विद्यार्थीले तयार पारे फोहोरलाई मोहर बनाउने डिजिटल समाधान, कसरी गर्छ काम ?
साउन १८, २०८२ १४:१५
काठमाडौँ । कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको एक समूहले डिजिटल प्रविधिको प्रयोगमार्फत फोहोर व्यवस्थापन प्रणाली विकास गरेको छ । एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तहमा कम्प्युटर इन्जिनियरिङ अन्तिम सेमेस्टरमा अध्ययनरत आशिषराज पौडेल, सुजिना पाण्डे, महेन्द्र ओली र बादल खनालले प्रोजेक्टका रूपमा ‘मो-फोहोर’ नामक प्रणाली तयार पारेका हुन् ।
डा. सैलेश बहादुर पाण्डेको सुपरिवेक्षणमा दुई महिनामा तयार पारिएको ‘मो-फोहोर’ ले फोहोर व्यवस्थापनको कार्यलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रोजेक्ट लिड आशिष बताउँछन् । यो प्रणालीले फोहोरको वर्गीकरण, ट्र्याकिङ र व्यवस्थापनलाई डिजिटल बनाउने उद्देश्य राखेको छ । तर, यसलाई कार्यान्वयनमा ल्याउन स्थानीय तहसँग सहकार्य गर्न आवश्यक रहेको उनी बताउँछन् ।
हरेक दिन हप्तामा पालो कुरेर फोहोर फाल्नेभन्दा यो प्रणाली फरक रहेको उनले सुनाए । जहाँ पालिकाले कुहिने, नकुहिने वा विद्युतीय उपकरण राख्नका लागि फोहोर फाल्ने फरक फरक बिन उपलब्ध गराउनु पर्छ ।
प्रणालीले कसरी गर्छ काम ?
यो प्रणालीमा फोहोर सिर्जना गर्ने (वेस्ट जेनेरेटर) देखि सङ्कलक, व्यवस्थापक र स्थानीय तहसम्मले लग इन गर्न सक्छन् ।

प्रणालीमा फोहोर निस्कने घरपरिवार/व्यवसाय ‘वेस्ट जेनेरेटर’ को रूपमा दर्ता हुन्छन् । कुहिने वा नकुहिने फोहोर प्रयोग लिने व्यक्तिहरू सङ्कलक ‘वेस्ट रिसिभर’ को रूपमा दर्ता हुन्छन् । जसअन्तर्गत बंगुर फार्मका सञ्चालकदेखि कागज, फलाम, बिग्रिएका विद्युतीय सामग्री सङ्कलन गर्ने व्यक्तिहरूसम्म हुन्छन् । स्थानीय तह र फोहोर उठाउने गाडीका चालकहरू पनि प्रणालीमा जोडिएका हुन्छन् ।
आफ्नो घर-कार्यालयमा राखिएको फोहोर भरिएपछि ‘वेस्ट जेनेरेटर’ ले फोहोर उठाउने समय भयो भनेर प्रणालीमा जानकारी अपलोड गर्छन् । यसरी अपलोड गर्दा कुन प्रकारको र कति फोहोर छ भनेर समेत राख्न सकिन्छ ।
उक्त जानकारीको सूचना तत्कालै फोहोर चाहिने संस्था (प्राप्तकर्ता) लाई जान्छ । उनीहरूले आफूलाई आवश्यक पर्ने फोहोर एसेप्ट (स्वीकार) गरेपछि त्यसको जानकारी ‘वेस्ट जेनेरेटर’ लाई ह्वाट्सएपमार्फत पठाइन्छ र सङ्कलकहरू सिधै घरमा पुगेर फोहोर उठाउँछन् ।
सङ्कलकहरूले नउठाएको वा बाँकी रहेको फोहोरको जानकारी प्रणालीले स्थानीय तहलाई दिन्छ । यसअन्तर्गत उठाउनु पर्ने फोहोर कहाँ कहाँ छ, कति फोहोर छ र उक्त रुटमा कुन कुन फोहोर उठाउन सहज हुन्छ लगायत जानकारी दिइन्छ । प्रणालीले सबैभन्दा छोटो र उपयुक्त रुटसहित नजिकको गाडीलाई फोहोर उठाउन सुझाव पनि दिन्छ ।
सोही अनुसार स्थानीय तहले गाडीका ड्राइभरलाई ह्वाट्सएपमा लोकेसन पठाउन सक्छन् । त्यहाँ युजर आईडी र पासवर्ड पनि दिइन्छ । उक्त विवरण प्रणालीमा हालेपछि चालकलाई फोहोर उठाउन उपयुक्त हुने रुट खुल्छ ।
