टाट पल्टिएको नेटा ईभीको उत्पादन पुनः सुरु गर्ने तयारी गर्दै, कति छ कम्पनीले कमब्याक गर्ने सम्भावना ?
भदौ ५, २०८२ २१:४३
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी नेटा अटोले आफ्नो उत्पादन पुनः सुरु गर्ने तयारी गरिरहेको छ । जसले कम्पनीको पुनरुत्थानको सङ्केत दिएको छ । कम्पनी हाल टाट पल्टिएको अवस्थाबाट पुनः संरचनाको प्रक्रियामा अघि बढिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमहरूको रिपोर्ट अनुसार नेटाको झेजियाङ प्रान्तको टोङ्गसियाङमा रहेको कारखानामा कार्यरत कर्मचारीहरूले जुलाई महिनाको पुरा तलब भुक्तानी पाएका छन्, जसले उत्पादन पुनः सुरु हुने स्पष्ट सङ्केत दिएको छ ।
नेटा अटोले पछिल्ला वर्षहरूमा ठुलो सञ्चालन चुनौतीको सामना गरेको छ । यसअघि, नेटाका कर्मचारीहरूले न्यूनतम मासिक तलब मात्रै प्राप्त गरिरहेका थिए, जुन २००० युआन (करिब ३९ हजार रुपैयाँ) भन्दा केही बढी थियो । साथै कतिपय कर्मचारीले आफ्नो सामान्य मासिक तलबको ५० प्रतिशत मात्र पाइरहेका थिए ।
नोभेम्बर २०२४ देखि कर्मचारीहरूको तलब भुक्तानी रोकिएको थियो । कम्पनीले भारी मात्रामा कर्मचारी कटौती पनि गरेको थियो, जसले गर्दा जनशक्ति आधाले घटेको थियो । यसरी कर्मचारीहरूको सङ्ख्या ५००० बाट १००० भन्दा कममा झरेको थियो ।
कम्पनीमा आपूर्तिकर्ताको ६ अर्ब युआन (लगभग १ खर्ब १६ अर्ब रुपैयाँ) भन्दा बढी ऋण रहेको उल्लेख गरिएको छ । मार्च २०२५ को अदालतको रेकर्ड अनुसार सम्बद्ध कम्पनीका खाताहरूमा कूल ५०० युआनभन्दा कम नगद थियो, जसले नगद अभावको गम्भीरतालाई दर्साउँछ । नेटाको माउ कम्पनी होजोन अटोले सन् २०२१ देखि २०२३ सम्ममा कूल १८.३ अर्ब युआन (लगभग साढे ३ खर्ब रुपैयाँ) भन्दा बढी सञ्चित घाटा भोगेको छ ।
सन् २०२२ मा १ लाख ५२ हजार ७३ ईभी डेलिभरी गरे पनि २०२४ मा यो सङ्ख्या ६४ हजार ५४९ मा झरेको थियो । कम्पनीले अक्टोबर २०२४ देखि मासिक डेलिभरीको तथ्याङ्क सार्वजनिक गर्न पनि बन्द गरेको छ । ब्याट्री निर्माता सीएटीएल लगायतका मुख्य सप्लाएरहरूले भुक्तानी नपाएपछि आपूर्ति रोकेका कारण उत्पादन पनि ठप्प भएको थियो ।
यस बाहेक कम्पनीको स्वामित्वको संरचनाले पनि तनाव निम्त्याउने काम गर्यो । नेटाको अत्यधिक विभाजित शेयर संरचनाले महत्त्वपूर्ण निर्णयहरूमा सहमति जुटाउन गाह्रो बनायो । जसमा सबैभन्दा ठुलो सेयरधनीको स्वामित्व १३.१६% मात्र छ । शेयरधनीहरूबिचको तनावका कारण सन् २०२१ र २०२२ मा दुई पटक आईपीओको योजना स्थगित भयो ।
स्टेलान्टिस समूह जस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूसँगको सहकार्यका अवसरहरू पनि केही सेयरधनीहरूले इक्विटी र विदेशी बजारको बिक्री अधिकार छोड्न नचाहेकाले गुम्न पुगे । सन् २०२४ को अन्त्यमा झाङ योङले सीईओ पदबाट राजीनामा दिए र संस्थापक फाङ युनझौ पुनः कम्पनीको नेतृत्वमा आए । आन्तरिक द्वन्द्व र व्यवस्थापनमा लगातारको परिवर्तनले अनुसन्धान र विकासमा अक्षमता निम्त्यायो । जसले गर्दा ठुलो मात्रामा स्रोत र पैसाको बर्बादी भयो ।
सन् २०२२ मा सार्वजनिक गरिएको नेटा एस र २०२३ मा आएको नेटा जीटी स्पोर्ट्स कार जस्ता उच्च-स्तरीय मोडलहरूले अपेक्षित सफलता पाउन सकेनन् । सन् २०२३ मा नेटा एसको बिक्री २४,००० युनिट र नेटा जीटीको वर्षभरको बिक्री ९,००० युनिट मात्र रह्यो । कम्पनीको व्यवस्थापनले मध्यम आकारको एसयूभी बनाउने सेयरधनीहरूको सल्लाहलाई अस्वीकार गर्यो । जबकि यो रणनीति अन्य कम्पनीहरूका लागि सफल साबित भयो।
