सेकेन्डभरमै तपाईँको बैँक खाता रित्याई दिन सक्ने ह्वाट्सएप स्क्रिन मिररिङ फ्रड, यसरी बच्नुहोस्
भदौ २, २०८२ २३:३४
काठमाडौँ । पछिल्ला दिनहरूमा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ह्वाट्सएप स्क्रिन मिररिङ ठगी फैलिरहेको छ । जहाँ ठगहरूले बैँक कर्मचारीको भेषमा व्यक्तिगत र वित्तीय डेटामा पहुँच प्राप्त गर्छन् ।
यो जालसाजी अत्यन्त खतरनाक छ । किनभने यसले अपराधीहरूलाई तपाईँको फोन र तपाईँको सबै निजी डेटामा प्रत्यक्ष पहुँच दिन सक्छ । आज हामी तपाईँलाई यो कस्तो प्रकारको फ्रड (ठगी) हो र यसबाट कसरी बच्ने भन्ने विषयमा बताउँदै छौँ ।
के हो ह्वाट्सएप स्क्रिन मिररिङ फ्रड ?
सबैभन्दा पहिला यो ठगी कसरी हुन्छ भन्ने विषयमा बुझौँ । यसमा जालसाजी गर्ने व्यक्तिले आफूलाई बैँक वा कुनै विश्वसनीय कम्पनीको कर्मचारी भएको दाबी गर्छ र तपाईँको खातामा समस्या आएको भन्दै तत्काल समाधानको लागि दबाब दिन्छ । उनीहरूले समस्या समाधान गर्ने एक मात्र उपाय फोनको स्क्रिन शेयर गर्नु हो भनी विश्वास दिलाउँछन् ।
यसरी ठगले प्रयोगकर्ताको फोनमा स्क्रिन-शेयरिङ वा रिमोट पहुँच अन गर्ने प्रक्रिया पनि सिकाउँछन् । यसलाई वैध देखाउनको लागि उनीहरूले ह्वाट्सएप भिडिओ कल सुरु गर्न भन्छन्, ताकि उनीहरूले तपाईँको स्क्रिन राम्रोसँग देख्न सकून् ।
जब तपाईँ भिडिओ कलमा स्क्रिन-शेयर गर्नु हुन्छ, त्यति बेला उनीहरूले तपाईँको फोनमा तपाईँले गर्ने सबै कुरा हेरिरहेका हुन्छन् । उनीहरूले तपाईँलाई बैङ्किङ एप खोल्न र केही ‘भेरिफिकेसन’ गर्न भन्न सक्छन् । त्यस्तो बेलामा तपाईँले पासवर्ड, पिन वा ओटीपी जे राख्नु हुन्छ, उनीहरूले त्यो देखेर चोरी गर्छन् ।
कतिपय अवस्थामा यस्ता ठगहरूले तपाईँलाई कि-लगर भएको मालिसियस एप इन्स्टल गर्न लगाएर पनि ठग्न सक्छन् । यो एक प्रकारको सफ्टवेयर हो, जसले तपाईँको फोनको किबोर्डमा टाइप गरेका सबै कुरा रेकर्ड गर्छ, जसमा तपाईँका बैङ्किङ एपहरू, सामाजिक सञ्जाल र अन्यका पासवर्डहरू समावेश हुन्छन् । एक पटक उनीहरूसँग यस्ता जानकारी भएपछि उनीहरूले तपाईँका खाताहरू नियन्त्रणमा लिएर रकम निकाल्न सक्छन् ।
अधिकांश बैङ्किङ एपहरूमा सुरक्षित स्क्रिन ओभरले, स्क्रिन क्याप्चर लकडाउन र सेसन टाइमआउट जस्ता सुरक्षा प्रबन्ध गरिएको हुन्छ । यद्यपि, सुरक्षाका यी उपायहरूको प्रभावकारिता प्लेटफर्म अनुसार भिन्न हुन सक्छ । कतिपय एपहरूले सिधै स्क्रिन शेयरिङ वा स्क्रिन रेकर्डिङ रोक्छन् । तर धेरैमा विशेष गरी रुटेड वा कम्प्रोमाइज्ड टुलहरूलाई बलियो गरी नियन्त्रण गर्नसक्ने क्षमताको अभाव हुन सक्छ । ग्राहकहरूले अनजानमा स्क्रिन-शेयरिङ अनुमति दिएमा केही थर्ड-पर्टी एपहरूले यस्ता सुरक्षा उपायहरूलाई बाइपास गर्न सक्छन् ।
ह्वाट्सएप स्क्रिन शेयरिङको ठगीबाट कसरी बच्ने ?
साइबर फ्रड अर्थात् ठगीबाट बच्नका लागि निम्न उपायहरू अपनाउन सक्नु हुन्छ ।
-
बैँक वा वित्तीय संस्थाहरूबाट बोलेको भन्दै कल गर्ने व्यक्तिको सत्यता प्रमाणित गर्नुहोस् ।
-
बैँक तथा वित्तीय संस्थाहरूले स्क्रिन-शेयरिङ गर्न लगाउँदैनन्, त्यसैले झुक्यानमा परी यसो गर्ने गल्ती नगर्नुहोस् ।
-
यदि तपाईँ एन्ड्रोइड फोन प्रयोग गर्नुहुन्छ भने ‘App installations from unknown sources’ अर्थात् अज्ञात स्रोतहरूबाट एप इन्स्टल गर्न सकिने सेटिङ बन्द गर्नुहोस् ।
-
शङ्कास्पद नम्बरहरूलाई तुरुन्तै ब्लक गर्नुहोस् र साइबर ब्युरोमा खबर गर्नुहोस् । यसका लागि ०१-५३१९०४४ वा 985-1286770 कल गर्न अथवा [email protected] मा ईमेल गर्न सक्नु हुन्छ ।
-
यदि कुनै अज्ञात व्यक्तिले तपाईँका नजिकका व्यक्तिहरू समस्यामा परेको दाबी गर्छ भने सधैँ तिनीहरूलाई सिधै ल्यान्डलाइन वा फरक नम्बरमा फोन गरेर पुष्टि गर्नुहोस् ।
-
फोन बेच्दा वा रद्दीमा फाल्दा डेटा मेटाउनुहोस् र फोनलाई फ्याक्ट्री सेटिङमा रिस्टोर गर्नुहोस् ।
-
अटो डाउनलोड डिसेबल गरी राख्नुहोस् ताकि तपाईँले के डाउनलोड भइरहेको छ भन्ने कुरा सधैँ जाँच गर्न सक्नुहोस् ।
तर,
-
अज्ञात वा शङ्कास्पद नम्बरहरूबाट आएका कलहरूको नउठाउनु होस् ।
-
स्क्रिन-शेयरिङ गर्दा वित्तीय एपहरू (जस्तै मोबाइल बैङ्किङ, कनेक्ट आईपीएस, डिजिटल वालेटहरू) कहिल्यै प्रयोग नगर्नुहोस् ।
-
बैङ्क खाता विवरण, पिन वा पासवर्ड जस्ता निजी जानकारी ह्वाट्सएप मार्फत कहिल्यै नपठाउनुहोस् ।
-
अपरिचित व्यक्तिहरू वा अज्ञात नम्बरहरूबाट मेसेजमा आएका लिङ्कमा क्लिक गर्ने वा फाइल डाउनलोड गर्ने कार्य कहिल्यै नगर्नुहोस् ।
-
अज्ञात नम्बरहरूबाट आउने शङ्कास्पद मेसेजको जवाफ कहिल्यै नदिनुहोस् ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ २३:३४