“अहिले हामीले काठमाडौँ उपत्यकाभरिका लागि मिल्ने म्यापको डेटा लिएका छौँ । गाडीको रुट सबै ठाउँमा पुग्ने र कुनै पनि ठाउँमा नछुट्ने गरी सिस्टम बनाएका छौँ,” प्रोजेक्ट लिड आशिष भन्छन् ।
उक्त प्रणालीमा महत्त्वपूर्ण फिचरको रूपमा ‘रिवार्ड’ फिचर रहेको छ । फोहोरको सही वर्गीकरण र जानकारी दिने ‘वेस्ट जेनेरेटर’ लाई प्रोत्साहन गर्न प्रणालीमा रिवार्ड पोइन्टको व्यवस्था गरिएको हो । सबैभन्दा बढी रिवार्ड पाउनेलाई स्थानीय तहले करमा छुट तथा अन्य आर्थिक सुविधा दिन सक्ने टिम मेम्बर सुजिनाले सुनाइन् ।
जथाभावी फोहोर फालेको पाइएमा जो-कोहीले फोटोसहित प्रणालीमा रिपोर्ट गर्न सक्छन् । जसको आधारमा स्थानीय तहले कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ ।
यस्तै उक्त प्रणालीमार्फत पालिकाले हप्ता, महिना वा वर्षमा कुन फोहोर कति सङ्कलन भए भन्ने रिपोर्ट पनि सजिलै निकाल्न सक्छ । कुहिने, नकुहिने र विद्युतीय फोहोर कति सङ्कलन र व्यवस्थापन भए लगायतका जानकारी हेर्न सकिन्छ ।
प्रणालीमा ह्वाट्सएपमा जोडिनको लागि क्यूआर कोड प्रदान गरिन्छ । उक्त क्यूआर स्क्यान गरेपछि फोहोर उठाउने समय, सङ्कलन भए/नभएको जानकारी र आकस्मिक सूचनाहरू ह्वाट्सएपमार्फत नै आदान-प्रदान हुन्छ । फोहोर सङ्कलन गर्न नसक्ने आकस्मिक समय आइलागेमा पालिकाले चालक र घरधनीहरूलाई एकै पटक इमर्जेन्सी मेसेज पठाएर सूचना दिने सुविधा पनि राखिएको छ ।
उपत्यकाको फोहोर समस्याले जन्मायो आइडिया
उपत्यकामा स्थानीय तहहरूले फोहोर वर्गीकरणको नीति ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको देखेर यो आइडिया फुरेको विद्यार्थीहरू बताउँछन् ।
“काठमाडौँ महानगरले पनि फोहोर वर्गीकरण गरेर मात्र सङ्कलन गर्ने नीति लिएको थियो । तर, त्यो कार्यान्वयनमा जान सकेन । प्रविधिमा आधारित प्रणाली भयो र फोहोर वर्गीकरणलाई प्रोत्साहन गर्दा यसको व्यवस्थापनमा सहयोग पुग्छ कि भनेर पनि ‘मो-फोहोर’ बनाएका हौँ,” आशिष भन्छन् ।
यो प्रणाली तयार पार्नुअघि उनीहरूले ललितपुर महानगरपालिका वडा नं ३ को सफल अभ्यासको अध्ययन गरेका थिए । टिम मेम्बर महेन्द्र भन्छन्, “त्यहाँ लगभग १३०० घरधुरी रहेछ । सानो वडा भएकाले त्यहाँ फोहोर वर्गीकरण गरेर आफैँले व्यवस्थापन गरिँदै आएको रहेछ ।”
वडाध्यक्ष श्रीगोपाल महर्जनले पनि उत्कृष्ट रूपमा फोहोर वर्गीकरण गर्ने स्थानीयलाई फोहोर उठाए बापतको रकममा छुट दिँदै आएको बताए । उनले भने, “हामीले वर्गीकरण गरेका फोहोरमात्र लिएर सबै किसिमका फोहोरलाई वडामै व्यवस्थापन गर्दै आएका छौँ ।”
एभरेस्ट इन्जिनियरिङ कलेजका यी विद्यार्थी आफ्नो परियोजनालाई अझ मूर्तरुप दिन लागिपरेका छन् । सरोकारवालासँग थप परामर्श लिई ‘मो-फोहोर’ लाई बिजनेस मोडेलमा लैजाने र फोहोर व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने उनीहरूको लक्ष्य छ ।
पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १४:४४
