १७:४५
