close

नयाँ ल्यापटप किन्नु अघि ख्याल गर्न नबिर्सिनुहोस् यी ११ स्पेसिफिकेसन

टेकपाना टेकपाना

साउन २९, २०८२ १७:४२

नयाँ ल्यापटप किन्नु अघि ख्याल गर्न नबिर्सिनुहोस् यी ११ स्पेसिफिकेसन

काठमाडौँ । तपाईँ नयाँ ल्यापटप किन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो आवश्यकता अनुसारको उपकरण छान्नेतर्फ विचार गर्नुपर्ने हुन्छ । बजारका अनगिन्ती विकल्प, आकर्षक फिचर र प्राविधिक शब्दहरूको भिडमा उपयुक्त ल्यापटप यकिन गर्न गाह्रो हुन सक्छ । आज हामी तपाईँलाई ल्यापटप खरिद गर्दा ध्यान दिनुपर्ने केही मुख्य हार्डवेयर स्पेसिफिकेसन र महत्त्वपूर्ण टिप्स बताउँदैछौँ । जसले तपाईँलाई भविष्यमा पछुतो नलाग्नेगरी एउटा राम्रो विकल्प चयन गर्न मद्दत गर्नेछ ।

१. प्रोसेसर (CPU)

ल्यापटपको प्रोसेसर यसको दिमाग हो । जसले हरेक क्लिक, स्ट्रिमिङ भिडिओको सहजता, गेम कमान्डहरूको रेस्पोन्स र भिडिओ इनकोडिङ जस्ता सबै कार्यहरू नियन्त्रण गर्छ । वेब ब्राउजिङ, ईमेल, नेटफ्लिक्स हेर्ने जस्ता दैनिक प्रयोग र सामान्य कामहरूका लागि इन्टेल कोर आई ५ वा एएमडी राइजन ५ राम्रो हुन्छ ।

तर मल्टी टास्किङ र रचनात्मक काम जस्तै फोटो तथा भिडिओ एडिटिङ, डिजाइन आदिका लागि भने इन्टेल कोर आई ७ वा राइजन ७ उत्कृष्ट मानिन्छ । २०२५ मा आएर उत्कृष्ट र दिगो पर्फर्मेन्सका लागि आई ५ वा राइजन ५ भन्दा कम प्रोसेसर भएको ल्यापटप नकिन्नुहोस् ।

भविष्यमा तपाईँका आवश्यकता अझै बढ्न सक्छन् । त्यसलाई समेत मध्यनजर गर्दै बिल्ट-इन एआई प्रोसेसिङ क्षमता भएका नयाँ चिपहरू जस्तै इन्टेल कोर अल्ट्रा (Intel Core Ultra) वा राइजन एआई (Ryzen AI) लाई प्राथमिकता दिनु भयो भने झनै राम्रो निर्णय हुन सक्छ । सीपीयूलाई पछि अपग्रेड गर्न सकिँदैन । त्यसैले पहिलो पटकमै सही छनौट गर्नु महत्त्वपूर्ण छ । इन्टेल वा राइजन मध्ये कुन प्रोसेसर भएको ल्यापटप उपयुक्त हुन्छ भन्ने विषयमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

२. मेमोरी (RAM)

र्‍यामले तपाईँको ल्यापटपलाई एकैचोटि धेरै एप्लिकेसनहरू चलाउन मद्दत गर्छ र यसलाई कम्प्युटरको मल्टिटास्किङ क्षमताको मेरुदण्ड मानिन्छ । अहिलेको समयमा न्यूनतम ८ जीबी र्‍याम आवश्यक छ । जसले तपाईँलाई कुनै पनि समस्या बिना धेरै विभिन्न ट्याब र एप्लिकेसन खोल्न सहज बनाउँछ ।

तर, अधिकांश प्रयोगकर्ताहरूका लागि १६ जीबी र्‍याम सही निर्णय हुन सक्छ । भिडिओ एडिटिङ, हेभी मल्टिटास्किङ वा गेमिङ जस्ता कार्यहरूका लागि भने ३२ जीबी वा सोभन्दा बढी र्‍याम चाहिन सक्छ । एआई र फोरके/एटके वर्कलोड बढ्दै जाँदा प्रोफेसनलहरूका लागि ३२ जीबी नै न्यूनतम सीमा बन्दै गइरहेको छ । १६ जीबीबाट ३२ जीबीमा र्‍याम अपग्रेड गर्दा गेमको प्रदर्शन र एकीकृत जीपीयूको ब्यान्डविथमा उल्लेखनीय सुधार आउँछ ।

