काठमाडौँ । कम्प्युटर प्रयोग गर्दा माउसको प्रयोग गरेर धेरै पटक क्लिक गर्ने कामलाई किबोर्डका केही किहरूको साधारण संयोजनले छिटो र सहज बनाउन सकिन्छ । यी शर्टकटले तपाईँको धेरै समय बचत गर्नुका साथै भित्रभित्र लुकेका टुलहरूमा समेत सजिलै पहुँच गर्न मद्दत गर्दछन् ।
यो शर्टकटको अवधारणा कुनै नौलो विषय भने होइन । कम्प्युटर शर्टकट लगभग कम्प्युटर किबोर्ड जत्तिकै पुरानो हो । तर धेरै मानिसहरूलाई अझै पनि यस्ता शर्टकटको बारेमा जानकारी छैन वा कसरी प्रयोग गर्ने भन्ने थाहा छैन । तपाईँ पनि किबोर्डमा काम गर्नुहुन्छ र सहजतकाका लागि शर्टकटहरू प्रयोग गरी रहनु भएको छैन ? चिन्ता नलिनु होस्, आज हामी तपाईँलाई केही महत्त्वपूर्ण किबोर्ड शर्टकटहरूको बारेमा बताउँदै छौँ ।
शर्टकटको बारेमा थाहा पाउन अघि एकैछिन यसको अवधारण बुझौँ । किबोर्ड शर्टकटहरू एक वा सोभन्दा बढी किहरूको संयोजन हो । जुन एकैसाथ थिच्दा निर्देशित कामहरू गर्न सक्षम हुन्छन् । यदि शर्टकट प्रयोग नगर्ने हो भने त्यही काम मेनुबाट क्लिक गरेर वा कमान्ड-लाइन इन्टरफेसमा टाइप गरेर गर्नुपर्ने हुन्छ ।
किबोर्डका फङ्सन किहरू, जुन प्रायजसो किबोर्डको माथि F1, F2.. आदि चिन्ह लगाइएका हुन्छन् । विन्डोज किले पनि आफैँ शर्टकटको काम गरिरहेको हुन्छ । अन्य शर्टकट किहरूलाई कट्रोल कि (विन्डोज कम्प्युटरमा कहिलेकाहीँ Ctrl भनेर सङ्क्षिप्त रूपमा लेखिएको हुन्छ) वा कमान्ड कि (म्याकओएस कम्प्युटरहरूमा कहिलेकाहीँ CMD भनेर राखिएको हुन्छ । यस बाहेक किबोर्ड शर्टकटको रूपमा प्रयोग हुने अन्य किहरूमा सामान्यतया शिफ्ट कि, ALT कि र म्याकओएसमा अप्सन कि पनि पर्दछन् ।
विन्डोज, म्याकओएस र लिनक्स सिस्टमहरूमा केही 'युनिभर्सल' शर्टकटहरू उस्तै हुन्छन् । तर केही भने प्रत्येकका लागि युनिक अर्थात् आ-आफ्नै हुन्छन् । तपाईँ आफैँले किहरूका संयोजनबाट कमान्डहरू 'म्याप' गरेर आफ्नै शर्टकट समेत तयार पार्न सक्नुहुन्छ । तर यहाँ भने हामी सबैभन्दा उपयोगी पहिले नै म्याप गरिएका शर्टकटमा केन्द्रित छौँ । यी युनिभर्सल किबोर्ड शर्टकट विन्डोज, म्याकओएस र लिनक्स सबैमा काम गर्छन् र तपाईँको दैनिक कार्यलाई अझ सजिलो बनाउनका लागि अत्यन्त आवश्यक पनि छन् ।
युनिभर्सल शर्टकट
-
