close

प्रोटोनले सार्वजनिक गर्‍यो ओपन सोर्समा आधारित एन्ड-टु-एन्ड इन्क्रिप्टेड अथेन्टिकेटर एप

टेकपाना टेकपाना

साउन १५, २०८२ १८:१५

प्रोटोनले सार्वजनिक गर्‍यो ओपन सोर्समा आधारित एन्ड-टु-एन्ड इन्क्रिप्टेड अथेन्टिकेटर एप

काठमाडौँ । गोपनीयताको क्षेत्रमा परिचित प्रविधि कम्पनी प्रोटोनले नयाँ अथेन्टिकेटर एप सार्वजनिक गरेको छ । कम्पनीले टु-फ्याक्टर अथेन्टिकेसन तयार पार्ने अथेन्टिकेटर एप नि:शुल्क रूपमा उपलब्ध गराएको हो ।

प्रोटोन अथेन्टिकेटर एपलाई कम्पनीले प्रयोगकर्ताको गोपनीयता र नियन्त्रण प्रतिको प्रतिबद्धतामा अर्को महत्त्वपूर्ण कदम बताएको छ । यसै साता गोपनीयता केन्द्रित एआई च्याटबट 'लुमो' ल्याएको कम्पनीले अर्को उत्पादन बजारमा उपलब्ध गराएको हो ।

प्रोटोन अथेन्टिकेटर एप ओपन-सोर्स हो र प्रयोगकर्ताको डेटा सुरक्षित राख्न एन्ड-टु-एन्ड इन्क्रिप्सन प्रयोग गरिएको छ । आईओएस, एन्ड्रोइड, विन्डोज, म्याक र लिनक्स लगायत सबै प्रमुख प्लेटफर्महरूमा उपलब्ध छ ।

यो एपमार्फत प्रयोगकर्ताले आफ्ना टु-फ्याक्टर-अथेन्टिकेसन कोड र अकाउन्ट विभिन्न डिभाइसमा उपकरणहरूमा सिंक गर्न सक्नेछन् । जसले आवश्यकता पर्दा पहुँच सुनिश्चित गर्दछ ।

एपले विद्यमान अन्य अथेन्टिकेटर एपहरूबाट लगइन कोडहरू सजिलै इम्पोर्ट (आयात) गर्ने सुविधा पनि दिन्छ । प्रोटोन अथेन्टिकेटर एपले कोडहरूको स्वचालित ब्याकअप राख्छ र इन्टरनेट कनेक्सन बिना पनि काम गर्न सक्छ ।

एपमा आधारित टुएफएले एसएमएस-आधारित अथेन्टिकेसनको तुलनामा राम्रो सुरक्षा प्रदान गर्दछ । जुन सिम स्वापिङ जस्ता आक्रमणहरूका लागि कमजोर हुन्छ, जहाँ आक्रमणकारीहरूले मेसेज रोक्न सक्छन् ।

प्रोटोनका अकाउन्ट सुरक्षा प्रमुख इमोन मगुइरेले यस्तो उपकरणको विश्वव्यापी आवश्यकतामा जोड दिएका छन् । उनले भने, “टु-फ्याक्टर अथेन्टिकेसन गोपनीयताको ख्याल गर्नेहरूका लागि मात्र नभएर सबैका लागि जरुरी छ । प्रोटोन अथेन्टिकेटर एप आफ्ना अकाउन्टहरू सुरक्षित, पारदर्शी र सुविधाजनक तरिकाले सुरक्षित गर्न चाहने जो कोहीका लागि निर्माण गरिएको हो ।”

मगुइरेले अगाडि थपे, “बलियो सुरक्षाका लागि तपाईँको सुविधा वा गोपनीयतासँग सम्झौता गरिनु हुँदैन । त्यसैले हामीले प्रोटोन अथेन्टिकेटर एप विकास गरेका छौँ । प्रयोगकर्ताहरूलाई गुगल वा माइक्रोसफ्ट बिना नै आफ्ना टु-फ्याक्टर कोड जहाँ आवश्यक पर्छ, त्यहाँ सजिलै उपलब्ध हुन्छ भन्नेमा ढुक्क रहन सक्नु हुनेछ । हामी प्रयोगकर्ताहरूलाई उनीहरूको डेटामा मात्र होइन, उनीहरूले आफ्ना अनलाइन अकाउन्टहरूमा कसरी पहुँच गर्छन् भन्नेमा पनि पूर्ण नियन्त्रण दिइरहेका छौँ।”

पछिल्लो अध्यावधिक: साउन १६, २०८२ ९:१२