सजिलो गरी यसरी बुझ्नुहोस् मोबाइल, ल्यापटप वा ईभीमा प्रयोग हुने ब्याट्रीको चार्जिङ साइकल
भदौ ४, २०८२ १२:३६
काठमाडौँ । मोबाइल फोन, ल्यापटप र विद्युतीय सवारी साधन (ईभी) जस्ता आधुनिक उपकरणहरूमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीको सन्दर्भमा 'चार्जिङ साइकल' एक महत्त्वपूर्ण अवधारणा हो । यो ब्याट्रीको आयु र कार्यसम्पादनसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ ।
चार्जिङ साइकल भनेको रिचार्जेबल ब्याट्रीलाई चार्ज गर्ने र त्यसलाई लोडमा डिस्चार्ज गर्ने प्रक्रिया हो । यो समयको एकाइ होइन । साधारण शब्दमा भन्नुपर्दा ब्याट्रीको कुल क्षमताको १०० प्रतिशत प्रयोग गर्नु एक चार्ज साइकल हो । यसको अर्थ तपाईँले ब्याट्रीलाई १००% बाट ०% मा झारेर चार्ज गर्नुपर्छ भन्ने पनि होइन ।
उदाहरणका लागि यदि तपाईँले एक दिन ब्याट्रीको ७५% क्षमता प्रयोग गर्नुभयो र रातभर फुल चार्ज गर्नुभयो । अनि अर्को दिन २५% प्रयोग गर्नुभयो भने यी दुई दिनको प्रयोग जोडेर कूल १००% क्षमता खपत हुन्छ । यसैलाई एक चार्ज साइकल मानिन्छ ।
चार्जिङ साइकलको सङ्ख्याले ब्याट्रीको अपेक्षित लाइफ वा आयुलाई जनाउँछ । यदि तपाईँको फोनको चार्जिङ साइकल १६०० छ भने त्यसको ब्याट्री १६०० साइकलसम्म ढुक्कले प्रयोग गर्न सकिन्छ भन्ने हो । ब्याट्रीको १०० प्रतिशत चार्जलाई एउटा साइकल मानिने भएकाले १६०० पटकमा कूल १,६०,००० प्रतिशत चार्ज हुन्छ ।
यदि तपाईँ दिनमा औसत ५० प्रतिशत ब्याट्री खपत गर्नु हुन्छ भने तपाईँको ब्याट्रीको आयु करिब ९ वर्ष (३,२०० दिन) हुन्छ । त्यस्तै यदि दैनिक औसत ८० प्रतिशत ब्याट्री खपत गर्नु भयो भने पनि त्यो फोनको ब्याट्री साढे पाँच वर्ष ढुक्कले टिक्न सक्छ ।
चार्जिङ साइकलको गणना कसरी गरिन्छ ?
लिथियम-आयन ब्याट्रीहरूको 'स्टेट-अफ-चार्ज' (SoC) अर्थात् चार्जको अवस्था अनुमान गर्न कुलम्ब गणना (Coulomb Counting) विधि प्रयोग गरिन्छ । यस विधिले ब्याट्रीमा बाहिरबाट भित्र र भित्रबाट बाहिर प्रवाह हुने करेन्टलाई एकीकृत गरेर कूल चार्ज स्थानान्तरण भएको निर्धारण गर्दछ । परम्परागत भोल्टेजमा आधारित मापन विधिहरूभन्दा कुलम्ब गणना बढी भरपर्दो र रियल-टाइम मूल्याङ्कन प्रदान गर्दछ । किनकि भोल्टेज प्रायः तापक्रम र लोड भिन्नताका कारण गलत हुन सक्छ । ब्याट्री व्यवस्थापन प्रणाली (BMS) ले ब्याट्रीको सुरक्षित प्रयोग र लामो आयुको लागि यसको अवस्था निगरानी र अनुमान गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
ब्याट्रीको आयु बढाउने महत्त्वपूर्ण टिप्स
-
हाई भोल्टेजबाट जोगाउने: ब्याट्रीलाई हाई भोल्टेजमा चार्ज गर्दा ब्याट्रीमा दबाब पर्छ । लिथियम-आयन ब्याट्रीहरू ४.२० भोल्ट प्रति सेलमा चार्ज हुन्छन् । तर यसभन्दा बढी भोल्टेजमा चार्ज गर्दा नकारात्मक असर पर्न सक्छ ।
-
अत्याधिक तापक्रम नियन्त्रण गर्ने: अत्यधिक तापक्रमले ब्याट्रीको कार्यसम्पादन र आयुमा प्रतिकूल असर पार्छ । ब्याट्री चार्ज गर्दा वा प्रयोग गर्दा धेरै तातो हुनबाट बचाउनुहोस् । स्मार्टफोनलाई सिरानी मुनि वा रजाई मुनि राखेर चार्ज गर्दा भेन्टिलेसन (हावा पास) कम हुन्छ र ब्याट्री तातो भई छिटो खराब हुन सक्छ ।
-
प्यारासिटिक लोड (Parasitic Load) बाट बचाउने: चार्ज गरिरहेको बेला डिभाइस प्रयोग गर्दा (जसलाई 'पारासिटिक लोड' भनिन्छ) त्यसले चार्जरलाई भ्रममा पार्न सक्छ र यसले 'मिनी-साइकल' निम्त्याई ब्याट्रीमा चाप बढाउन सक्छ । त्यसैले सामान्यतयाः डिभाइस चार्ज गर्दा बन्द गर्नु राम्रो हुन्छ ।
-
फास्टभन्दा स्लो चार्जिङ राम्रो: सामान्यतया ब्याट्रीलाई ढिलो गतिमा चार्ज गर्नु लामो अवधिको टिकाउपनका लागि राम्रो मानिन्छ । फास्ट चार्जिङले डिभाइसलाई तातो बनाउन सक्छ, यद्यपि आधुनिक चार्जिङ प्रणालीहरू तातोपनलाई सकेसम्म कम गर्नेगरी विकसित गरिएका हुन्छन् ।
-
ओभरचार्ज नगर्ने: लिथियम-आयन ब्याट्रीहरूले ओभरचार्ज लिन सक्दैनन् । पूर्ण चार्ज भएपछि चार्ज प्रवाह रोकिनुपर्छ । निरन्तर 'ट्रिकल चार्ज' गर्दा मेटालिक लिथियमको प्लेटिङ भई सुरक्षामा असर पर्न सक्छ ।
-
पूर्ण डिस्चार्ज नगर्नेः लिथियम-आयन ब्याट्रीहरूलाई पूर्ण रूपमा डिस्चार्ज गर्नु उचित हुँदैन । बरु सकेसम्म ब्याट्री २० प्रतिशतभन्दा कम नहुँदै चार्ज गर्ने बानी बसाल्नुहोस् ।
पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ १२:३६
