एआई फिचरले भरिपूर्ण गुगल पिक्सेल १० सिरिजका फोन सार्वजनिक, फोटो खिच्दा पोज-एक्सप्रेसन बताउने
भदौ ५, २०८२ १०:३४
काठमाडौँ । गुगलले पिक्सेल १० सिरिजका नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । बुधबार राति आयोजना भएको मेड बाई गुगल इभेन्ट मार्फत पिक्सेल १०, पिक्सेल १० प्रो, पिक्सेल १० प्रो एक्सएल र पिक्सेल १० प्रो फोल्ड गरी चार मोडेलमा नँया फोन ल्याइएका हुन् ।
गुगलले यस पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र हार्डवेयर सुधारहरूमा विशेष जोड दिइएको बताएको छ । जसले स्मार्टफोनको अनुभवलाई अझ स्मार्ट र उपयोगी बनाउने लक्ष्य राखेको छ ।
सुरुवाति मूल्यको कुरा गर्नु पर्दा पिक्सेल १० का लागि ७९९ अमेरिकी डलर, पिक्सेल १० प्रोको ९९९, पिक्सेल प्रो एक्सएलको १,१९९ र पिक्सेल १० प्रो फोल्डको १,७९९ अमेरिकी डलर रहेको छ ।
यी फोनहरूका लागि प्रि-अर्डर सुरु भइसकेको छ र २८ अगस्टदेखि गुगल स्टोर तथा अन्य रिटेलरहरू मार्फत बिक्रीका लागि उपलब्ध हुनेछन् ।
पिक्सेल १० सिरिजकाको सबैभन्दा महत्त्वपूर्ण हार्डवेयर अपग्रेडमध्ये एक हो पिक्सेलस्न्याप (Pixelsnap) जुन । म्यागसेफ (MagSafe) जस्तै चुम्बकीय वायरलेस चार्जिङ प्रणाली हो । यसले फोनलाई वायरलेस चार्जरमा सजिलैसँग जोड्न मद्दत गर्छ ।
पिक्सेल १०, १० प्रो र १० प्रो फोल्डमा १५ वाटसम्मको क्यूआई २ (Qi2) वायरलेस चार्जिङ सपोर्ट छ । पिक्सेल १० प्रो एक्सएलले भने २५ वाटसम्मको क्यूआई २.२ (Qi2.2) वायरलेस चार्जिङ सपोर्ट गर्छ । जुन हाल उपलब्ध सबैभन्दा फास्ट वायरलेस चार्जिङ हो ।
नयाँ पिक्सेल फोनहरूमा टेन्सर जी ५ (Tensor G5) चिप प्रयोग गरिएको छ । जुन गुगलका लागि टीएसएमसीले निर्माण गरेको पहिलो चिपसेट हो । यसले सीपीयू पर्फर्मेन्समा ३४% र एआई कार्यहरूमा ६०% सम्मको सुधार ल्याउने दाबी गरिएको छ । यो चिपले गुगलको नयाँ जेमनाई नानो मोडललाई सिधै फोनमा चलाउन सक्ने क्षमता राख्छ । जसले अन-डिभाइस जेनेरेटिभ एआई अनुभवहरूका लागि ढोका खोल्नेछ ।
यस्तै गुगलले यस पटक एआईलाई प्रयोगकर्ताको दैनिक जीवनमा अझ गहिरो रूपमा एकीकृत गरेको छ । म्याजिक क्यु (Magic Cue) नामक एआई फिचरले प्रयोगकर्तालाई आवश्यक पर्ने सान्दर्भिक जानकारीलाई प्रोएक्टिभ रूपमा देखाउँछ । उदाहरणका लागि यदि कसैले तपाईँलाई यात्राबाट कहिले फर्किँदै हुनुहुन्छ भनेर सोध्यो भने तपाईँको फोनले तपाईँको ईमेलबाट उडान विवरणहरू प्राप्त गरी सिधै तपाईँको अगाडि राख्न सक्छ ।
यसमा रहेको क्यामेरा कोच (Camera Coach) ले तपाईFलाई उत्कृष्ट फोटोहरू खिच्न मद्दत गर्छ । यो सुविधाले एआई प्रयोग गरी विषय र दृश्यको विश्लेषण गर्छ र प्रयोगकर्तालाई अन्तिम शट लिनका लागि सुझावहरू दिन्छ । जसमा एआई-सिर्जित एक्सप्रेसन र पोजहरू पनि समावेश छन् ।
