यस्ता छन् नेपाली बजारमा ३० हजारदेखि २ लाखसम्म पर्ने साओमीका स्मार्ट टेलिभिजन
साउन २२, २०८२ १२:४६
काठमाडौँ । नेपाली बजारमा चिनियाँ ब्रान्ड साओमीले विभिन्न ६ मोडलका स्मार्ट टेलिभिजन बिक्री गर्दै आइरहेको छ । पछिल्लो समय प्रविधिमा चासो राख्ने मात्र होइन, हरेक उपभोक्ता स्मार्ट टिभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भइरहेकै छन् ।
स्मार्टफोन बजारमा राम्रो प्रभाव रहेको साओमीले नेपाली बजारमा स्मार्ट टिभी सेग्मेन्टमा पनि प्रभाव जमाउँदै गइरहेको छ । साना कोठाका लागि एचडी तथा फुल एचडी टिभी र ठुला मनोरञ्जन कक्ष वा लिभिङ रुमका लागि फोरके क्यूएलईडी प्रविधिका टिभी साओमीले नेपालमा बिक्री गरिरहेको छ ।
मूल्यअनुसार मोडेलहरू :
Xiaomi TV A Pro 32 HD : सानो कोठा, छात्रावास वा एकल बसोबासमा रहेका व्यक्तिका लागि यो मोडल उपयुक्त हुने कम्पनीले जनाएको छ । ३२ इन्चको एचडी डिस्प्ले, गुगल टिभी र आकर्षक बेजेलस् र डिजाइनसहितको यो मोडेल साओमीको बजेटमैत्री सुरुवाति मोडल हो । यसको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ पर्छ ।
Xiaomi TV A 43 FHD : थप स्मार्ट फिचर खोज्ने उपभोक्ताका लागि साओमीले यो मोडल ल्याएको छ । फुल एचडी डिस्प्ले, फार–फिल्ड माइक्रोफोन र साउन्ड सिस्टमले यो मोडेललाई मिडरेन्जमा प्रभावशाली विकल्प बनाएको कम्पनीले जनाएको छ । साओमीले यो टिभीको मूल्य ५० हजार रुपैयाँ तोकेको छ ।
Xiaomi TV A Pro 43 (2025) : फोरके क्युएलईडी प्रविधिसहित सानो साइजमा गुणस्तरीय पिक्चर क्वालिटी अनुभव गर्नेलाई यो मोडल उपयुक्त हुन सक्छ । स्टोरेज, र्याम र अपरेटिङ सिस्टमको संयोजनले यो मोडेललाई कम्पनीले ‘पावरफुल मिनी होम थिएटर’ को रूपमा प्रस्तुत गरेको छ । साओमीले यो मोडलको मूल्य ५५ हजार रुपैयाँ तय गरेको छ ।
Xiaomi TV A 55 : परिवारका लागि उपयुक्त मध्यम आकारको फोरके टिभी, जसमा डल्बी अडिओ, क्रोमकास्ट, १६ जीबी रोम जस्ता फिचर छन् । ठूलो स्क्रिन, शक्तिशाली अडियो र सहज इन्टरफेसले यो मोडललाई होम इन्टरटेनमेन्टको राम्रो विकल्प बन्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा साओमीले यो मोडलको मूल्य ८० हजार रुपैयाँ तोकेको छ ।
Xiaomi TV A Pro 65 : ठूला कोठा वा धेरै मान्छे भेला हुने ठाउँका लागि लक्षित गर्दै साओमीले यो मोडल ल्याएको छ । ६५ इन्चको फोरके डिस्प्ले, १६ जीबी स्टोरेज, डीटीएस, डल्बी साउन्ड सपोर्टसहित साओमीले यो मोडल नेपाली बजारमा उतारेको छ । कम्पनीले यो मोडलको मूल्य नेपाली बजारमा १ लाख १५ हजार रुपैयाँ तोकेको छ ।
TV A Pro 65 (2025) : डिजाइनप्रेमी र उच्च प्रदर्शन चाहनेहरूका लागि साओमीले यो मोडल ल्याएको जनाएको छ । यसमा क्युएलईडी प्यानल, अल्ट्रा हाई रेजोल्युसन, बेजेलरहित मेटल फ्रेम र साउन्ड सिस्टमले यो मोडेललाई प्रिमियम बनाएको छ । कम्पनीले यसको मूल्य २ लाख रुपैयाँ तोकेको छ ।
पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १२:४६
