काठमाडौं । माइक्रोसफ्ट ३६५ खरिद गर्न नचाहनेहरूलाई लक्षित गर्दै माइक्रोसफ्टले अफिस २०२४ संस्करण सार्वजनिक गरेको छ । म्याक र पीसीमा चल्नेगरी माइक्रोसफ्टले अफिस २०२४ सार्वजनिक गरेको हो ।
एक पटक किनेपछि पुन: पैसा तिर्नु नपर्ने यो संस्करण १ अक्टोबरदेखि खरिदका लागि उपलब्ध भइसकेको छ । यस स्थायी संस्करणमा वर्ड, एक्सेल, पावरपोइन्ट, वननोट, आउलुक जस्ता एप्लिकेसन रहेका छन् ।
माइक्रोसफ्टका अनुसार माइक्रोसफ्ट ३६५ मा भएका धेरै फिचर अफिस २०२४ मा राखिएका छन् । यसअघि सन् २०२१ मा मात्र माइक्रोसफ्ट अफिसको छुट्टै संस्करण सार्वजनिक भएको थियो । यसैले पनि अफिस २०२४ मा समावेश सफ्टवेयरको युजर इन्टरफेससँगै महत्त्वपूर्ण कुरामा परिवर्तन गरिएको बताइएको छ ।
अफिस २०२४ मा माइक्रोसफ्टको फ्लुयन्ट डिजाइन प्रिन्सिपलसँग मिल्ने नयाँ डिफल्ट थिम छ । जुन विन्डोज ११ मा भिजुअल परिवर्तन हुँदा त्यहाँ पनि परिवर्तन हुन्छ । यसपटक माइक्रोसफ्टले एक्सेसिबिलिटीलाई पनि ध्यानमा राख्दै डकुमेन्ट, स्लाइडशो, वर्कबुक, ईमेल आदिमा रहेको समस्या पत्ता लगाउन सजिलो बनाएको छ ।
अफिस २०२४ मा एक्सेल, पावरपोइन्ट र आउटलुकमा सबैभन्दा ठूलो परिवर्तन गरिएको छ । यसअन्तर्गत माइक्रोसफ्टले एक्सेलमा नयाँ फङ्सन थपेको छ ।
त्यस्तै इमेज फङ्सनबाट वेबमा भएका फोटोहरू समेत वर्कशिटमा ल्याउन सकिन्छ । साथै एक्सेल २०२४ पहिलेको भन्दा छिटो र धेरै वर्कशिटमा काम गर्दा पनि प्रभावकारी हुने माइक्रोसफ्टले बताएको छ ।
पावरपोइन्टमा माइक्रोसफ्टले केमियो फिचर थपेको छ । यसबाट स्लाइडहरूमा लाइभ क्यामेरा फिड राख्न सकिन्छ । पावरपोइन्टमा नयाँ रेकर्डिङ स्टुडिओ फिचर पनि थपिएको छ । जसबाट न्यारेसन, एनिमेसन, ट्रान्जिसन जस्ता काम गर्न सकिन्छ । यसका साथै स्लाइडहरूमा भिडिओ र अडिओ फाइलहरूमा क्लोज्ड क्याप्सन तथा टाइटल पनि राख्न सकिने छ ।
अब वर्ड, एक्सेल र पावरपोइन्टमा एन्ड्रोइड मोबाइलबाट फोटो थप्न सकिने भएको छ । यसका साथै वर्ड र पावरपोइन्टमा आएका कमेन्टमा लाइक र रियाक्ट समेत गर्न सकिने छ । अफिस २०२४ मा माइक्रोसफ्टले ओपन डकुमेन्ट फर्म्याट (ओडीएफ) को संस्करण १.४ लाई पनि सपोर्ट गर्ने भएको छ ।
वर्ड २०२४ मा पीसी क्र्यास भए पनि यसअघि खोलिएका डकुमेन्ट पुन: भेटिने छ । यसो हुँदा काम गरिरहेको कुनै पनि वर्ड फाइल हराउने सम्भावना हुँदैन ।
माइक्रोसफ्ट अकाउन्ट प्रयोग गरी अफिस २०२४ इन्स्टल गर्न सकिन्छ । जुन पछि सफ्टवेयर तथा सेक्युरिटी अपडेटमा पनि चाहिन्छ । तर अफिस २०२४ विन्डोज १० र ११ र म्याकका पछिल्लो तीन संस्करणमा मात्र चलाउन सकिने माइक्रोसफ्टले जनाएको छ ।
त्यस्तै अफिस होम २०२४ र अफिस होम एन्ड बिजनेस २०२४ गरी अफिस २०२४ दुई भिन्न संस्करणमा उपलब्ध हुने भएको छ । यसमध्ये अफिस २०२४ १४९.९९ डलर (करिब २० हजार रुपैयाँ) र अफिस होम एन्ड बिजनेस २०२४ २४९.९९ डलर (करिब ३३ हजार रुपैयाँ) पर्ने बताइएको छ ।