मौलिक बाजा र कलाकारलाई डिजिटल माध्यमबाट श्रोतासँग जोड्दै ‘बाजा नेपाल’
साउन २६, २०८२ १९:३२
काठमाडौँ । सारङ्गी, टुङ्गना, मादल, नर्सिङ्गा, बाँसुरी, सहनाई । हामीले सुन्दै आएका यी बाजाहरू हाम्रा रीतिरिवाज, संस्कृति र मनोरञ्जनका लागि सयौँ वर्षदेखि प्रयोग हुँदै आइरहेका छन् । तर अहिले युट्युब लगायतका डिजिटल प्लेटफर्ममा गीत र सङ्गीत सहजै सुन्न पाइन्छ । यसले गर्दा पुस्तौँ पुस्तादेखि सङ्गीतमा लागेका व्यक्तिको रोजीरोटी र कला सङ्कटमा पर्ने खतरा देखिएको छ । यही समस्यालाई समाधान गर्न सन् २०१९ देखि सञ्चालनमा आएको ‘बाजा नेपाल’ ले मौलिक बाजा र कलाकारलाई सहरमा चिनाउने काम गर्दै आएको छ ।
बाजा नेपाल यस्तो डिजिटल प्लेटफर्म हो, जहाँ विभिन्न विधाका म्युजिसियन र कलाकार सजिलै फेला पार्न सकिन्छ । ती कलाकारलाई आफ्नो कुनै कार्यक्रममा लाइभ म्युजिकका लागि बुकिङ पनि सोही प्लेटफर्मबाट गर्न सकिन्छ । त्यसपछि पूर्वनिर्धारित शुल्क तिरेर कलाकारबाट लाइभ म्युजिकको आनन्द लिन सकिन्छ ।
बाजा नेपालले आफ्नै ब्रान्डिङ नभएका, तर प्रतिभाशाली कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको कम्पनीका संस्थापक तथा सीईओ हिरेन्द्र राज जोशी बताउँछन् । कलाकारहरूलाई फ्रिल्यान्सिङ गरेर आम्दानीको नयाँ स्रोत बनाउने अवसर दिइरहेको बताउँदै उनी भन्छन्, “बाजा बचाउनलाई बाजा बजाउने मान्छे बाँच्नुपर्छ । नेपाली वाद्यवादनलाई जोगाइराख्ने हो भने यसलाई बजाउने मानिसलाई आर्थिक उपार्जनको स्रोत पनि दिन सक्नुपर्छ ।” त्यसैले डिजिटल प्लेटफर्मबाट सङ्गीत कर्ममा लागेका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने प्रयास गरिएको उनी सनाउँछन् ।
हल्ट प्राइजमा प्रतिस्पर्धा गर्दा सुरु भएको आइडिया
सन् २०१८ मा सान इन्टरनेसनल कलेजमा बीएससी बायोटेक्नोलोजी पाँचौँ सेमेस्टरमा पढ्दै थिए, हिरेन्द्र । त्यसबेला ‘हल्ट प्राइज’ प्रतिस्पर्धामा भाग लिन विद्यार्थीहरूको लहर नै चलेको थियो ।
जोशी पनि सहपाठीहरू मोहन गुप्ता र उज्ज्वल श्रेष्ठसँग मिलेर पोखरा विश्वविद्यालयको हल्ट प्राइजमा प्रतिस्पर्धाको तयारीमा थिए । हल्ट प्राइज फाउन्डेसनले प्रतिस्पर्धाका लागि च्यालेन्ज दिएको थियो । च्यालेन्ज थियो- आगामी १० वर्षमा १० हजारभन्दा धेरै व्यक्तिलाई रोजगारको अवसर सिर्जना गर्न सक्ने व्यवसायको योजना प्रस्तुत गर्ने । सोही प्रतिस्पर्धाका लागि आइडियाहरू खोज्दै जाँदा ‘बाजा नेपाल’ को जन्म भयो ।
बाजा नेपालले पूर्वाञ्चल विश्वविद्यालयको हल्ट प्राइजको उपाधि नै हात पार्यो । त्यसपछि क्षेत्रीय प्रतिस्पर्धाका लागि मलेसिया जानुपर्ने थियो । क्षेत्रीय प्रतिस्पर्धाबाट छनोट भएमा १० लाख डलर बराबरको पुरस्कार राशि भएको फाइनल प्रतिस्पर्धामा भाग लिन अमेरिका जानु पर्थ्यो ।
तर, आइडिया पिचिङका लागि जाने खर्च उनीहरूसँग थिएन । फन्डिङ गर्ने स्रोत पनि पाएनन् । बिजनेस आइडिया संस्कृतिसँग पनि सम्बन्धित भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्म पनि सहयोग माग्न पुगे । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीबाट सहयोगको आश्वासन पनि मिल्यो । तर मन्त्री अधिकारीले सहयोगका काम अघि बढाउनुअघि नै हेलिकप्टर दुर्घटनामा परेर उनको निधन भयो ।