३. स्टोरेज

पुरानो एचडीडी (Hard Disk Drive-HDD) लाई अब बिर्सि दिनुहोस् । अब एसएसडी (Solid State Drive-SSD) छनौट गर्न नछुटाउनु होस् । किनकि यो धेरै छिटो हुन्छ । एसएसडीमा बुट समयका साथै पढ्ने/लेख्ने गति (read/write speed) पनि छिटो हुन्छ । जसले समग्र रूपमा प्रयोगकर्ताको अनुभवमा सुधार ल्याउँछ ।

एसएसडी बिजुली खपत पनि कम गर्छ । शान्त हुन्छ र अत्यधिक रूपमा शक/भाइब्रेसन प्रतिरोधी हुन्छ । अधिकांश प्रयोगकर्ताका लागि २५६ जीबी एसएसडी पर्याप्त हुन्छ । तर धेरै फाइलहरू, भिडिओहरू वा गेमहरू स्टोर गर्नका लागि भने ५१२ जीबी वा १ टीबी उपयुक्त मानिन्छ ।

४. ग्राफिक्स कार्ड (GPU)

यदि तपाईँ गेम खेल्ने, थ्रीडी मोडलिङ गर्ने वा भिडिओ एडिटिङ गर्नु हुन्छ भने त्यसका लागि ग्राफिक्स कार्ड महत्त्वपूर्ण हुन्छ । अधिकांश ल्यापटपहरूमा सीपीयूमा निर्मित 'एकीकृत ग्राफिक्स' (Integrated graphics) राखिएको हुन्छ । जुन वेब ब्राउजिङ, माइक्रोसफ्ट अफिस र नेटफ्लिक्स हेर्नका लागि पर्याप्त हुन्छ ।

तर गेमिङ, भिडिओ एडिटिङ र रेन्डरिङका लागि एनभिडिया जीफोर्स आरटीएक्स, एएमडीको रेडियन आरएक्स जस्ता डेडिकेटेड ग्राफिक्स कार्ड अनिवार्य हुन्छ । धेरै मानिसहरूले ल्यापटप खरिद गर्दा गेमिङका लागि उपयुक्त हुन्छ होला भन्ने सोच्छन् । तर डेडिकेटेड जीपीयू नहुँदा निराशा मात्रै हात लाग्छ ।

५. पोर्ट र कनेक्टिभिटी

नयाँ ल्यापटपहरू पातलो हुँदै गएकाले पोर्टहरूको सङ्ख्या घट्दै गएको छ । त्यसैले तपाईँलाई आवश्यक पर्ने पोर्टहरू छन् कि छैनन् भनेर जाँच गर्न नभुल्नुहोस् । ल्यापटपमा यूएसबी-ए पोर्ट, यूएसबी-सी, एचडीएमआई (टिभी वा मनिटरमा जोड्नका लागि), हेडफोन ज्याक र एसडी कार्ड रिडर (फोटोग्राफरका लागि उपयोगी) भएको कुरा निश्चित गर्नुहोस् ।

ल्यापटपमा यूएसबी-सी पीडी (पावर डेलिभरी) सपोर्ट गर्ने पोर्ट छ भने तपाईँ एउटै यूएसबी-सी चार्जरले ल्यापटप, फोन र अन्य उपकरणहरू चार्ज गर्न सक्नुहुन्छ । थन्डरबोल्ट पोर्टहरू हाई ब्यान्डविथ, एक्सटर्नल जीपीयू, भिडिओ आउटपुट र डकिङ स्टेसन (docking stations) का लागि अत्यन्त उपयोगी हुन्छन् ।

६. उज्यालो डिस्प्ले

अँध्यारो वातावरणमा काम गर्न ब्याकलिट किबोर्ड राम्रो हुन्छ, तर प्रत्यक्ष सूर्यको प्रकाशमा काम गर्दा डिस्प्लेको उज्यालोपन महत्त्वपूर्ण हुन्छ । नयाँ ल्यापटप खरिद गर्दा कम्तीमा ५०० देखि ६०० निट्ससम्मको डिस्प्ले खोज्नुहोस् । ३०० निट्स इनडोर प्रयोगका लागि पर्याप्त भए पनि बाहिरी वा खुला ठाउँमा प्रयोग गर्नका लागि उपयुक्त हुँदैन ।

