close

मोती डिजिटल स्टुडियो, जसको युट्युब च्यानलमा गुन्जिन्छन् गाउँगाउँका मौलिक तीज भाका

हिक्मत आचार्य हिक्मत आचार्य

भदौ ४, २०८२ २०:०

मोती डिजिटल स्टुडियो, जसको युट्युब च्यानलमा गुन्जिन्छन् गाउँगाउँका मौलिक तीज भाका

काठमाडौँ । तीज नजिकिँदै गर्दा फेसबुक, युट्युब, टिकटक लगायतमा छाडा र भड्किला गीतको बाढी नै आउँछ । तिनै गीतमा आउने भ्युज, लाइक, कमेन्ट र शेयरकै बढी चर्चा हुन्छ । त्यसैमा मौलिक कला, संस्कृति र रहनसहनलाई बिर्सिएर सहरिया परम्परालाई प्रश्रय दिएको भन्दै केहीको आलोचना पनि हुन्छ ।

तर, यही भीडमा कतै गाउँका आँगनमा गुन्जिने मौलिक तीजका भाका पनि छन् जहाँ महिला रातो सारीमा सजिएर केवल एउटा मादलको तालमा जीवनका सुखदुःख पोखिरहेका हुन्छन् । संस्कृति जोगाइरहेका छन् । रिच र भ्युजको मोहलाई बिर्सिएर रीतिलाई निरन्तरता दिइरहेका छन् । यस्तै सयौँ मौलिक भिडिओको सङ्ग्रह हो ‘मोती डिजिटल स्टुडियो’ नामक युट्युब च्यानल ।

झट्ट हेर्दा यो कुनै ठुलो म्युजिक कम्पनीको उत्पादन जस्तो देखिन्छ । तर, यो कास्की र तनहुँमा फोटो स्टुडियो सञ्चालन गरिरहेका ‘सुशील अधिकारी’को सोच र परिश्रमको प्रतिफल हो । जसले आफ्नो व्यावसायिक प्रचारलाई संस्कृति संरक्षणको अभियानमा बदलेका छन् ।

मार्केटिङको रणनीतिदेखि सुरु भएको यात्रा

स्याङ्जामा जन्मी तनहुँ र पोखरालाई कर्मथलो बनाएका ‘मोती डिजिटल स्टुडियो’का सञ्चालक अधिकारीको यो यात्रा करिब छ वर्षअघि सुरु भएको थियो । सुरुमा यो उनको फोटो तथा भिडिओग्राफी व्यवसायको लागि एउटा ‘मार्केटिङ पोलिसी’ मात्र थियो । त्यहीबेला विवाह, व्रतबन्ध लगायतका कार्जेमा भिडिओ खिच्न गाउँ-गाउँ पुग्दा उनले तीजको मौलिक भाका गुनगुनाइरहेको एउटा महिला समूह देखे ।

“विवाहको भिडिओ खिच्न गाउँघरमै जानुपर्ने हुन्छ । एक पटक त्यसरी गाउँ जाँदा महिला समूहले तीजको दिन मौलिक गाएको देखेँ,” उनी आफ्नो यात्रा सम्झन्छन्, “यी गीतलाई तीज आउनुभन्दा एक महिना अगाडिदेखि नै रेकर्ड गरेर प्रसारण गर्न पाइयो भने त दिदीबहिनीको कला बाहिर आउँछ र यता आफ्नो मार्केटिङ पनि हुन्छ भन्ने सोचेँ ।”

तीजका गीत मौसमी हुन्छन् । तीजको बेला बढी चल्छन् । त्यसपछि आए खासै महत्त्व पनि हुँदैन । कसैले ती भिडिओ खिचेर सामाजिक सञ्जाल वा अन्य प्लेटफर्ममा राखेका छन् भने पनि एउटा सङ्ग्रहका रूपमा व्यवस्थित हुँदैनन् । यिनै मौलिक तीजका गीतलाई व्यवस्थित गर्न व्यावसायिक क्यामेराले खिचेर सङ्ग्रह गर्ने सोच बनाए ।

यही सोचलाई आफ्नै गाउँठाउँबाट अगाडि बढाउने उनको योजना थियो । तर, उनको पहिलो गाँसमै ढुङ्गा लाग्यो । “मैले सुरु आफ्नै गाउँबाट गरौं न त भन्ने सोचेँ,” उनी भन्छन्, “तर, मैले संस्कृति प्रवर्द्धनका लागि गरिएको कुरालाई आम्दानीसँग जोडेर बदनाम गरे । तर, त्यतिमै हार मानिनँ मैले ।”

उनी अगाडि भन्छन्, “हामीलाई भेला गरेर यसले पैसा कमाउन खोज्यो भन्ने सोच पनि भयो ।” तर उनको निःस्वार्थ लगाव देखेर विस्तारै सबैले विश्वास गर्न थाले । यही लगावले उनलाई गाउँका आमा समूहसम्म निःशुल्क पुर्‍यायो । उनी आफ्नो क्यामेरा लिएर जान्थे, गीत रेकर्ड गर्थे, त्यसलाई एडिट गर्थे । अनि आफ्नो च्यानलमा अपलोड गर्थे । 

