close

फ्याक्टचेक: ‘बाँदरले मान्छे मार्‍यो’ भन्दै अन्नपूर्ण पोस्ट सहित शिलापत्र, देशसञ्चारले लेखेको समाचार भ्रामक

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

भदौ ४, २०८२ ०:४६

फ्याक्टचेक: ‘बाँदरले मान्छे मार्‍यो’ भन्दै अन्नपूर्ण पोस्ट सहित शिलापत्र, देशसञ्चारले लेखेको समाचार भ्रामक

काठमाडौँ । बुधबार बिहानदेखि नै नुवाकोटमा बाँदरको आक्रमणले एक पुरुषको मृत्यु भएको समाचार भाइरल भइरहेको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय गोकर्ण नेपालीको बाँदरको आक्रमणमा परेर मृत्यु भएको भन्दै उक्त समाचार भाइरल भएको हो । अन्नपूर्ण पोस्ट डटकमले बिहान ११:३६ मा देवचन्द्र भट्टको बाइलाइनमा“बाँदरले मान्छे मार्‍यो” शीर्षकमा समाचार प्रकाशित गरेपछि अन्य मिडिया तथा फेसबुक पेजहरूले पनि उस्तै भाष्यसहित समाचार/पोस्ट लेखेका छन् ।

तर टेकपानाले तथ्य-जाँच गर्दा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय गोकर्ण नेपालीको बुधबार बिहान बाँदर धपाउन जाँदा बेहोस भएर मृत्यु भएको कुरा सत्य भएपनि उनको मृत्युको कारण बाँदरको आक्रमण नभएको पत्ता लागेको छ ।

दाबी 

बुधबार बिहान ११:३६ मा अन्नपूर्ण पोस्ट डटकममा “बाँदरले मान्छे मार्‍यो” शीर्षकमा समाचार प्रकाशित भयो । समाचारमा लेखिएको छ- “नुवाकोटको कविलासका एक जना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट अचेत भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए ।” हेर्नुहोस् समाचार आर्काइभ लिङ्क

 

अन्नपूर्ण पोस्टले उक्त समाचारमा बाँदरले गाडी चलाउँदै गरेको जस्तो देखिने फोटो राखेको थियो । समाचारको शीर्षक “बाँदरले मान्छे मार्‍यो” अनि फोटो बाँदरले गाडी चलाउँदै गरेको जस्तो देखिएपछि पक्कै धेरै पाठकले बाँदरले चलाएको गाडीले ठक्कर दिई पुरुषको ज्यान गयो भन्ने बुझे होलान् । तर यो कसरी हुन सक्ला ! समाचारमा ध्यान तान्न अन्नपूर्ण पोस्टले क्लिक बेट शैली अपनायो कि ? पछि भने अन्नपूर्ण पोस्टले समाचारको फोटो परिवर्तन गर्यो । तर फेसबुक पोस्ट डिबग नगरेका कारण फेसबुक पेजमा शेयर भएको समाचारमा उही फोटो देखिन्छ । हेर्नुहोस् आर्काइभ लिङ्क र स्क्रिनशट ।

यस्तै, ‘शिलापत्र डटकम’ले बुधबार दिउँसो १:२९ मा “बाँदरको समूह जाइलागेपछि बेहोस, काठमाडौं ल्याउँदाल्याउँदै नुवाकोटका गोकर्ण नेपालीको मृत्यु” शीर्षकमा समाचार लेखेको पाइयो ।

उक्त समाचारको आमुखमा लेखिएको छ, “नुवाकोटको पञ्चकन्या गाउँपालिका कविलासका एक किसानले बाँदरको आक्रमणमा परी ज्यान गुमाएका छन् । बाँदर समूहको आक्रमणबाट अचेत भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।” बाँदरले एकसाथ आक्रमण गर्दा अचेत भएका उनको बाटोमा मृत्यु भएको उक्त समाचारमा उल्लेख छ । 

शिलापत्रले आफ्नो समाचारका लागि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलाई स्रोत लिएको छ । तामाङलाई उद्धृत गर्दै लेखिएको छ, “बिहान लौरो लिएर बाँदर धपाउन जानुभएछ । बाँदरको फौजले चारैतिरबाट घेरा हालेछ । उहाँ अत्तालिएर अचेत हुनुभएछ । घाउचोट कतै छैन । उपचारका लागि लैजाँदै गर्दा काठमाडौंको सामाखुसी पुगेपछि आफन्तले बाँच्ने आस नदेखेर फिर्ता ल्याउनुभएछ ।” समाचारमा पालिका अध्यक्षले गोकर्ण नेपाली अत्तालिएर अचेत भएको बताएका छन् । तर शिलापत्रले भने यसलाई आक्रमण गर्नुको रूपमा परिभाषित गरेको छ । सोही समाचारमा पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठको भनाइ उद्धृत गर्दै गोकर्ण नेपाली रक्तचापको बिरामी रहेको उल्लेख गरिएको छ । हेर्नुहोस् समाचारआर्काइभ लिङ्क । 