CTRL+Z/CMD+Z: कट्रोल वा कमान्ड कि र 'Z' कि एकसाथ थिच्दा अनडु (Undo) को काम हुन्छ । जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा शक्तिशाली र उपयोगी शर्टकट हो । यदि तपाईँले गल्तीले टेक्स्ट फाइलबाट पुरै अनुच्छेद वा आफ्नो हार्ड ड्राइभबाट पुरै फोल्डर डिलिट गर्नु भयो भने CTRL-Z ले प्रायः जसो अवस्थामा त्यसलाई पूर्ववत् रूपमा फिर्ता ल्याइदिन सक्छ ।
-
CTRL/CMD+A: यसले स्क्रिनमा भएका सबै कुरा चयन (Select) गर्छ ।
-
CTRL/CMD+C: यसले स्क्रिनमा चयन गरिएको कुरालाई कपी (Copy) गर्छ र तपाईँलाई आवश्यक पर्दा डुप्लिकेट गर्नका लागि कम्प्युटरको क्लिपबोर्डमा स्टोर गर्छ । यसका लागि तपाईँले विन्डोजमा CTRL+Insert पनि प्रयोग गर्न सक्नुहुन्छ ।
-
CTRL/CMD+V: यसले क्लिपबोर्डमा भएको कुरालाई टेक्स्ट फाइल वा फोल्डरमा पेस्ट गर्छ । विन्डोजमा तपाईँ यसका लागि SHIFT+Insert पनि प्रयोग गर्न सक्नुहुन्छ ।
-
CTRL/CMD+X: यो शर्टकटले तपाईँले चयन गरेको कुरालाई कट गर्छ, त्यसलाई मेटाउँछ र क्लिपबोर्डमा त्यसको एक प्रतिलिपि स्टोर गर्छ ।
-
CTRL/CMD+W: यसले तत्कालको अवस्थामा स्क्रिनमा मुख्य फोकस भएको कुरालाई बन्द गर्छ ।
-
CTRL/CMD+F: खोज्ने (Find) टुललाई यसले सक्रिय गर्छ, ताकि तपाईँ एउटा डकुमेन्ट, वेबपेज वा एप भित्र कुनै किवर्ड खोजी गर्न सक्नुहुन्छ ।
-
CTRL/CMD+P: यसले तपाईँको कम्प्युटर सिस्टमको प्रिन्ट बक्स देखाउँछ, जसले तपाईँको फाइललाई प्रिन्टरमा पठाउँछ ।
-
CTRL/CMD+N: यो शर्टकटले सन्दर्भ अनुसार नयाँ विन्डो वा डकुमेन्ट सिर्जना गर्छ । उदाहरणका लागि यदि तपाईँले विन्डोजको वर्डमा भएको बेला CTRL+N थिच्नु भयो भने नयाँ वर्ड डकुमेन्ट सिर्जना गर्छ । त्यसैगरी यदि तपाईँ आफ्नो ब्राउजरमा हुनुहुन्छ भने, यसले नयाँ ब्राउजर विन्डो खोल्छ ।
-
CTRL/CMD+S: यसले तपाईँको तत्कालको डकुमेन्टलाई सेभ गर्छ । अटोसेभ फिचर आउनुभन्दा अघिका दिनहरूमा हरेक केही मिनेटमा यो शर्टकट थिच्नु एक बाध्यात्मक किसिमको अभ्यास थियो । सामान्यतया यसमा शिफ्टलाई समेत थप्दा (Shift+CTRL/CMD+S) नयाँ नाममा फाइलको कपी सेभ हुन्छ ।
-
CTRL/CMD+R: जब तपाईँ ब्राउजर विन्डोमा फोकस हुनुहुन्छ, त्यतिबेला यो शर्टकटले तत्काल तपाईँ रहेको ब्राउजर पेजलाई रिफ्रेश गर्छ । त्यसमा शिफ्ट कि पनि थप्नु भयो भने (Shift+CTRL/CMD+R) हार्ड रिफ्रेश हुन्छ । जसले स्पिड बढाउनका लागि क्याश गरिएको डेटामा भर नपरी स्रोतबाट सबै डेटा पुनः लोड गर्छ ।
-
CTRL/CMD+O: यो शर्टकटले तपाईँ तत्कालीन अवस्थामा रहेको एप्लिकेसनका लागि ओपन डायलग बक्स खोल्छ ।