गाउँका वृद्धवृद्धाको तस्बिर खिच्ने बाध्यताले जन्माएको प्यासन 

यो अभियान केवल व्यापारिक सोचबाट मात्र जन्मिएको थिएन । यसको पछाडि अधिकारीको एउटा मार्मिक अनुभव लुकेको छ । करिब ७-८ वर्षअघि उनले आफ्नो गाउँका सबै वृद्धवृद्धाको फोटो खिचेर राख्ने योजना बनाए । ताकि उनीहरूको देहावसानपछि श्रद्धाञ्जलीका लागि चिनिने तस्बिर होस् । तर त्यतिबेला पनि गाउँलेले ‘यसले व्यापार गर्न खोज्यो’ भनेर खिच्न दिएनन् ।

“मैले स्टुडियो सञ्चालन गर्ने भएकाले गाउँमा कोही बित्यो भने उसको श्रद्धाञ्जलि पोस्टर बनाउने काम मेरोमै हुन्थ्यो,” उनी भन्छन्, “तर, उहाँहरू नागरिकता ल्याएर त्यसैबाट फोटो निकालेर ठुलो ब्यानर बनाउन भन्नुहुन्थ्यो । एउटा त नागरिकतामा भएको फोटो र वास्तविक फोटो मेल खाँदैन । फेरि उहाँहरूसँग अर्को फोटो पनि हुँदैन । उहाँहरूलाई नै सजिलो होस् भन्नका लागि मैले वृद्धवृद्धाको फोटो खिचेर राख्न थालेको थिएँ । खै, यो ठिक थियो कि थिएन, तर गाउँलेहरूले गलत देखे ।” 

यही घटनाले उनलाई आफ्नो समाजको कला, संस्कृति र स्मृतिलाई समयमै ‘आर्काइभ’ गर्नुपर्छ भन्ने गहिरो बोध गरायो । त्यसपछि उनी भजन, रत्यौली, दोहोरी, पञ्चेबाजासँग सम्बन्धित भिडिओ खिच्न थाले । र, त्यसैलाई युट्युबमा राख्न थाले । आज उनले रेकर्ड गरेका १५ सय बढी भिडिओ उक्त च्यानलमा अपलोड भएका छन् । उनको च्यानलमा पनि दुई लाख बढी सदस्य जोडिएका छन् । 

कसरी खिच्छन् मौलिक तीजका भिडिओ ?

सुशीलका अनुसार हाल उनको टिममा आफूसँगै भाइ युवराज अधिकारी र गोपाल लम्साल आबद्ध छन् । आफ्नो गाउँठाउँमा हुने विभिन्न किसिमका कार्यक्रममा भिडिओ खिच्न उनी पुगेकै हुन्छन् । त्यहीबाट विभिन्न क्षेत्रका महिला समूहलाई आफ्नो कुरा राख्छन् ।

“म आफूले भिडिओ खिच्न जाने ठाउँका आमा समूहका सदस्यहरू भेट्छु अनि उहाँहरूलाई यी कुरा राख्छु,” उनी आफ्नो शैलीबारे भन्छन्, “पहिले धेरैलाई कन्भिन्स गर्नुपर्थ्यो । अहिले महत्त्व बुझेपछि आफैँ मलाई सम्पर्क गर्नुहुन्छ ।” यसरी उनले विश्वस्त पारेको समूहले तयारी थाल्छन् । भाका छान्छन् अनि गुन्जिन्छन् मौलिक गीतहरू । तीनै भिडिओलाई आकर्षक तरिकाले खिचेर सुशील आफ्नो युट्युब च्यानलमा सङ्ग्रहित गर्छन् ।



उनले हालसम्म १८ ओटा महिला/आमा समूहका तीजका भिडिओ खिचेका छन् । तीज आउँदा उनी तिनै भिडिओ अपलोड गर्छन् । “खिच्नका लागि तीन ओटा क्यामेरा छन्,” उनी भन्छन्, “दुई ओटा स्ट्यान्डमा राख्छु । एउटा आफू बोक्छु । कहिलेकाहीँ भाइले पनि खिच्छ । त्यसपछि भिडिओलाई आफैँ एडिट गरेर युट्युबमा राख्छु ।” सुशील आफूलाई पायक पर्ने ठाउँमा आयोजना हुने कार्यक्रमका लागि कुनै शुल्क लिँदैनन् । तर, धेरै टाढा छ भने आयोजक समूहले नै खर्चको प्रबन्ध गरिदिन्छन् ।