कम्पनीले सुरुमा राइड-हेलिङ र भाडामा लिने सवारी साधन जस्ता 'बी-साइड' (व्यवसाय-देखि-व्यवसाय) बजारमा ध्यान केन्द्रित गरेको थियो । यसले बजारमा राम्रो माग सिर्जना गर्न मद्दत गरे पनि सन् २०१८ मा शेयरिङ इकोनोमी (sharing economy) को पतनसँगै यो रणनीति असफल भयो । कम्पनीले सर्वसाधारणले किन्न सक्ने कार बनाउने मूल उद्देश्य बिर्सिएर प्रिमियम बजारमा जान खोज्दा प्रयोगकर्ता आधार गुमाएको संस्थापक फाङ युनझौले स्वीकारेका छन्।
नेटाले तोङक्सियाङ, यिचुन र नाननिङ गरी तीन स्थानमा चार कारखानामा ३ लाख युनिटभन्दा बढीको वार्षिक उत्पादन क्षमता विकास गर्यो । जबकि कम्पनीको सबैभन्दा बढी वार्षिक बिक्री लगभग १.५ लाख युनिट मात्र थियो । उत्पादन क्षमता एक्कासी बढाउने रणनीतिले अत्यधिक लागत निम्त्यायो । जस्तै यिचुनको कारखाना निर्माणमा ५ अर्ब युआन र थाइल्यान्डको कारखानालाई मात्र लगभग ११ करोड युआन लगानी भयो । यो मोडललाई 'विष पिएर तिर्खा मेट्ने' जस्तै भनिएको छ ।
कम्पनीको दोस्रो ठुलो सेयरधनी झाउ होङ्ई (३६० समूहका संस्थापक) ले कम्पनीको बजारीकरण र अनलाइन ट्राफिकमा ध्यान केन्द्रित गर्न ठुलो प्रयास गरे । उनले सीईओ झाङ योङसँगको विवाद सार्वजनिक गर्दै कम्पनीको कमजोरीहरूको आलोचना गरे ।
झाउ होङ्ईको प्रयासबाट नेटा एल कारले ३५ दिनमा ३० हजार भन्दा बढी अर्डर पायो । तर कम्पनीको उत्पादन क्षमता (विशेष गरी मिसेलिन टायरको अभाव) कम भएकाले डेलिभरीमा ढिलाइ भयो र ग्राहकले अर्डर क्यान्सिल गर्ने दर उच्च भयो । यसरी कम्पनी अत्यधिक ट्राफिकलाई ह्यान्डल गर्न पर्याप्त रूपमा सक्षम थिएन ।
नेटाको माउ कम्पनी होजोन अटोको स्थापना अक्टोबर २०१४ मा भएको थियो । जुन अहिले टाट पल्टिएपछिको पुनः संरचनाको महत्वपूर्ण चरणमा छ । टोङसियाङ कारखानाका कर्मचारीहरूले जुलाई महिनाको पुरा तलब पाएपछि उनीहरू हाल कारखानामा सरसफाइ, सामग्रीको व्यवस्थापन र उपकरणहरूको परीक्षणमा व्यस्त छन् । नेटाले आफ्नो बिक्री र सेवा सञ्जाललाई पुनर्जीवित गर्न चाहने स्टोरहरूसँग सम्पर्क गरिरहेको छ ।
अगस्टको मध्यसम्म ६६ लगानीकर्ताहरूले चासो देखाएका छन् । जसमध्ये ४७ ले उत्पादन पुनः सुरु गर्न वित्तीय सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । होजोन अटोले जुलाई १० मा अलिबाबाको सम्पत्ति कारोबार प्लेटफर्ममार्फत लगानीकर्ता भित्र्याउनका लागि प्रि-रजिस्ट्रेसन च्यानल खोलेको थियो ।
इच्छुक लगानीकर्ताहरूले २५ सेप्टेम्बरसम्ममा पाँच करोड युआन (लगभग ९७ करोड रुपैयाँ) डिपोजिट गर्नु पर्नेछ । २१ जुलाई २०२५ को आधिकारिक घोषणा अनुसार केही लगानीकर्ताहरूले प्रारम्भिक छनोट चरण पूरा गरिसकेका छन् र थप उच्च-गुणस्तरको रणनीतिक पूँजी भित्रिने अपेक्षा गरिएको छ ।
१२ जुन, २०२५ मा होजोन न्यु इनर्जी औपचारिक रूपमा पुनः संरचना प्रक्रियामा प्रवेश गरेको थियो । यद्यपि नेटाको अगाडि अझै पनि ठुला चुनौतीहरू छन् । ठुलो लगानीको अभाव, भारी ऋणको बोझ र बढ्दो प्रतिस्पर्धात्मक बजारमा उत्पादन विकास र सप्लाई चेनमा सुधारको गति बढाउनु आवश्यक छ । विगतका कर्मचारी र आपूर्तिकर्ताहरूको विश्वास पुनः प्राप्त गर्न समय लाग्नेछ । नेटाको भविष्य सफल पुनः संरचना, थप लगानी र सम्भावित नेतृत्व परिवर्तनमा निर्भर हुनेछ ।
चिनियाँ ईभी बजारमा देखिएको अत्यधिक क्षमता, प्राइस वार र उपभोक्ताहरूको स्थापित अन्तर्राष्ट्रिय ब्रान्ड प्रतिको प्राथमिकता जस्ता बजारका समस्याहरूले पनि नेटाको पुनरुत्थानमा थप चुनौती थप्नेछन् । सेक्युुरिटिज टाइम्सको रिपोर्ट अनुसार अगस्टको सुरुसम्ममा नेटा अटोको पुनर्गठनका लागि लगानीकर्तालाई खुला रूपमा आमन्त्रण गरिएको थियो । नेटा कारको भविष्य पुनर्गठन प्रयासहरूको सफलता र थप लगानी सुरक्षित गर्नमा निर्भर छ । धेरैले कम्पनीको 'अवशिष्ट मूल्य' (residual value) अझै पनि आकर्षक रहेको विश्वास गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ ५, २०८२ २३:५९
