close

गुगल नोटबुकएलएमको भिडिओ ओभरभ्यु अब नेपालमा पनि, यसरी बनाउनु होस् अडियोसहितको भिडिओ प्रस्तुति

टेकपाना टेकपाना

साउन २२, २०८२ १८:३४

गुगल नोटबुकएलएमको भिडिओ ओभरभ्यु अब नेपालमा पनि, यसरी बनाउनु होस् अडियोसहितको भिडिओ प्रस्तुति

काठमाडौँ । गुगलको एआईमा आधारित नोट तथा रिसर्च असिस्टेन्ट टुल नोटबुकएलएमको 'भिडिओ ओभरभ्यु' नेपाली प्रयोगकर्ता माझ उपलब्ध भएको छ । यससँगै अब जटिल मल्टिमिडिया सामग्रीहरू जस्तै नोट, पीडीएफ र तस्विरहरूलाई भिजुअल प्रस्तुतीकरणको रूपमा सजिलै बुझ्न सकिने भएको छ ।

गत मे महिनामा गुगल आई/ओ मा भिडिओ ओभरभ्यु फिचरलाई पहिलो पटक प्रस्तुत गरिएको थियो । यसले प्रयोगकर्ताहरूलाई कन्टेन्ट बुझ्नका लागि अडिओ ओभरभ्युको भिजुअल विकल्पको रूपमा काम गर्छ ।

अडियो ओभरभ्युले डकुमेन्टहरूबाट पोडकास्ट तयार पारेर अडियोमा आधारित सहायता प्रदान गर्दै आएको छ । भिडिओ ओभरभ्युले नयाँ भिजुअल सिर्जना गर्छ र अपलोड गरिएका स्रोत तथा डकुमेन्टहरूबाट तस्विर, ग्राफ, उद्धरण र अङ्क प्रयोग गरी कन्टेन्टको व्याख्या गर्छ । स्टुडियो प्यानलमा गएर अडियो पोडकास्ट बनाए जस्तै गरी भिडिओ ओभरभ्युको विकल्प रोज्नु भयो भने केही समयमा अडियो सहितको भिडिओ प्रिजेन्टेसन तयार हुन्छ । 

गुगलका अनुसार यो फिचर डेटाको व्याख्या गर्न, प्रक्रियाहरू देखाउन र अमूर्त अवधारणाहरू बुझाउनका लागि उपयोगी हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो भिडिओ ओभरभ्युलाई कस्टमाइज गर्न पनि सक्नेछन् । प्रयोगकर्ताले ध्यान केन्द्रित गर्नुपर्ने विषयमा केन्द्रित हुन्, आफ्नो सिकाइको लक्ष्य तय गर्न र टार्गेट अडियन्स निर्दिष्ट गर्न सक्छन् ।

उदाहरणका लागि, "मलाई यस विषयमा केही पनि थाहा छैन; मलाई कागजातका रेखाचित्रहरू बुझ्न मद्दत गर्नुहोस्," वा "म पहिले देखि नै X मा जानकार छु र मेरो टोली Y मा काम गर्छ; Z मा ध्यान केन्द्रित गर्नुहोस्," जस्ता प्रश्नहरू सोध्न सकिन्छ ।

गुगलले नोटबुकएलएमको स्टुडियो प्यानलमा पनि अपडेट गरेको छ । यससँगै प्रयोगकर्ताहरूले अब एउटै नोटबुकमा एउटै प्रकारका धेरै स्टुडियो आउटपुट तयार पार्न र स्टोर गर्न सक्नेछन् ।

स्टुडियो प्यानलमा अब चार ओटा टाइलहरू देखिन थालेका छन् । जहाँबाट अडियो ओभरभ्यु, भिडिओ ओभरभ्यु, माइन्ड म्याप र रिपोर्ट एकै क्लिकमा सिर्जना गर्न सकिनेछ ।

यसका अतिरिक्त प्रयोगकर्ताहरूले स्टुडियो प्यानल भित्र मल्टिटास्क पनि गर्न सक्छन् । उदाहरणका लागि तपाईँले अडियो ओभरभ्यु सुन्दै माइन्ड म्याप अन्वेषण गर्न वा स्टडी गाइड रिभ्यु गर्न सक्नु हुन्छ ।

भिडिओ ओभरभ्यु सबै अङ्ग्रेजी बोल्ने प्रयोगकर्ताहरूका लागि रोलआउट भइरहेको छ । गुगलले चाँडै नै थप भाषाहरूका लागि पनि सपोर्ट उपलब्ध गराउने बताएको छ । यदि तपाईँ अङ्ग्रेजी आउटपुटमा भिडिओ ओभरभ्यु फिचर प्रयोग गर्न चाहनु हुन्छ भने सेटिङमा गएर भाषा परिवर्तन गर्न सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १८:३४