सीईओ जोशी सम्झन्छन्, “दुर्घटनापछि १३ दिन त मन्त्रालय नै ठप्प भए जस्तो भयो । मन्त्रालयबाट आश मरेपछि हामीले ‘कल्चरल प्रोगाम’ गरेर भए पनि पैसा जम्मा गर्न थाल्यौँ ।”
राष्ट्रिय नाँचघरसँगको सहकार्यमा नेवारी बाजाहरू बजाएर म्युजिकल नाइट सञ्चालन गरेको र मलेसिया जान स्रोत जुटाएको उनले सुनाए । उनले भने, “तर हामी ढिला भइसकेछौँ । समयभन्दा ढिला पैसा जम्मा हुँदा प्रतिस्पर्धामा जाने अवसर गुमायौँ ।”
प्रतिस्पर्धामा जाने सपना तुहिएपछि नेपालमा नै कम्पनी दर्ता गरेर रैथाने बाजा र कलाकारको संरक्षणमा लाग्ने काम सुरु गर्ने भन्दै सन् २०१९ मा ‘बाजा नेपाल प्रालि’ दर्ता गराए । दर्ताको समयमा उनीहरूसँग सुदर्शन जिसी पनि जोडिए । त्यसपछि कम्पनीमा कलाकार आबद्ध गराउने र सामाजिक सञ्जालबाट लाइभ पर्फमेन्सका लागि बुकिङ लिने काम सुरु भयो ।
तर केही समयपछि नै कोभिड १९ का कारण आर्थिक मन्दी छायो । कार्यक्रम गर्न मानिसहरूले रुचाउन छाड्दा कम्पनी चलाउन मुस्किल पर्यो । त्यसपछि ३०० भन्दा बढी रेस्टुरेन्टमा गएर बजार अनुसन्धान गरे । र, तीन वर्षपछि २०२२ बाट कम्पनीलाई पुन: सञ्चालनमा ल्याए ।
त्यतिबेलासम्म मोहन र उज्ज्वल विदेश गएकाले टिमबाट अलग भइसकेका थिए । त्यसैले उनीहरूको सट्टामा अनुज जोशी र अनिल गन्धर्व थपिए । अनुज बजार व्यवस्थापनमा दक्खल राख्छन् भने सारङ्गी बजाउन पोख्त गन्धर्वले सङ्गीत र कलालाई राम्रोसँग बुझेका छन् ।
कलाकार यसरी हुन सक्छन् दर्ता
बाजा नेपालमा दर्ता हुनका लागि कलाकारहरू सबैभन्दा पहिला कम्पनीको वेबसाइटमा जानुपर्छ । त्यहाँ माग गरिएको जानकारी भरेर आफ्नो नाम दर्ता गराउन सक्छन् ।
कलाकार दर्ता भइसकेपछि उनीहरूको प्रदर्शन कस्तो छ भनेर परीक्षण गरिन्छ । यसका लागि परीक्षण गर्न अनुभवी म्युजिसियनको टोली नै रहेको जोशी बताउँछन् । “उहाँहरूको पुराना काम, भिडिओ र लाइभ पर्फमेन्स हेरेर बाजा नेपालमा राख्ने कि नराख्ने निर्णय गरिन्छ,” उनी भन्छन् ।
कलाकारलाई बाँधेर राख्नेभन्दा पनि उनीहरूको आयआर्जनका लागि धेरैभन्दा धेरै स्रोत जुटाउन सघाउने उद्देश्य राखिएको छ । “उहाँहरूले बाजा नेपालमा फ्रिल्यान्सिङ गर्ने हो । हामी म्युजिसियनलाई नियममा बाँधेर राख्न भन्दा पनि आम्दानी स्रोत दिएर उहाँहरूको सृजना बाँचिरहेको हेर्न चाहन्छौँ,” सीईओ जोशी भन्छन् ।
उनका अनुसार बाजा नेपालले कलाकारको शुल्क निर्धारणमा हस्तक्षेप गर्दैन । “कला एउटा विशेष पेशा हो, जुन सबैमा हुँदैन । त्यसैले आफैँले शुल्क निर्धारण गर्दैनौँ । कलाकार आफैँले आफ्नो प्रदर्शनका आधारमा शुल्क निर्धारण गर्नुहुन्छ ।”
बाजा नेपालमार्फत शोमा जाँदा शुल्कको १८% कमिसन कम्पनीले राख्ने र बाँकी कलाकारलाई नै उपलब्ध गराइन्छ । हाल बाजा नेपालसँग १०० भन्दा बढी कलाकार जोडिएका छन्, जसमध्ये १८ ओटा म्युजिक ब्यान्ड जोडिएको छ ।
