प्रक्रिया पुरा गर्ने युट्युब च्यानल समेत अब प्रेस काउन्सिलमा सूचीकरण हुनसक्ने
साउन १८, २०८२ २०:५२
काठमाडौँ । अब प्रक्रिया पुरा गर्ने युट्युब च्यानल समेत प्रेस काउन्सिलमा सूचीकरण हुन पाउने भएका छन् । काउन्सिलले आइतबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।
“पत्रकारिता गर्ने उद्देश्य लिइ पत्रकारद्वारा सञ्चालित युट्युब च्यानलले युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरण कार्यविधि, २०८०' को दफा ४(२) अन्तर्गतको प्रक्रिया पूरा गरी आवेदन दिएमा काउन्सिलमा अभिलेखीकरण गर्ने कार्य प्रारम्भ गरिएको,” विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि २०८०’ अनुसार यो व्यवस्था लागु गरेको जनाएको छ । युट्युब सामग्री नियमन तथा नियन्त्रण गर्ने क्रममा आ.व. २०८१।८२ मा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गरेका मिडियाअन्तर्गत आबद्ध सामाजिक सञ्जाल (युट्युब च्यानल) २८, फेसबुक पेज २९ तथा वेबपोर्टल ७ वटालाई निर्देशन/सचेत गराइएको काउन्सिलको भनाइ छ ।
यस्तै हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई बेवास्ता गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता/सूचीकरण नभएका ४३ युट्युब च्यानललाई थप अनुसन्धानका लागि पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: साउन १८, २०८२ २०:५२
