close

च्याटजीपीटीले भारतमा सस्तो मोडेल ल्याएपछि युट्युबर ध्रुव राठीको स्टार्टअप दुई दिनमै सङ्कटमा ?

टेकपाना टेकपाना

भदौ ४, २०८२ २०:८

च्याटजीपीटीले भारतमा सस्तो मोडेल ल्याएपछि युट्युबर ध्रुव राठीको स्टार्टअप दुई दिनमै सङ्कटमा ?

काठमाडौँ । भारतीय युट्युबर ध्रुव राठीले आइतबार ‘एआई फियास्टा’ नामक नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप सार्वजनिक गरे । च्याटजीपीटी, जेमिनाई, क्लाउड, ग्रोकजस्ता चर्चित एआई मोडेलको प्रिमियम संस्करण एउटै प्लेटफर्म मार्फत सस्तो मूल्यमा उपलब्ध गराउन राठीले यो प्लेटफर्म सुरु गरेका हुन् ।

तर, त्यसको एक दिनपछि ओपनएआईले भारतका प्रयोगकर्तालाई लक्षित गर्दै ‘च्याटजीपीटी गो’ नामक नयाँ मोडेल सार्वजनिक गर्‍यो । कम्पनीका अनुसार यसले निःशुल्क मोडेलको तुलनामा १० गुणा बढी मेसेज पठाउन, १० गुणा बढी तस्बिर तयार गर्न, १० गुणा बढी फाइल अपलोड गर्न र दुई गुणा बढी मेमोरीको सुविधा दिनेछ । यसको मूल्य ३९९ भारतीय रुपैयाँ तोकिएको छ । यो शुल्क भारतीय प्रयोगकर्ताले क्रेडिट कार्ड र यूपीआई मार्फत भुक्तानी गर्न सक्छन् । 

यसअघि शुल्क महँगो हुनुका साथै अन्तर्राष्ट्रिय माध्यमबाट मात्र भुक्तानी गर्नुपर्ने बाध्यता थियो । यही कमजोरीलाई राठीले आफ्नो व्यापारको आधार बनाएका थिए ।

उनको एआई स्टार्टअपले च्याटजीपीटीसहित अन्य चर्चित एआई मोडेलको प्रिमियम सेवा ९९९ भारुमा उपलब्ध गराउने दाबी गरेको थियो । तर, राठीले आफ्नो भिडिओमा उक्त शुल्कमा प्रयोगकर्ताले के-के सुविधा पाउँछन् भन्नेबारे स्पष्ट पारेका थिएनन् । पछि प्रयोगकर्ताले ‘एआई फियास्टा’ले दिने टोकन र अन्य एआई प्लेटफर्मको सेवा तुलना गर्दा राठीको प्लेटफर्म औसत मात्र रहेको प्रारम्भिक रिभ्युमा बताएका छन् ।

यता च्याटजीपीटीले राठीको भन्दा निकै सस्तो मूल्यमा नयाँ प्लान सार्वजनिक गरेको छ । यसले गर्दा च्याटजीपीटीमा अभ्यस्त प्रयोगकर्ताले पुरानै मोडेल प्रयोग गर्ने सम्भावना बढेको छ । यसै कारण राठीको स्टार्टअप सार्वजनिक भएको एक दिनमै सङ्कटमा परेको चर्चा हुन थालेको छ । यद्यपि राठीको प्लेटफर्मले च्याटजीपीटीसहित ग्रोक, जेमिनाई र पर्प्लेक्सिटीको प्रिमियम सेवा एउटै च्याटबक्सबाट दिने जनाएको थियो ।

उता युट्युबर राठीले भने आफ्नो स्टार्टअप सार्वजनिक भएको एक दिनमै ५० हजार पटक डाउनलोड भएको भन्दै यो सबैभन्दा तीव्र गतिमा विस्तार भएको एआई स्टार्टअप भएको दाबी गरेका छन् । तर, उनको प्लेटफर्मले प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

एआईका निःशुल्क मोडेल प्रयोग गर्दा गुणस्तरीय जवाफ नपाउने सम्भावना उच्च हुन्छ । यसले गर्दा प्रयोगकर्ताहरू वैकल्पिक प्लेटफर्म खोजिरहेका हुन्छन् । तर, प्रिमियममा भने यो समस्या निकै कम हुन्छ । यस्तोमा प्रयोगकर्ताले फरक फरक प्लेटफर्ममा शुल्क तिरेर सब्स्क्रिप्सन किन लिन्छन् भन्ने केहीको तर्क छ । तथापि राठीले भारतीय प्रयोगकर्तालाई सस्तोमा विश्वचर्चित एआई टुलको प्रिमियम सेवा निकै कम शुल्कमा उपलब्ध गराएको भन्दै उनको चर्चा पनि उत्तिकै भइरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ २०:१०