close

टिकटकले ल्यायो विद्यार्थीहरू आफ्नो क्याम्पसमा अध्ययनरत अन्य साथीसँग जोडिन सघाउने नयाँ फिचर

टेकपाना टेकपाना

भदौ ४, २०८२ २२:३६

टिकटकले ल्यायो विद्यार्थीहरू आफ्नो क्याम्पसमा अध्ययनरत अन्य साथीसँग जोडिन सघाउने नयाँ फिचर

काठमाडौँ । टिकटकले कलेजका विद्यार्थीहरूलाई लक्षित गर्दै 'क्याम्पस भेरिफिकेसन' नामक नयाँ फिचर सुरु गरेको छ । प्रयोगकर्ताहरूलाई आफ्नो क्याम्पसका अन्य विद्यार्थीहरूसँग जोडिन र भेट्न मद्दत गर्ने उद्देश्यका साथ यो फिचर ल्याइएको हो ।

यो कदमलाई सन् २००४ मा भएको फेसबुकको सुरुवाति दिनसँग तुलना गरेर हेर्न थालिएको छ । तत्कालीन समयमा हार्वर्डका विद्यार्थीहरूलाई जोड्ने माध्यमको रूपमा फेसबुकको उदय भएको थियो ।

यो फिचर ६,००० भन्दा बढी विश्वविद्यालयहरूमा उपलब्ध हुने बताइएको छ । यसले टिकटकलाई क्याम्पसमा वास्तविक जीवनका सम्बन्ध र आत्मीयताको केन्द्र बनाउने लक्ष्य राखेको छ ।

 

नयाँ फिचर कसरी गर्छ काम ?

प्रयोगकर्ताहरूले आफ्नो प्रोफाइलमा गएर 'Add school' बटनमा ट्याप गर्नुपर्छ । त्यसपछि उनीहरूले आफ्नो विश्वविद्यालयको नाम र ग्य्राजुएट हुने वर्ष प्रविष्ट गर्नुपर्छ ।

आफू सोही विद्यालयको विद्यार्थी भएको प्रमाणित गर्न प्रयोगकर्ताहरूले आफ्नो शैक्षिक ईमेल एड्रेस उपलब्ध गराउनुपर्छ । एक पटक प्रमाणित भएपछि उनीहरूको कलेजको नाम र स्नातक हुने वर्ष प्रोफाइलमा देखिनेछ ।

विद्यार्थीहरूले त्यसपछि आफ्नो कलेजको पेज ब्राउज गर्न, स्नातक हुने वर्षअनुसार फिल्टर गर्न र सो कलेजका सबै प्रयोगकर्ताहरूलाई हेर्न सक्नेछन् । प्रयोगकर्ताहरूले सबैभन्दा बढी फलो गरिएका प्रयोगकर्ताहरूलाई पहिले देखाउनेगरी मिलाउन पनि सक्नेछन् ।

टिकटकले विद्यार्थी प्रमाणीकरण प्लेटफर्म युनिडेज (UNiDAYS) सँगको साझेदारीमा यो फिचर उपलब्ध गराएको हो, जसले विद्यार्थीको स्थिति पुष्टि गर्दछ । यो फिचरले विद्यार्थीहरूलाई क्याम्पसमा अन्य व्यक्तिहरूसँग जोडिन सघाउनेछ । यद्यपि, यसले डिजिटल गोपनीयताका बारेमा भने चिन्ता बढाएको छ । किनकि यसले प्रयोगकर्ताहरूलाई अनलाइन ट्र्याक गर्न सजिलो बनाउन सक्छ ।

तर, यो फिचर वैकल्पिक भएकोले विद्यार्थी जीवनबाट आफ्नो टिकटकलाई अलग राख्न चाहने प्रयोगकर्ताले आफ्नो कलेज थप नगर्ने विकल्प रोज्न सक्छन् । इन्स्टाग्रामले पनि गत वर्ष यस्तै फिचर परीक्षण गरिरहेको देखिएको थियो । यद्यपि, मेटाको स्वामित्वमा रहेको उक्त प्लेटफर्मले यो फिचर रद्द गर्‍यो वा अझै पनि रोल आउट गर्ने योजनामा छ भन्ने कुरा चाहिँ स्पष्ट छैन ।

 

पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ २२:३६