काठमाडौँ । जगदम्बा मोटर्स प्रा. लि. अन्तर्गतको शंकर ग्रुपले नेपाली बजारका लागि फेरिजोन ब्रान्डको यात्रुबाहक विद्युतीय सवारी भित्र्याएको छ । कम्पनीले जिलि ब्रान्ड अन्तर्गतको १९ सिटे फ्यारिजोन ईभी माइक्रो आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको हो ।
पूर्ण रूपमा ईभी प्लेटफर्ममा तयार गरीएको यो गाडीमा १७० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ भने ८२.८८ किलोवाटको लिथियम ब्याट्री दिइएको छ । गाडीको सबै चक्कामा डिस्कब्रेक प्रयोग गरिएको छ भने यसमा उकालोमा होल्ड गर्न सकिने, एड्यास (ADAS), एभास (AVAS), ३६० डिग्री क्यामेरा लगायतका फिचरहरू पनि दिइएको छ ।
ब्याट्रीमा चारबर्षको ७ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ । यस्तै मोटरमा पाँच वर्षसम्मको दुई लाख किलोमिटरसम्मको वारेन्टी हुनेछ । यो गाडीको सुरुवाति मूल्य ७६ लाख ९० हजार रूपैयाँ रहेको छ ।
यो सँगै एक्स्पोमा १४ सिटे चेरि वान्डाको ईभी माइक्रोबस पनि प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोको स्टल - डी, हल डीमा गएर यी गाडीहरू अवलोकन गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ ११:२६