कुनै कार्यक्रममा लागि सङ्गीत वा ब्यान्डको प्रस्तुति चाहेमा पनि बाजा नेपालको वेबसाइटमार्फत बुकिङ गर्न सकिन्छ । बाजा नेपालले कलाकारको विवरण र शुल्क कति लाग्छ भन्ने जानकारी पनि वेबसाइटमै उपलब्ध गराउँछ । रक, ज्याज, पप, फोल्क जन्राका सङ्गीतमध्ये आफूलाई चाहिएको विधा रोजेर सामान्य जानकारीसहित वेबसाइटबाट म्युजिसियन बुक गर्न सकिन्छ । त्यसपछि बाजा नेपालको तर्फबाट बुकिङका लागि सम्पर्क हुन्छ ।
जन्मदिनको अवसरमा प्रियजनलाई सरप्राइज दिन, विवाह, भोज, कुनै कार्यक्रम तथा रेस्टुरेन्टमा लाइभ म्युजिक गर्न वा कुनै ब्यान्डको प्रस्तुतिका लागि कलाकार बुक गर्ने सुविधा छ । वेबसाइटबाहेक फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सम्पर्क वा ह्वाट्सएपबाट कल गरेर पनि बुकिङ गर्न सकिने व्यवस्था छ । लाइभ बुकिङमा बर्थडे जस्ता छोटो अवधिका कार्यक्रमलाई कम शुल्क र विवाहहरूमा पञ्चेबाजाका लागि बढी शुल्क लाग्छ ।
धनगढी, चितवन र काठमाडौँमा लाइभ पफर्मेन्सका लागि कलाकारहरू उपलब्ध छन् । सामान्यतः कार्यक्रम हुनुभन्दा तीन दिन पहिला बुकिङ गर्न सकिन्छ । तर कार्यक्रमकै दिन बुकिङ आउँदा पनि ग्राहकले चाहेको विधाका कलाकार खाली भएमा ग्राहकलाई निराश नबनाउने उनी सुनाउँछन् ।
“ग्राहकहरू पूर्ण रूपमा वेबसाइटबाट नै बुकिङ गर्ने बानी परि सक्नु भएको छैन । त्यसैले थप जानकारी लिन चाहनु भएमा फोनबाटै बुझाउँदै आएका छौँ,” उनी भन्छन् ।
यस्तै कलाकारको रेटिङका आधारमा सबैभन्दा धेरै शो कसले पाउने भन्ने कुरा भर पर्ने उनी उल्लेख गर्छन् ।
कम्पनीले होटल तथा रेस्टुरेन्टलाई लाइभ म्युजिक समेत प्रदान गर्दै आएको छ । धेरै बुकिङ आए कलाकार पुर्याउन समस्या हुने भएकाले सामाजिक सञ्जाल प्लेटफर्ममा अर्गानिक फलोअरमा भर परेको र बुस्टिङ नगरेको उनी बताउँछन् ।

परम्परागत बाजालाई प्रोत्साहन गर्ने प्रयास
मौलिक र परम्परागत बाजालाई प्लेटफर्ममा प्राथमिकतामा राखेको सीईओ जोशी बताउँछन् । “पञ्चे बाजा हाम्रो मौलिक बाजा हो । यसको जगेर्ना गर्नुपर्छ भनेर प्राथमिकतामा राखेका छौँ,” उनी भन्छन्, “तर पञ्चेबाजा कुनै विशेष कार्यक्रम र वैवाहिक समारोहमा मात्र बजाइन्छ । यसले गर्दा शुल्क निर्धारणमा अन्योलता हुने गरेको छ ।”
कम्पनीले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्दै सारङ्गी, मादल, डम्फु जस्ता परम्परागत सङ्गीतका साधनहरू बेच्ने ई-कमर्स प्लेटफर्म पनि बनाउने योजना सारेको छ । यसले परम्परागत बाजा उत्पादकहरूलाई पनि आफ्नो उत्पादन बेच्ने अवसर दिनेछ ।
विद्यालयहरूमा कलाकारहरूलाई सङ्गीत शिक्षकको काममा लगाएर परम्परागत सङ्गीत सिकाउने पनि उनीहरूको योजना छ । यसका लागि विभिन्न विद्यालयहरूसँग सम्पर्कको प्रयास गरिएको सीईओ जोशी सुनाउँछन् । भन्छन्, “नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना भइसकेकाले सम्झौता गर्न समस्या भइरहेको छ । केही विद्यालयबाट भने सकारात्मक प्रतिक्रिया मिलेको छ ।”
पछिल्लो अध्यावधिक: साउन २६, २०८२ १९:३२