त्यस्तै एचडीआर डिस्प्लेहरूमा राम्रो रङ र कन्ट्रास्ट पनि हुन्छ । टचस्क्रिनले विन्डोज र वेब ब्राउजरहरूमा छिटो नेभिगेट गर्न मद्दत गर्छ । यद्यपि यसले औँलाको छाप बस्न सक्छ र महँगो पर्न सक्छ । यो विषयमा चाहिँ आफ्नो सहजताका आधारमा निर्णय लिन सक्नु हुन्छ ।

७. पर्याप्त ब्याट्री र फास्ट चार्जिङ

ल्यापटपको ब्याट्री क्षमताका साथै सीपीयूको बिजुली खपत र स्क्रिनको उज्यालोपनले ब्याट्री लाइफमा असर गर्छ । पुरानो ल्यापटप किन्दै हुनुहुन्छ भने कम्तीमा ३-४ घण्टा सामान्य वेब ब्राउजिङमा टिक्ने ब्याट्री लाइफ आवश्यक पर्छ । फास्ट चार्जिङ सुविधा अहिले अनिवार्य कुरा हो । जसले गर्दा तपाईँ छोटो समयमा पनि ल्यापटप चार्ज गर्न सक्नुहुन्छ । इन्टेलको तुलनामा अहिले फास्ट चार्जिङ र टिकाउ ब्याट्रीका लागि राइजन प्रोसेसर बढी लोकप्रिय हुँदै गएको छ ।

८. मजबुत बनावट

ल्यापटपको बनावट पनि बलियो हुनुपर्छ । अनावश्यक रूपमा लचकदार वा चर्केको आवाज निस्किनु हुँदैन । आल्मुमिनियम र म्याग्नेसियम एलोयज जस्ता धातुबाट बनेका ल्यापटप प्रिमियम देखिन्छन् र त्यो फिल समेत गर्न सकिन्छ । तर उच्च गुणस्तरको प्लास्टिक पनि प्रभावकारी हुन सक्छ । डिस्प्लेलाई राम्रोसँग समात्ने बलियो हिन्ज चाहिन्छ ।

९. उत्कृष्ट ब्याकलिट किबोर्ड र ठुलो टचप्याड

अँध्यारो वातावरणमा पनि काम गर्नका लागि ब्याकलिट किबोर्ड आवश्यक पर्छ । पिन्च-टु-जुम जस्ता जेस्चर गर्नका लागि पर्याप्त मात्रामा ठुलो टचप्याड चाहिन्छ ।

१०. बायोमेट्रिक सेक्युरिटी

फिङ्गरप्रिन्ट रिडर वा फेसियल रिकग्निसनका लागि इन्फ्रारेड क्यामेरा जस्ता बायोमेट्रिक हार्डवेयर अनिवार्य छन् । यसले विन्डोज हेलोमार्फत सुरक्षित र सुविधाजनक लगइन प्रदान गर्दछ । जसले सार्वजनिक स्थानमा वा अरूको अघि पिन टाइप गर्दा हुनसक्ने जोखिमबाट बचाउँछ । बायोमेट्रिक्सले पासवर्ड म्यानजेर अनलक गर्न र पासकीहरू प्रमाणीकरण गर्न पनि मद्दत गर्दछ ।

११. सजिलै अपग्रेड गर्न मिल्ने स्पेस

गेमिङ ल्यापटप बाहेक सोल्डर गरिएको र्‍याम वा स्टोरेज नभएका ल्यापटपहरूलाई प्राथमिकता दिनुहोस् । नियमित एम.२ एनभीमी (M.2 NVMe) र र्‍याम स्लट भएका ल्यापटपहरू भविष्यमा अपग्रेड गर्न सकिन्छ । जुन विशेष गरी प्रयोग गरिएका ल्यापटपहरूका लागि महत्त्वपूर्ण हुन्छ ।

माथि उल्लिखित टिप्सले तपाईँलाई आफ्नो आवश्यकता अनुसारको उत्कृष्ट ल्यापटप छनौट गर्न मद्दत गर्नेछन् भन्ने विश्वास छ । केवल सस्तो वा लोकप्रिय मोडलमा मात्र नहेर्नुहोस्, बरु आफ्नो दैनिक कार्य प्रवाह र दीर्घकालीन उपयोगिताका लागि आवश्यक स्पेसिफिकेसनहरूमा ध्यान दिनुहोस् । राम्रो हार्डवेयरमा गरेको लगानीले तपाईँको उत्पादकत्व (productivity) बढाउँछ र तपाईँको ल्यापटपलाई लामो समयसम्म टिकाउ बनाउँछ ।

 

पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ १२:३६