विन्डोज विशेष शर्टकट
-
ALT+TAB: ALT कि र TAB कि एकसाथ थिच्दा तपाईँलाई खुलेका विन्डोजहरूको बीचमा स्विच गर्ने सुविधा मिल्छ । यसलाई प्रयोग गर्न ALT कि थिचेर होल्ड गर्नुहोस् र जबसम्म तपाईँले पहुँच गर्न चाहेको विन्डो हाइलाइट हुँदैन तबसम्म TAB किलाई पटक पटक दबाउनु होस् । आफूले चाहेको विन्डोमा पुगेपछि त्यसलाई चयन गर्न ALT कि छोड्नुहोस् ।
-
ALT+F4: ALT र F4 कि एकसाथ थिच्दा तपाईँले फोकस गरिरहेको तत्कालको एप्लिकेसन बन्द (Quit) हुन्छ । यो CTRL+W भन्दा अलिकति फरक छ, जसले तत्कालको डकुमेन्ट बन्द गर्छ ।
-
CTRL+Backspace: यसले टेक्स्ट डकुमेन्ट वा डायलग बक्समा तपाईँको कर्सरको बायाँपट्टिको शब्दलाई डिलिट गर्छ ।
-
WIN+Down Arrow: यसले तपाईँको तत्कालको विन्डोलाई मिनिमाइज गर्दै जान्छ ।
-
WIN+D: शर्टकटको यो संयोजनले एकै पटक खुल्ला रूपमा रहेका सबै विन्डोजलाई मिनिमाइज गर्छ र तपाईँलाई डेस्कटप देखाउँछ । त्यसलाई पुनः दोहोर्याएर दबाउँदा पहिलेकै विन्डो अगाडि आउँछ ।
-
WIN+Left or Right Arrow: यसले तपाईँ तत्काल रहेको विन्डोलाई स्क्रिनको बायाँ वा दायाँ स्न्याप गर्छ ।
-
CTRL+ESC: कट्रोल कि र एस्केप कि एकसाथ थिच्दा विन्डोज स्टार्ट मेनु खुल्छ । यो मुख्यतया तपाईँको किबोर्डमा डेडिकेटेड विन्डोज कि नभएमा उपयोगी हुन्छ ।
-
F2: F2 फङ्सन कि थिच्दा सामान्यतया फाइलको नाम पुनर्लेखन (Rename) गर्ने डायलग बक्स खुल्छ ।
म्याकओएस-विशेष शर्टकट
-
MD+Q: विन्डोजमा ALT-F4 जस्तै, यो शर्टकटले तपाईँ तत्काल रहेको एप्लिकेसनलाई बन्द गर्छ ।
-
Option+Delete: विन्डोजको CTRL+Backspace जस्तै यसले तपाईँको कर्सरको बायाँपट्टिको शब्दलाई डिलिट गर्छ ।
-
CMD+D: यसले तपाईँले चयन गरेका फाइलहरूलाई डुप्लिकेट गर्नुका साथै कपी र पेस्टको लागि शर्टकटमा जोड्छ ।
-
CMD+H: तपाईँको तत्कालको एपलाई लुकाउँछ । Option+CMD+H+M ले विन्डोजको WIN+D जस्तै सबै एपहरूलाई लुकाउँछ ।
-
CMD+M: यसले तपाईँ रहेको तत्कालको विन्डोलाई मिनिमाइज गर्छ ।
-
CMD+Comma: यसले सामान्यतया एप्लिकेसनको प्रिफरेन्सेस मेनु देखाउँछ ।
यस बाहेक अन्य थुप्रै शर्टकटहरू पनि छन् । तर कम्तीमा यदि तपाईँले आफ्नो दैनिक काममा यी शर्टकट कि प्रयोग गर्न थाल्नुभयो भने तपाईँले दक्षतामा निश्चित रूपमा सुधार आउनेछ र कम्प्युटरको झन्झटमा कम भएको महसुस हुनेछ ।
पछिल्लो अध्यावधिक: साउन ३०, २०८२ २०:३८