प्रो रेस जुम (Pro Res Zoom) फिचर एआई १० प्रो र प्रो एक्सएलमा मात्र उपलब्ध गराइएको छ । यो सुविधाले १०० एक्ससम्मको हाइब्रिड जुम प्रदान गर्दछ । यसले एआई र एक नयाँ जेनेरेटिभ इमेजिङ मोडल प्रयोग गरी तस्बिरका सानोतिना विवरणहरूलाई समेत परिष्कृत गर्छ।
फोनहरूमा आस्क फोटोज (Ask Photos) को नाममा एक नयाँ च्याटबट पनि समावेश गरिएको छ । जसले प्रयोगकर्तालाई आवाज वा टेक्स्ट आदेश मार्फत फोटोहरू एडिट गर्ने अनुमति दिन्छ । उदाहरणका लागि तपाईँ च्याटबटलाई आदेश दिएकै भरमा फोटोबाट कुनै वस्तु हटाउन वा आकाशको रङ बदल्न सक्नु हुन्छ । यो सुविधा गुगल फोटोजमा पनि उपलब्ध हुनेछ ।
पिक्सेल फोनहरूमा भ्वाइस ट्रान्सलेट सुविधाले रियल टाइममा फोन कलहरूलाई लाइभ अनुवाद गर्ने लक्ष्य राखेको छ । जसले फरक भाषा बोल्ने व्यक्तिहरूसँग कुराकानी गर्न सहज बनाउँछ । यद्यपि, प्रारम्भिक परीक्षणमा यसमा केही त्रुटिहरू समेत देखिएका छन् ।
पिक्सेल १० सिरिजका फोनहरूमा समावेश क्यामेरामा पनि केही परिवर्तनहरू देख्न सकिन्छ । जसमा पिक्सेल १० मा अब तेस्रो रियर क्यामेराको रूपमा १० एमपी ५ एक्स टेलिफोटो लेन्स पनि समावेश गरिएको छ । यसबाहेक फोनमा ४८ एमपी मुख्य क्यामेरा र १३ एमपी अल्ट्रा-वाइड क्यामेरा छ । तर, मुख्य र अल्ट्रा-वाइड क्यामेराको रिजोलुसन पिक्सेल ९ भन्दा केही कम रहेको छ ।
पिक्सेल १० प्रो सिरिजमा ५० एमपीको मुख्य, ४८ एमपी अल्ट्रा-वाइड र ४८ एमपी ५ एक्स टेलिफोटो लेन्ससहित अघिल्लो जेनरेसनकै सेटअप लाई पुन: प्रयोग गरिएको छ ।
यद्यपि गुगलको पोर्ट्रेट मोडमा एज डिटेक्सनको समस्या अझै पनि कायम रहेको कुरा रिभ्युअर मिस्टर हुज द बोसले औँल्याएका छन् । ब्याट्री र डिस्प्लेको कुरा गर्नु पर्दा पिक्सेल १० सिरिजका सबै फोनहरूमा अघिल्लो जेनरेसनको तुलनामा ठुलो ब्याट्री राखिएको छ । जसको क्षमता लगभग ५,००० एमएएच वरिपरि । पिक्सेल १० प्रोमा ४,८७० एमएएच र पिक्सेल १० प्रो एक्सएलमा ५,२०० एमएएच ब्याट्री छ । डिस्प्लेलाई पनि अझ उज्यालो बनाइएको छ । जसको अधिकतम ब्राइटनेस ३,००० निट्ससम्म पुग्छ । त्यस्तै स्पिकरहरू पनि केही सुधारिएका छन् ।
गुगलले आफ्नो फोल्डेबल फोनको रूपमा रहेको पिक्सेल १० प्रो फोल्डमा निकै सुधार गरेको छ । यसमा नयाँ गियरलेस हिन्ज प्रयोग गरिएको छ, जसले बाहिरी डिस्प्लेको बेजेललाई अझ पातलो बनाएको छ ।
बाहिरी डिस्प्ले ६.४ इन्चको छ भने भित्री डिस्प्ले ८ इन्चको रहेको छ । यो पहिलो फोल्डेबल फोन हो, जसमा आईपी ६८ रेटिङ छ ।
सफ्टवेयरको कुरा गर्नुपर्दा पिक्सेल १० सिरिजका फोनहरूमा एन्ड्रोइड १६ र गुगलको नयाँ मटेरियल ३ एक्सप्रेसिभ यूआई समावेश छ । गुगलले यी फोनहरूमा ७ वर्षको ओएस, सेक्युरिटी र पिक्सेल ड्रप अपडेटहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ १०:३४