 


‘देशसञ्चार’ ले बुधबार दिउँसो १:१७ मा सामाजिक सञ्जाल फेसबुकमा “बाँदरको आक्रमणले किसानको ज्यान गयो” शीर्षकमा समाचार लेखेको छ । “पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको हो। आफ्नै बारीमा पसेका पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले उनलाई आक्रमण गरेको थियो,” समाचारमा उल्लेख छ । हेर्नुहोस् समाचारआर्काइभ लिङ्क । 
 


यस्तै किसिमका समाचारहरू अन्य अनलाइन न्युज पोर्टलले पनि लेखेका छन् । डीसीनेपाल, नयाँपेज, नेपाल फेस यसका केही उदाहरण हुन् । 

हुँदा हुँदा केही फेसबुक पेजले त नेपालीले खेतमा काम गरिरहेको क्रममा बाँदरले एक्कासि आक्रमण गर्दा घाइते भएको सम्म भन्न भ्याएका छन् । यसको उदाहरण हो ‘स्मार्ट न्युज’ नामक फेसबुक पेज । हेर्नुहोस् बुधबार दिउँसो ३:१६ मा उक्त पेजले सार्वजनिक गरेको रिल्सआर्काइभ पोस्ट

अनुसन्धान 

उक्त समाचारहरू सार्वजनिक भएपछि बाँदरको आक्रमणले गोकर्ण नेपालीको मृत्यु भएको हो वा होइन भनेर बुझ्न हामीले इलाका प्रहरी कार्यालय पञ्चकन्यामा सम्पर्क गर्‍यौँ । गोकर्ण​ बेहोस भएको घटनाका बारेमा थाहा पाएपछि बुधबार बिहानै प्रहरी घटनास्थलमा पुगेको जानकारी प्राप्त भयो ।

घटनास्थल पुग्दा बाँदर धपाउन जाँदा नेपालीलाई हृदयघात भएको भन्ने स्थानीयबाट बुझिएको इलाका प्रहरी कार्यालय पञ्चकन्याका प्रहरी सहायक निरीक्षक प्रविन घिमिरेले जानकारी दिए । उनले टेकपाना तथ्यजाँच टिमलाई भने, “हामी पुग्दा उहाँलाई लिएर स्थानीयहरू अस्पतालतर्फ गइसक्नु भएको रहेछ । अस्पताल जाँदाजाँदै बाटोमा नै मृत्यु भएपछि छहरेमा फिर्ता ल्याउनु भएको थियो । तर उहाँको शरीरमा निलडाम केही थिएन ।”

हामीले पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठलाई सम्पर्क गर्‍यौँ । उनले गोकर्ण नेपाली पछिल्लो समय प्रेसरको बिरामी रहेको बताए । उनले भने “उहाँ प्रेसरको बिरामी हुनुहुन्थ्यो । बाँदर एक/डेढ सयको हुलमा थिए भनेर गाउँलेले सुनाएका छन् । बारीमा जाँदा उहाँकी श्रीमतीले माथि घरबाट ‘मुटुको रोग छ ठुलो ठुलो स्वरले कराएर नबस्नू’ समेत भन्नु भएको रहेछ । उहाँ बाँदर देखेपछि कराउँदै दुई-तीन कान्ला तल झर्नुभएछ । बाँदरले छोप्न लाग्यो भनेर गाउँलेलाई पनि बोलाउनु भएको रहेछ । त्यसपछि छिमेकीहरू पनि बाँदरको हुल भएको ठाउँमा पुगेको, तर गोकर्णलाई बाँदरको हुल आसपास नदेखेपछि खोज्दै जाँदा बेहोस अवस्थामा फेला पारियो ।”

उनले अगाडि भने, “बाँदरले भौतिक आक्रमण गरेको प्रमाण केही फेला परेको छैन । बाँदरहरूको स्वभाव कराएर ख्याँ ख्याँ खु खु गरेर तर्साउने गर्छन्, बाँदरले आक्रमण नै गरेको छैन । उहाँ मुटुरोगी हुनुहुन्थ्यो । अत्तालिएर ढल्नुभएछ । बाँदरले उहाँलाई छोएको पनि छैन ।” उनका अनुसार गोकर्णलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै निधन भएको थियो । “अस्पताल लैजाने क्रममा गोकर्णको मृत्यु भएको थाहा पाएपछि उनलाई परिवारका सदस्यहरूले अस्पताल लैजानुको सट्टामा दाहसंस्कार गर्ने निर्णयसहित फिर्ता लिएर आउनु भएको रहेछ,” उनले भने ।

जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा इलाका प्रहरी कार्यालय पञ्चकन्या र छहरे प्रहरी चौकीबाट पनि प्रहरी प्रशासनले नेपालीको शवको प्रत्यक्ष अवलोकन गरेको पाइयो । “शव राम्रोसँग परीक्षण गरेर र परिवारका सदस्यहरूसँग छलफल गरेर बाँदरको आक्रमणको कारणले नभई स्वाभाविक मृत्युवरण भएको निष्कर्ष निकालेर प्रहरी टोली फर्किएको हो,” जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल केसीले भने ।

उनले टेकपाना तथ्य-जाँच टिमसँग भने, “जानकारी पाउने बित्तिकै मातहतको प्रहरी खटिएको थियो । प्रहरीलाई कुन काम आफ्नो हो भन्ने थाहा हुन्छ । यदि बाँदरले आक्रमण गरेको विषय हुन्थ्यो भने कानुनी विषय हुन्थ्यो । यसमा प्रहरी संलग्न हुनै पर्थ्यो । उहाँको प्राकृतिक तरिकाबाट नै मृत्यु भएको पुष्टि भएपछि हामीले छाडेका थियौँ ।” तर समाचारमा भने फरक कुरा आएको उनले बताए ।

“हामीले बुझेको र देखेको कुरा एउटा छ । समाचारमा अर्कै कुरा आएछ । एकदम झुटो समाचार सम्प्रेषण भएको छ । सुरुमा अन्नपूर्ण पोस्टले समाचार लेखेको भेटियो । समाचार छाप्नु पहिले प्रहरीसँग कोअर्डिनेसन गर्नुपर्नेमा हचुवाको भरमा लेखेको छ,” उनले भने । समाचारमा गलत तरिकाले घटनाको व्याख्या भएपछि घटनास्थलमा आफू नै पुगेको केसीले बताए ।

“सुरुमा घटनास्थलमै प्रहरी युनिटलाई परिचालन गरिएको थिएँ । शव लगिसकेको थियो । समाचारहरू आएपछि एकछिन पर्खिनु भनेर म आफैँ घाटमा पुगेँ । त्यसपछि प्राकृतिक मृत्यु भएको भनेर आफैँले हेरेर दाह संस्कार गर्न अनुमति दिएको हुँ,” उनले भने । उनले अगाडि भने, “बाँदरको आक्रमणमा परेको भए केही चोटपटक वा नीलडाम हुनुपर्ने हो । त्यस्तो केही थिएन । उहाँ लामो समयदेखि प्रेसर र सुगरको बिरामी हुनुहुँदो रहेछ । बाँदरलाई धपाउन ठुलो ठुलो स्वरले कराउँदा ढल्नुभएको विश्लेषण गरेका छौँ ।”

दाबी

बाँदरले मान्छे मार्‍यो ।

दाबीकर्ता 

अन्नपूर्ण पोस्ट, शिलापत्र, देशसञ्चार लगायतका अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य

पञ्चकन्या गाउँपालिका वडा नम्बर २ का ५८ वर्षीय गोकर्ण नेपाली बुधबार बिहान आफ्नै बारीमा पसेको बाँदरको हुल भगाउन गएका थिए । सो क्रममा उनी बाँदरको हुलबाट तर्सिएर बेहोस भएका थिए । उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गर्दै आएका नेपालीलाई बेहोसी अवस्थामा फेला परेपछि उपचारका लागि काठमाडौँ लैजाने क्रममा निधन भएको थियो । त्यसपछि आफन्तले उनलाई पुनः काठमाडौँबाट फिर्ता लगेर दाहसंस्कार गरे । प्रहरी र स्थानीयको प्रारम्भिक निष्कर्षअनुसार उनको मृत्यु बाँदरको आक्रमणले नभई स्वास्थ्य समस्या (प्राकृतिक कारण) ले भएको हो ।​

निष्कर्ष

नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ का ५८ वर्षीय गोकर्ण नेपालीको बुधबार निधन भएको छ । उनको मृत्युको विषयमा केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा बाँदरको आक्रमणले ज्यान गयो भन्ने भ्रामक दाबीसहित समाचार प्रकाशित भएका थिए । तर तथ्य-जाँचका क्रममा उक्त दाबी असत्य भएको पुष्टि भएको छ । नेपाली विगत दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेहका रोगी थिए । बुधबार बिहान आफ्नै बारीमा पसेको बाँदरको हुल भगाउने क्रममा उनी तर्सिएर बेहोस भएका थिए । बेहोसी अवस्थामा फेला परेपछि उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटैमा उनको मृत्यु भएको हो । तर, यसलाई गलत तरिकाले व्याख्या गर्दै बाँदरको आक्रमणका कारण मृत्यु भएको भन्दै भ्रम फैलाइएको हो । 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य-जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य-जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८२ १:२१