“अहिले युट्युबमा भिडिओ राख्दा त्यस्तो आम्दानी हुने अवस्था छैन । स्टुडियो बन्द गरेर जानुपर्‍यो । यताको काम पनि रोकिन्छ । त्यतिका ग्याजेट प्रयोगमा आएका हुन्छन् । त्यसको पनि खर्च लाग्छ । त्यसैले टाढाको छ भने उहाँहरूले नै खर्च हालिदिने गर्नुभएको छ । तर, नजिकको छ भने हामी कुनै शुल्क लिंदैनौं । अहिलेसम्म दुई ओटा बाहेक सबै नजिकका भिडिओ छन्,” उनी सुनाउँछन् । 

चुनौती र समाधानका उपाय

मौलिक तीज, भजन, रत्यौली, दोहोरीलाई प्रवर्द्धन र संरक्षण गर्ने यो यात्रा सुशीलका लागि त्यति सहज भने छैन । निःशुल्क काम गर्दा कतिपय समूहले युट्युबबाट लाखौँ कमाएको होला भनेर आम्दानीको हिस्सा माग्ने गरेको तीतो अनुभव पनि उनीसँग छ । “एकपटक एउटा समूहले पैसा आश गरेपछि मैले मेसेन्जरमा स्क्रिन शेयर गरेरै युट्युबको आम्दानी देखाइदिएँ,” उनी भन्छन्, “अनि उहाँहरूले बुझ्नुभयो । मेरो श्रम, क्यामेराको लगानी र समयको हिसाब गर्दा युट्युबको आम्दानी नगन्य छ ।”

सबैभन्दा ठुलो चुनौती भनेको ‘कपिराइट’को हो । कहिलेकाहीँ एउटा समूहले गाएको गीत अर्को कुनै स्रष्टाको सिर्जना हुन पुग्छ । हालसालै एक समूहले गाएको गीतमा यस्तै विवाद आएपछि उनले भिडिओ हटाउनुपर्‍यो । अहिले उनी हरेक समूहलाई कसैको सिर्जना हुबहु नक्कल नगर्न, राजनीतिक र व्यक्तिगत आक्षेप नलगाउन पहिले नै सचेत गराउँछन् ।

सफलताको स्वाद: चितवन र पर्वतबाट आएको फोन

उनको यो अभियानले भौगोलिक सीमा नाघिसकेको छ । हालै चितवन र पर्वतबाट दुई जना डाक्टर महिलाले उनलाई सम्पर्क गरेर आफ्नो गाउँको समूहको गीत रेकर्ड गरिदिन अनुरोध गरे । “उहाँहरूले आउजाउ खर्च दिएर बोलाउनुभयो । पर्वतमा त दिदी-बहिनीले एक हप्ता तयारी गरेर, एउटै साडी किनेर गीत रेकर्ड गराउनुभयो । त्यो देख्दा आफूलाई निकै खुसी लाग्यो,” उनी उत्साहित हुँदै सुनाउँछन् ।

अहिले उनले राखेको युट्युब च्यानलमा भ्युजको ओहिरो लागिरहेको छ । यसमा सबैभन्दा ठुलो भूमिका टिकटकले खेलेको सुशील सुनाउँछन् । “यो वर्ष राखेको तीजको गीत यही वर्ष चर्चामा आउँछ भन्ने छैन । टिकटकले गर्दा हाम्रा पुराना भिडिओहरू भाइरल भइरहेका छन्,” उनी अगाडि भन्छन्, “यसबाट आफ्नो मौलिक रीतिरिवाज बँचाउनु पर्छ भन्ने सन्देश पनि गएको छ ।”

टिकटकले ‘मोती डिजिटल स्टुडियो’लाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याए पनि केही प्रयोगकर्ताले पूरै भिडिओ अपलोड गरिदिँदा उनी निरुत्साहित बनेका छन् । “यी मौलिक गीत राखेर लाखौँ कमाउँछु भन्ने उद्देश्य त होइन,” उनी भन्छन्, “तर, अरूले पूरै भिडिओ डाउनलोड गरेर टिकटकमा हालिदिँदा त्यसले हाम्रो च्यानलका दर्शकलाई असर पारेको छ । हामीले गरेको मेहनतको श्रेय नक्कल गर्नेले पाइरहेको छ ।”

 

सुशीलका अनुसार उनको वास्तविक कमाइ भनेको त्यही भिडिओ हेरेर गाउँबाट आउने विवाह र व्रतबन्ध खिच्ने अर्डर हुन् । “जुन टोलमा तीजको गीत खिच्न गयो, त्यही टोलबाट पछि बिहे, ब्रतबन्ध वा अन्य कार्यक्रमको काम आयो भने मलाई सबैभन्दा ठुलो सन्तुष्टि मिल्छ,” उनी भन्छन्, “खास आफ्नो व्यवसायको प्रचार गर्न सुरु गरेको कामले संस्कृति प्रवर्द्धनमा सहयोग पुर्‍याएको देख्दा दङ्ग छु ।”

पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १७:२४